२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारहस्पिटल वाचः वीरमा ६ काउन्टर ७ कर्मचारी, एक पटकमा तीन मात्र संचालनमा

हस्पिटल वाचः वीरमा ६ काउन्टर ७ कर्मचारी, एक पटकमा तीन मात्र संचालनमा


काठमाडौं–सधैंजसो भिडभाड हुने वीर अस्पतालमा मंगलबार भने निकै कम मानिस देखिए । तिजको भोलिपल्ट भएकाले तुलनात्मक रुपमा अन्य दिनमा भन्दा कम मानिस देखिए पनि अस्पतालमा ओपिडि सेवाको टिकट काट्न समस्या भने उस्तैै छ । अस्पतालमा टिकट काट्न ६ वटा काउन्टरको व्यवस्था गरिएको छ, जसमध्ये एउटाबाट अस्पतालका स्टाफ तथा अर्को एकबाट ७० वर्षमाथिका वृद्धवृद्धा, अपांग र दृष्टिविहिनहरुका लागि काटिन्छ ।

अस्पतालका कर्मचारीका लागि व्यवस्था गरिएको काउन्टर बन्द प्रायः देखिन्छ भने वृद्धवृद्धाका लागि छुट्याइएको काउन्टरमा कुनै चाप देखिइंदैन । अस्पतालको मेडिकल रेकर्ड शाखाका अनुसार सो दिन १ हजार २ सय २२ जनाले ओपिडीको टिकट लिएका छन् । टोकन मेसिनको रेकर्ड हेर्दा १ हजार २ सय ७७ जनाले टोकन लिएका छन् । ५५ जना विरामीले टोकन लिएर पनि टिकट नकाटि फर्किएको देखिन्छ ।

एउटा टोकनबाट एउटा मात्र टिकट काट्न पाइने भए पनि केहि व्यबहारिक समस्याका कारण एक भन्दा बढि टिकट लिने पनि हुन्छन् । त्यहाँ ३ वटासम्म टिकट लिनेहरु समेत भेटिएकाले पनि टिकट नकाटि फर्कनेको संख्या अझ धेरै भएको प्रष्ट हुन्छ ।
अस्पतालमा दैनिक औषत २ हजारसम्म टिकट वितरण भएको मेडिकल रेकर्ड शाखाको तथ्यांक छ । तर टिकट काउन्टर बारम्बार बन्द हुँदा सेवाग्राही टिकट नै नकाटि फर्कन बाध्य छन् ।

कर्मचारी र अशक्तबाहेकका लागि ४ वटा काउन्टरको व्यवस्था भए पनि कर्मचारीले सबै काउन्टरबाट सेवा दिँदैनन् । एउटा काउन्टर प्रायः बन्द नै देखिन्छ । बन्द रहेको काउन्टर चालु भएसँगै पालो पर्खिएर बसेजस्तो अर्को काउन्टर बन्द भईहाल्छ । साढे १२ देखि साढे १ सम्म खाजा खानका लागि बन्द हुने काउन्टर विहान ८ बजे देखि दिउँसो ३ बजेसम्म खुल्छ ।
बिहान साढे १० बजे बन्द देखिएको ५ नम्बर काउन्टर ११ बजेबाट सुचारु हुन्छ र आधा घण्टापछि पुनः अर्को आधा घण्टा बन्द भएर मात्र सुरु हुन्छ ।

३ नम्बर काउन्टर पौने ११ देखि झण्डै १२ बजेसम्म बन्द हुन्छ । १५ मिनेट चलेपछि पुनः केहि समयका लागि बन्द हुन्छ । खाजा खाने समयमा बन्द भएपछि यो काउन्टर फेरि खुल्दैन । ४ नम्बर काउन्टर पनि खाजा खाने समय सकिएको झण्डै ४० मिनेट पछि मात्र खुल्छ ।
अस्पतालका निर्देशक केदार प्रसाद सेञ्चुरीका अनुसार सेवा प्रवाहमा समस्या नहोस् भनेर नै ६ वटा काउन्टरमा ७ जना कर्मचारी खटाइएको छ । ‘एक जनालाई ट्वेलेट जाने जस्ता समस्या पर्दा काउन्टर खाली नहोस् भनेर नै ७ जना कर्मचारी खटाएका छौं,’ नर्देशक सेञ्चुरीले भने । ‘यसबारेमा मैले जानकारी पाइसकेको छैन । म छिट्टै बुझ्छु ।’

मंगलबार ३ बजे ओपिडि टिकट काउन्टर बन्द हुँदा ४ बजेको आसपासमा अस्पताल शुन्य जस्तै देखिन्थ्यो । केहि बाहेक अधिकांश विभागमा ४÷५ जना सेवाग्राहि मात्र थिए । बारम्बार काउन्टर बन्द गर्नाले एकातिर सेवाग्राहि त्यसै फर्किरहेका छन् भने अर्कोतिर काउन्टर बन्द भएको केहि समयमा नै अस्पताल खालि देखिन्छ । दैनिक २ हजार सम्मले सेवा लिने सोहि काउन्टर विभिन्न बहानामा बन्द हुँदा सेवाग्रहिले दुख पाईरहेका छन् ।

अन्यौलमा सेवाग्राहि
महाराजगंज बस्ने राजेन्द्र शाही बहिनीको उपचारका लागि कार्यालय बिदा लिएर मंगलबार वीर अस्पताल पुगे । उपचारकै लागि उनकी बहिनी जाजरकोटदेखि काठमाडौंसम्म आइपुगिन् । पत्थरीको अप्रेसनका लागि उनलाई चौरजहारी अस्पताल रुकुमले वीर अस्पताल रिफर गरेको कार्ड शाहीको हातमा छ । झण्डै दुई घण्टा लाईन बसेपछि बल्ल शाहीको टिकट काट्ने पालो आयो । टिकट लिने बेलामा मात्र उनले थाहा पाए पत्थरीको उपचारको टिकट त आईतबार र शुक्रबार मात्र काटिन्छ ।

‘स्वास्थ्य बिमाको कार्ड लिएर सामाजिक सुरक्षा इकाइमा जाँदा टिकट काट्न लगाए’, शाही दुःखेसो पोख्छन, ‘पहिले नै आज हुँदैन भनिदिएको भए यति धेरै दुख त पाउँदैन थियौं ।’ स्पष्ट जानकारी नहुँदा उनले अनावश्यक झन्झट भोग्नुप¥यो । न उनलाई सामाजिक सुरक्षा इकाइबाट यसको जानकारी दिइयो न सोधपुछ शाखामा बुझ्न सकिन्छ भन्ने नै उनलाई थाहा भयो । अस्पतालको टिकट काउन्टरको सेवा प्रवाह छिटो छरितो हुन्थ्यो भने उनी जस्ता धेरै सेवाग्राहीले अनावश्यक दुख पाउन पर्दैन थियो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ