२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १संक्रमितको मृत्युपछि कोभिड अस्पतालमा मन्त्रीको अनुगमन

संक्रमितको मृत्युपछि कोभिड अस्पतालमा मन्त्रीको अनुगमन

उपचारमा कुनै कमी हुन नदिन निर्देशन


विराटनगर—विराटनगरस्थित कोशी अस्पतालको कोभिड उपचार केन्द्रमा एक कोरोना संक्रमित पुरूषको उपचारको क्रमममा मृत्यु भएको छ । झापाको दमक नगरपालिका ८ का ९२ वर्षीय वृद्धाको आइतबार राति उपचारको क्रममा मृत्यु भएको हो ।

कोशीको कोभिड अस्पतामा मृत्यु भएका संक्रमितलाई २५ चैतमा विराटनगरस्थित नोबेल मेडिकल कलेजले रिफर गरेको थियो । सुगर र श्वासप्रश्वासमा समस्या भएका ती संक्रमितको उपचारको क्रममा मृत्यु भएको कोशी अस्पतालका सुपरिटेण्डेन्ट डा. चुमनलाल दासले जानकारी दिए ।

उनका अनुसार कोभिड अस्पतालमा अहिले दुई जना संक्रमित भर्ना भएका छन् । उनीहरूको स्वास्थ्यकर्मीको निगरानीमा उपचार भइरहेको दासले जानकारी दिए । दोस्रो चरणको संक्रमण फैलिएसँगै प्रदेश १ मा कोरोनाका कारण मृत्यु हुने यी दोस्रो संक्रमित हुन् । यसअघि झापाकै एक महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको थियो ।

संक्रमितको मृत्युपछि मन्त्रीको अनुगमन

कोरोना संक्रमणबाट दमकका एकजना पुरूषको मृत्यु भएपछि प्रदेश १ सामाजिक विकास मन्त्री उषाकला राईले सोमबार कोभिड अस्पताल निरिक्षण गरेकी छिन् । उनले कोशी अस्पतालको कोभिड उपचार केन्द्र निरीक्षण गर्दै बिरामीको उपचारमा कुनै कमी हुन नदिन निर्देशन दिइन् ।

मन्त्री राईले प्रदेशमा कोरोना संक्रमण बढ्दै गएपछि कोशी अस्पताल कोभिड—१९ उपचार केन्द्रलाई तयारी अवस्थामा राखिएको बताइन् । उनले तत्कालका लागि १८० वेड तयारी अवस्थामा रहेको जानकारी दिइन् । आवश्यकताअनुसार जिल्लास्तरमा पनि कोभिड अस्पताल तयारी राख्न मन्त्रीले राईले निर्देशन दिइन् ।

सीमा नाकामा आवश्यक सर्तकता अपनाउनका लागि निर्देशन दिइएको समेत उनले बताइन् । ‘कोभिडका बिरामीका लागि उपचारको प्रबन्ध मिलाइएको छ,’ मन्त्री राईले भनिन्, ‘उपचारमा कुनै कमी हुनु भएन् । कतैबाट गुनासो आउनु भएन ।’

सामाजिक विकास मन्त्रालयका सचिव गोविन्द कार्कीले संक्रमणको दर बढेको बताए । चैत २० पछिको १० दिनको अवधिको संक्रमण दर बढेको उनले जानकारी दिए । ‘देशव्यापीमा वृद्धि भएको दरकै अनुपातमा संक्रमण बढेको छ,’ उनले भने ।

कोरोनाको पुनरावृत्ति भएको देखिएको उनले बताए । संक्रमण दर बढेसँगै अस्पताल, आइसोलेसन केन्द्रहरुलाई तयारी अवस्थामा राखिएको मन्त्रालयका सचिव कार्कीले बताए । आवश्यकताअनुसार आइसोलेसन कोभिडको व्यवस्थापनका लागि चाँडै प्रदेशस्तरीय सीसीएमसीको बैठक तयारी भइरहेको उनले जानकारी दिए ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ