२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारऔषधी व्यवसायी संघका महासचिवको अवैध धन्दा, लागूऔषध प्रयोगकर्तालाई औषधी बेच्दा पक्राउ

औषधी व्यवसायी संघका महासचिवको अवैध धन्दा, लागूऔषध प्रयोगकर्तालाई औषधी बेच्दा पक्राउ


विराटनगर – नेपाल औषधी व्यवसायी संघ उदयपुरका महासचिव विरेन्द्र कुमार झाले होलसेल औषधी पसल खोलेर औषधीको अनुचित प्रयोग गरि लागूऔषध प्रयोगकतालाई औषधी विक्री-वितरण गर्ने गरेको पाइएको छ ।

उदयपुरको चौदण्डीगढी नगरपालिका – ७ मा गोपिकृष्ण मेकिडल हल औषधीको होलसेल पसल खोलेर झाले लागूऔषध प्रयोगकर्तालाई अनुचित रूपमा औषधी विक्री-वितरण गर्ने गरेको पाइएको हो ।

संघका महासचिव रहेका झाले प्रिगाभालिन, ट्रामाडोल र डाइसाइक्लोमाइन नामको औषधी लागूऔषध प्रयोगकर्तालाई विक्री-वितरण गर्ने गरेको फेला परेको औषधी व्यवस्था विभाग विराटनगरका निमित्त कार्यालय प्रमुख सन्जिव शर्मा कट्टेलले जानकारी दिए । यी तीनवटा औषधी मिलाएर लागूऔषधको रूपमा सेवन गर्दछन् । क्यान्सरको समस्या भएकालाई दुखाई कम गर्न प्रयोग गरिने ट्रामाडोलले अरु औषधिसँग मिसाएर सेवन गर्दा लागुऔषधको काम गर्ने उनको भनाइ छ । त्यही भएर अवैध रुपमा भित्रिने यसको कारोबार पछिल्लो समय फस्टाएर गइरहेको छ ।

प्रिगाभालिन नशा च्यापिएका बिरामीले प्रयोग गर्दछन् ।  यस्तै, ट्रामाडोल क्यान्सरका बिरामीले दुखाइ कम गर्न र डाइसाइक्लोमाइन औषधी दुखाइ कम गर्न बिरामीले सेवन गर्ने गरेको विभागले जनाएको छ । तर, कमाउ धन्दामा लागेका संघका महासचिव  झाले महंगो मूल्य दुव्र्येसनीलाई दिने गरेको भेटिएको विभागका प्रमुख शर्माले जानकारी दिए ।

झाको पसलदेखि औषधी खरिद गर्ने लागूऔषध दुव्र्येसनीलाई पनि विभागले बिहीबार पक्राउ गरेको छ । विभागले उदयपुरको बेलका नगरपालिकाको १८ वर्षीय पर्शुराम दर्जीलाई पक्राउ गरेको हो । पक्राउ परेका दर्जी लागूऔषध प्रयोगकर्ता हुन् । दर्जी पक्राउ परेपछि संघका महासचिब झाले औषधीको अनुचित प्रयोग गर्ने गरेको खुलेको हो ।

लागूऔषध प्रयोगकर्तालाई औषधीको अनुचित प्रयोग गर्दै विक्री गर्ने झाको पसल अर्को निर्णय नभएसम्मको लागि शिलबन्दी र उनलाई औषधी व्यवस्था विभागले औषधी ऐन २०३५ अनुसार कारवाहीको दायरमा ल्याउने निमित्त कार्यालय प्रमुख कट्टेलले जानकारी दिए ।

महासचिव झाले १५ देखि ३० वर्ष उमेर समूहका युवाहरूलाई महंगो मूल्य लिएर औषधी विक्री-वितरण गरेको विभागले जनाएको छ ।

यसअघि पनि लागूऔषध प्रयोगकर्तालाई झाले औषधीको अनुचित प्रयोग गर्दै विक्री-वितरण गर्ने गरेको भेटिएको थियो । विभागले यसअघि पनि झाको पसललाई निलम्बन गरि कारवाही गरेको थियो ।

१८ वटा पसलमा अनुगमन, ६ वटा फार्मेसी सिलबन्दी

औषधी व्यवस्था विभाग विराटनगरले दर्ता बेगारको ६ वटा औषधी पसल शिलबन्दी गरेको छ । उदयपुर, सुनसरी र सप्तरीको १८ वटा पसल बिहीबार अनुगमन गरेको मध्ये ६ वटा फार्मेशी सिलबन्दी गरेको हो । सिलबन्दी गरिएको विभागमा दर्ता बगेरा संचालन गरेको, ठाउँ सारी नगरिएको र व्यवसायी नभएको पसल विभागले शिलन्दी गरेको छ ।

विभागले उदयपुरको बेलका नगरपालिका – ४ मा रहेको संजिवनी मेडिकल हल, सोही ठाउँमा रहेको सरिता उपचार केन्द्र, उदयपुरको रामपुरमा रहेको बरहाक्षेत्र फार्मेसी, सोही ठाउँको सामुदायिक अस्पताल परिसर भित्र नाम नखुलेको फार्मेसी, सप्तरीको फतेपुर नगरपालिकाको अनकुल औषधी पसल सिलबन्दी  गरेको नेपाल औषधी व्यवस्था विभाग विराटनगरका निमित्त कार्यालय प्रमुख सन्जिव शर्मा कट्टेलले जानकारी दिए ।

संजिवनी मेडिकल हल औषधी व्यवस्था विभागमा दर्ता भए पनि व्यवसायी नभएको प्रमाण पत्र नभएका कारणले सिलबन्दी गरि विभागमा उपस्थित हुन निर्देशन गरेको छ ।

यसैगरि बेलका ४ मा रहेको उपेन्द्र यादवले संचालन गरेको बिना दर्ताको फार्मेशी सिलबन्दी गरेको छ । यस्तै, बरहाक्षेत्र फार्मेशीले विभागले सुनसरीमा अनुमति लिएर ठाउँ सारी नगरी उदयपुरमा औषधी पसल संचालन गरेको भेटिएको कारणले बन्द गरिएको विभागले जनाएको छ ।

यस्तै, रामपुर सामुदायिक अस्पताल परिसरभित्र नाम नखुलेको फार्मेसीमा विभागमा दर्ता नभएको र कक्षा ११ पढदै गरेको व्यक्तिले औषधी विक्री-वितरण गरेको भेटिएको थियो । सप्तरीको फतेपुर नगरपालिको अनकुल औषधी पसलमा व्यवसायी नभएको कारणले विभागले शिलबन्दी गरेको जनाएको छ । उक्त पसलमा विभागबाट एल्लोपेथी औषधी बिक्री वितरण गर्ने अनुमित लिएको छ ।

तर, धेरै परिमाणमा आर्युवेद औषधी संचय गरेको भेटिएको थियो । अनुगमनको क्रममा विभागले यस पसलदेखि विना दर्ताकोसेनिटाइजर र ठूलो परिमाणमा खाद्य पुरक सामग्री पनि विक्री-वितरण गरेको भेटिएको कट्टेलले जानकारी दिए ।

सिलबन्दी गरिएको पसललाई विभागले एक हप्ताभित्रमा सम्पूर्ण कागजपत्र लिएर उपस्थित हुन निर्देशन पनि दिएको छ । पछिल्लो समय दर्ता बेगारको फार्मेशीसी खोलेर औषधीको अनुचित रूपमा प्रयोग र कालोबजारी हुने गरेको पाइएपछि विभागले अनुगमनलाई तीव्रता दिएको कट्टेलले जानकारी दिए ।

नेपाल औषधी व्यवसायी संघ उदयपुरका महासचिब विरेन्द्र कुमार झा । उनले लागूऔषध प्रयोगकर्तालाई अनुचित रुपमा औषधी विक्री- वितरण गरेको आरोपमा पक्राउ परेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ