२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसस्तोमा औषधि किन्न पाइने सरकारी फार्मेसी, वार्षिक १४ करोड नाफा

सस्तोमा औषधि किन्न पाइने सरकारी फार्मेसी, वार्षिक १४ करोड नाफा


काठमाडौं—नेपालमा औषधि निकै महँगो भएको भन्दै सेवाग्राहीले असन्तुष्टि पोखिरहेका हुन्छन् । निजी फार्मेसीहरुमा मात्र नभई सरकारी अस्पतालका फार्मेसीहरुले समेत चर्को मुल्य असुल्छन् भन्ने आम मानिसको धारणा छ । तर, महाराजगञ्जस्थित मनमोहन कार्डियोथेरासिक भस्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरले आम मानिसको यो धारणालाई गलत सावित गरिदिएको छ ।

अस्पताल फार्मेसीले वर्षौं अघिदेखि अधिकतम खुद्रा मुल्य (एमआरपी)भन्दा सस्तोमा औषधि बेचिरहेको छ । यहाँको फार्मेसीमा प्रेस्क्रिप्सन देखाएपछि बिरामीले छुट मागिरहनै पर्दैन । फार्मेसी कर्मचारी आफैंले छुट गरिदिन्छन् । अस्पताल फार्मेसीले स्थापनाकालदेखि नै निकै सस्तोमा औषधि बेचिरहेको छ ।

स्थापनाकालको सुरुमा अस्पतालले खरिद् मुल्यमा १४ प्रतिशत मात्र रकम थप गरेर बेच्ने गरेको फार्मेसी प्रमुख देवलाल श्रेष्ठले जानकारी दिए । ‘धेरै सस्तोमा बेच्दा पनि मानिसहरुले औषधि राम्रो छैन कि भन्ने शंका गर्न थालेपछि अंकित मुल्यमा १५ प्रतिशत छुट दिने निर्णय भएको थियो,’ उनले भने । सस्तोमा पाइरहेको औषधिको मुल्य बढेर पुनः गुनासो आउन थालेपछि अस्पतालले विशेष योजना अनुसार छुट दिदैं आएको उनले बताए ।

अस्पतालले औषधिको एमआरपीबाट खरिद् मुल्य घटाएर बाँकी रहने रकमको ५० प्रतिशत छुट दिदैं आएको छ । यो विशेष सुविधा अधिकतम खुद्रा मुल्य लेखिएका मुटु सम्बन्धि औषधिको हकमा मात्र लागु हुन्छ ।

टेन्डर प्रक्रियाअनुसार कम्पनीबाट औषधि किन्दा लाग्ने दस्तुर खरिद् मुल्य हो भने त्यसलाई बेच्न पाइने अधिकतम मुल्य एमआरपी हो । अधिकतम खुद्रा मुल्य (एमआरपी)सम्ममा औषधि बेच्न पाइने भएपनि त्यो भन्दा बढी रकम लिन पाइँदैन । अस्पतालले भने त्यो एमआरपीभन्दा सस्तोमा बिक्री गरिरहेको छ ।

एमआरपी नलेखिएका (सर्जिकल आइटम)हरुमा भने खरिद मुल्यमा १५ प्रतिशत मात्र थप गरेर बिक्री भइरहेको छ । यसको मुल्य पनि एमआरपीभन्दा कम नै पर्न आउँछ ।

मर्निङवाकमा आउने र अस्पतालबाट औषधि किनेर लैजानेहरु पनि धेरै भएको फार्मेसीका कर्मचारीहरु बताउँछन् । अस्पतालले प्रेस्क्रिप्सन लिएर आएमा अस्पताल बाहिरबाट आउनेलाई पनि सोही मुल्यमा औषधि बेच्दैं आएको छ ।

अस्पताल फार्मेसीमा स्वदेशी र विदेशी गरी हाल २ सयभन्दा धेरै प्रकारका औषधिहरु उपलब्ध छन् । एमआरपीभन्दा कम मुल्यमा बेचेर पनि अस्पतालको दैनिक खुद फाइदा २ लाखको हाराहारीमा छ । निर्देशक श्रेष्ठका अनुसार फार्मेसीको गत वर्षको खुद फाइदा मात्र १४ करोडभन्दा बढी छ ।

अस्पतालको ब्यवस्थापकीय पाटो बलियो भएकाले सस्तोमा औषधि बेच्न सम्भव भएको अस्पतालका प्रशाशकीय प्रमुख कुन्दनराज सत्यालले बताए । ‘हामीहरुको टिम राम्रो छ । सबैले इमान्दार भएर काम गर्छन्,’ सत्यालले भने । ‘यहाँ राजनीति छैन, भनसुन छैन र नातावाद छैन ।’ औषधि सस्तोमा पाइने हुँदा खरिदकर्ताको संख्या बढिरहेकाले पनि सस्तोमा बेच्दा समेत अस्पतालको खुद नघटेको हो ।

औषधिको मुल्यमा हुने छुटको विषयमा बाहिर भ्रम सिर्जना भएको निर्देशकको भनाइ छ । ‘हामीले खरिद मुल्य र एमआरपीबीचको फरकको ५० प्रतिशत छुट दिने गरेका हौं । तर बाहिर एमआरपीको ५० प्रतिशत छुट भनेर प्रचार भइरहेको छ,’ निर्देशक श्रेष्ठले प्रष्ट पारे ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ