२०८१ वैशाख २६, बुधबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशजुम्लामा एक हजार बढी जेष्ठ नागरिकले कोरोना विरुद्धको खोप लगाए

जुम्लामा एक हजार बढी जेष्ठ नागरिकले कोरोना विरुद्धको खोप लगाए


जुम्ला—२३ फागुनदेखि सुरु भएको दोस्रो चरणको कोरोना विरुद्धको खोप जुम्लाका तीन स्थानीय तहका एक हजार ६७ जनाले लगाएका छन् । गुठीचौर गाउँपालिका १३२ जना, तिलाका ५५६ जना र चन्दननाथ नगरपालिका ३७९ जना जेष्ठ नागरिकले कोरोना विरुद्धको खोप लगाएका हुन् ।

तिला गाउँपालिका स्वास्थ्य शाखा संयोजक गणेशबहादुर शाहीका अनुसार राँसा खोप केन्द्रको तथ्यांक संकलन गर्न बाँकी रहेको छ । उनले भने, ‘अहिले उपलब्ध तथ्यांकअनुसार ६५ वर्ष माथिका ५५६ जना जेष्ठ नागरिकलाई कोरोना विरुद्धको खोप लगाइएको छ ।’

त्यसैगरी गुठीचौर गाउँपालिका स्वास्थ्य संयोजक बालराम नेपालीले पालिकाभित्रका पाँच वडाका १३२ जना जेष्ठ नागरिकलाई कोरोना विरुद्धको खोप लगाइएको बताए । चन्दननाथ नगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक क्षेत्रबहादुर महतका अनुसार ३७९ जना जेष्ठ नागरिकलाई खोप लगाएको छ ।

तातोपानी गाउँपालिकामा २८ फागुनदेखि खोप सञ्चालन गर्ने तयारी गरिएको स्वास्थ्य संयोजक गुरुप्रसाद चौलागाईंले बताए ।

जिल्लाभर कोरोना विरुद्धको खोप अभियान सञ्चालन गर्दै आएको जनस्वास्थ्य कार्यालय जुम्लाका जनस्वास्थ्य निरीक्षक प्रेम सोमाईका अनुसार जिल्लाभरको तथ्यांक संकलनमा छौँ । उनले भने ६५ वर्षमाथिका जेष्ठ नागरिक र पहिलो चरणमा छुटेका स्वास्थ्यकर्मीलाई दोस्रो चरणको खोप २३ फागुनदेखि सञ्चालन गरिएको थियो ।

जुम्लामा ३ हजार २ सय जनालाई कोरोना विरुद्धको दोस्रो चरणको खोप लगाउने लक्ष्य रहेको छ । यहाँका एक नगरपालिकासहित ८ स्थानीय तहमा ६२ वटा खोप केन्द्र निर्धारण गरिएको थियो ।


क्याटेगोरी : कर्णाली प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ