काठमाडौं–स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ अवधिभर ‘एक चिकित्सक, एक स्वास्थ्य संस्था’ लागु गर्ने भएको छ । मंगलबार मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिष्टम (आईसीएस)को बैठकले यस्तो निर्णय गरेको हो ।
मन्त्रालयका सचिव लक्ष्मण अर्यालले कोभिड–१९ अवधिभर ‘एक चिकित्सक, एक स्वास्थ्य संस्था’ लागु गर्ने निर्णय भएको छ । ‘आजको आईसीएस बैठकले कोभिड अवधिभर ‘एक चिकित्सक, एक स्वास्थ्य संस्था’ लागु गर्ने निर्णय गरेको छ,’ उनले भने, ‘यसले कोभिडको उपचार, नियन्त्रण र रोकथाममा सहयोग पुग्नेछ ।’
यससँगै अब एक चिकित्सकले एक स्वास्थ्य संस्था वा अस्पतालमा मात्रै काम गर्ने पाइनेछ ।
कोभिड–१९ को दोस्रो लहर तीव्र रुपमा फैलिएसँगै मन्त्रालयले यस्तो निर्णय गरेको हो । अहिले कोभिड–१९ का संक्रमितहरुको उपचारमा चिकित्सक सबै ठाउँमा नभएका कारण पनि समस्या हुने गरेको छ । मन्त्रालयको यो निर्णयले उक्त समस्या हल हुनेछ ।
यसअघि मन्त्रालयको ‘एक चिकित्सक, एक स्वास्थ्य संस्था’ को कार्यविधि नै तयार पारेर दीर्घकालीन रुपमा यो व्यवस्था लागु गर्ने तयारी गरेको थियो । तर, नेपालको स्वास्थ्य क्षेत्रमा माइलस्टोन हुने ठानिएको उक्त कार्यविधी लागु गर्नका लागि अर्थ मन्त्रालयले स्वीकृत नदिएपछि त्यसै रोकिएको थियो ।
यो पनि पढ्नुस