२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशपोखरा महानगरको स्वास्थ्यमा २१ करोड बजेट : अनुमति नभएको भन्दैं छुट्याइएन खोप किन्ने बजेट

पोखरा महानगरको स्वास्थ्यमा २१ करोड बजेट : अनुमति नभएको भन्दैं छुट्याइएन खोप किन्ने बजेट

अन्नपूर्ण गाउँपालिकाले भ्याक्सिन किन्न ५० लाख बजेट छुट्टयायो


पोखरा—कास्की जिल्लामा एक महानगरपालिका र ४ वटा गाउँपालिका छन् । सबै पालिकाले आर्थिक वर्ष २०७८/०७९ को बजेट सार्वजनिक गरिसकेका छन् । पोखरा महानगरले कोभिड–१९ रोकथाम तथा संक्रमितको उपचारलाई बजेटको प्राथमिकता राखेको छ ।

तर, नेपाल सरकारले हालसम्म कोभिड–१९ विरुद्धको खोप खरिदको लागि स्थानीय तहलाई अनुमति प्रदान नगरेको कारणले बजेट प्रस्ताव नगरिएको उल्लेख गरेको छ ।

महानगरले जिम्मेवारी प्राप्त भएमा कम्तीमा ५० हजार खोप खरिदको प्रबन्ध गर्न सक्ने गरी तयारी गरिएको जनाएको छ । महानगरले खोप उपलब्ध गराउने विषयमा भगिनी सम्बन्ध भएका नगरहरुका नगर प्रमुखसँग अनुरोध गरेको छ ।

कोभिड–१९ नियन्त्रणको लागि नेपाल सरकारले स्थानीय तहले सम्पादन गर्ने भनी तोकेका र हाल सञ्चालनमा रहेको आइसोलेसन, पिसिआर नमूना संकलन, कोभिड अस्पतालको स्तरोन्नतीका लागि ३ करोड विनियोजन गरेको छ ।

शिशुवा अस्पतालको कोभिड वार्ड सञ्चालन तथा शिशुवा अस्पताल सञ्चालनसमेतका लागि साढे ३ करोड विनियोजन गरेको छ । साविकको लेखनाथ नगरपालिकाको परिसरमा शिशुवा अस्पताल स्थानान्तरणका लागि एउटा प्रशासनिक भवन निर्माणका डिपिआर तयार गर्न बजेट प्रस्ताव गरिएको छ । उक्त अस्पताल भवन लायन्स क्लबलगायतको सहयोगमा निर्माण गरिने उल्लेख छ ।

महानगर स्वयंले सञ्चालन गरेका वा आवश्यकताअनुसार अन्य निकायले सञ्चालन गरेका एम्बुलेन्स सेवालाई एकीकृत र समन्वयात्मक रुपमा परिचालन गर्न पोखरा–१२ को वडा कार्यालय परिसरमा एम्बुलेन्स स्टेसन बनाउन १ करोड विनियोजन गरिएको छ । उक्त स्थानबाट ३ अंकको टेलिफोनमार्फत एम्बुलेन्स सेवा उपलब्ध गराउने महानगरपालिका नीति छ ।

महानगरले नेपाल सरकारले निःशुल्क उपलब्ध गराउने भनी प्रतिबद्धता गरिएका औषधीहरु र अत्यावश्यक औजारहरु खरिद गर्न ६० लाख विनियोजन गरेको छ । चालु आर्थिक वर्षमा ४ वटा स्वास्थ्य संस्था थपिएकोमा सञ्चालनमा रहेका संस्थाका स्वास्थ्यकर्मीहरुको पारिश्रमिक, स्वास्थकर्मीलाई जोखिम भत्तालगायतका आवश्यक बजेट विनियोजन गरिएको उल्लेख छ ।

आयुर्वेद तथा वैकल्पिक उपचार पद्धतिको विकास र प्रवद्र्धन गर्न ४० लाख, पोखरा–२३ चापाकोटमा स्वास्थ्य चौकीको भवन निर्माणका लागि १ करोड विनियोजन गरिएको छ । पाखेरा–२८ को कालिका स्वास्थ्य चौकीको तला थप गरिने योजना छ ।

नसर्ने रोगको निदानात्मक सेवालाई स्वास्थ्य संस्थामार्फत् विस्तार गर्न ४० लाख, गर्भवती महिला तथा बालबालिकाहरुको पोषण प्रवद्र्धन गर्ने कार्यक्रम सञ्चालनका लागि २० लाख विनियोजन गरेको छ ।

महिला स्वास्थ्य स्वयंसेविकालाई संघीय सरकारले तोकेको सुविधा उपलब्ध गराउने भन्दै ७० लाख बजेट विनियोजन गरेको छ ।

सहरी क्षेत्रमा सञ्चालनमा रहेका नगर स्वास्थ्य केन्द्रको सञ्चालन खर्च महानगरपालिकाले नै व्यहोर्नुपर्ने भएकाले एकमुष्ट ५ करोड ३० लाख विनियोजन गरिएको छ । स्वास्थ्य संस्थाको भवन मर्मतका लागि. ५० लाख र समग्र स्वास्थ्य क्षेत्रको विकासको लागि २१ करोड ५० लाख विनियोजन गरेको उल्लेख छ ।

अन्नपूर्णमा भ्याक्सिन खरिदका लागि ५० लाख बजेट

कास्कीको अन्नपूर्ण गाउँपालिकाले जनतालाई स्वास्थ्य सुरक्षाको प्रत्याभूति दिलाउने, नागरिकको सुरक्षाको निम्ति कोभिड–१९ विरुद्धको खोप लगाउने व्यवस्था मिलाउने मुख्य उद्देश्यसहित बजेट अभाव हुने नदिने गरी बजेटको व्यवस्था गरेको जनाएको छ ।

कोभिड–१९ विरुद्धको खोप खरिदका लागि ५० लाख विनियोजन गरिएको छ । पालिकावासीलाई स्वास्थ्य सेवाको पहुँच सुनिश्चित गर्न, स्वास्थ्य संस्थाबाट प्रदान गरिने सेवा थप प्रभावकारी बनाउन, जनस्वास्थ्यका विभिन्न कार्यक्रम सञ्चालन गर्ने गरी २ करोड ९९ लाख विनियोजन बजेट छुट्याइएको छ ।

आयुर्वेद सेवाको अभिवृद्धि गरी रोग प्रतिरोधात्मक क्षमताको विकास गर्न, आयुर्वेद उपचार पद्धति, ध्यान शिक्षा तथा योग अभ्यासलाई कार्यान्वयन गर्न ३५ लाख बजेट विनियोजन गरिएको छ ।

अन्नपूर्णले १९ करोड लागत अनुमानको आयोजना पालिकास्तरको १५ शैय्याको अस्पताल निर्माण कार्य अघि बढाएकोमा आगामी आर्थिक वर्षमा सम्पन्न गर्ने उल्लेख छ ।

मादीमा स्वास्थ्य पूर्वाधारका लागि ३६ लाख ५० हजार बजेट

मादी गाउँपालिकाले कोभिड १९ को महामारी नियन्त्रण तथा व्यवस्थापन गरी कोभिड–१९ का कारण रोजगारी गुमाएका पालिकावासीलाई रोजगारीको अवसर सिर्जना गर्ने प्राथमिकता निर्धारण गरेको छ ।

महिला स्वास्थ्य स्वयंसेविका प्रोत्साहनका लागि थप बजेटको व्यवस्था गरेको छ । महिला उत्थान, जनचेतना विकास, आयआर्जन, बालबालिकाको हक हित संरक्षण, अपांगता भएका व्यक्तिको स्याहारसुसारका प्रोत्साहन भत्ता, सुत्केरी भेटघाट कार्यक्रमलाई उपाध्यक्षसँग महिला कार्यक्रमसँग आबद्ध गरी खर्च गर्ने व्यवस्था मिलाइएको बजेटमा उल्लेख छ । यस्तै, स्वास्थ्य पूर्वाधार निर्माण सुधारका लागि रु ३६ लाख ५० हजार बजेट विनियोजन गरिएको छ ।

माछापुच्छेमा स्वास्थ्यमा ८९ लाख ४३ करोड

माछापुच्छे गाउँपालिकाले कोभिड–१९ रोगको रोकथाम, नियन्त्रण र उपचारको प्रभावकारी व्यवस्थापन गर्ने उद्देय प्राथमिकतामा राखेको छ । कोभिड–१९ रोकथाम, नियन्त्रण तथा उपचारलाई प्रभावकारी बनाउन आवश्यक स्रोत र साधन सुनिश्चित गरिएको बजेटमा उल्लेख छ ।

क्वारेन्टाइन निर्माण र सञ्चालन गर्न, औषधी उपकरण तथा कोष स्थापनाका लागि प्रकोप व्यवस्थापन कोषमा आवश्यक बजेटको व्यवस्था गरिएको बजेटमा छ ।

बाल पोषण, मातृ पोषण ,खोप कार्यक्रमलाई निरन्तरता दिइएको छ । स्वास्थ्य संस्थाको व्यवस्थापन र स्वास्थ्य बिमा कार्यक्रलाई समेत टेवा पुग्ने गरी प्राथमिक स्वास्थ्य केन्द्रमा फार्मेसी सञ्चालनलाई व्यवस्थित गर्न आवश्यक बजेटको व्यवस्था गरिएको गाउँपालिकाको बजेटमा उल्लेख छ ।

गाउँपालिकाले अति विपन्न, द्धन्द्धपीडित अपांग नागरिकको स्वास्थ्य बिमा गाउँपालिकाले गरिदिने भएको छ । प्राथमिक स्वास्थ्य केन्द्रमा एकीकृत रुपमा सञ्चालनमा रहेको आयुर्वेदिक स्वास्थ्य सेवा तथा योग कार्यक्रमलाई सुदृढ गर्न, उपाध्यक्षसँग गर्भवती सुरक्षा, सुत्केरी चुलो, मातृ सुरक्षा आकस्मिक कोष स्थापना तथा सञ्चालन गर्न, बाह्रै महिना पुग्ने औषधी तथा उपकरणको व्यवस्था गर्न समग्र स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन एकमुष्ठ ८९ लाख ४३ हजार बजेट विनियोजन गरेको छ । माछापुच्छ«ेको बजेट पनि विशिष्टीकृत छैन ।

रुपामा स्वास्थ्य क्षेत्रमा कहाँ कति बजेट ?

रुपा गाउँपालिकाले आधारभूत तथा आकस्मिक सेवा प्रवाहका लागि औषधी खरिका लागि २० लाख विनियोजन गरेको छ । गाउँपालिकाबाटै स्वास्थ्य सेवा दिन स्थापना गरिएको रुपाकोट अस्पतालको व्यवस्थापपनका लागि ५० लाख छुट्याइएको छ ।

इपिडिमियोलोजी सेवाअन्तर्गत कार्यको नियमित रिपोर्टिङका लागि ६ लाख विनियोजन गरिएको गाउँपालिकाको बजेटमा छ । सामुदायिक विद्यालयका विद्यार्थीका लागि सेनिटरी प्याड व्यवस्थापनका लागि ६ लाख ५९ हजार विनियोजन गरिएको छ । स्वास्थ्य शाखाअन्तर्गत विविध कार्यक्रमका लागि २७ लाख ७५ हजार तोकिएको छ ।

मातृ तथा नवशिशु कार्यक्रमलाई निरन्तरता दिँदै ४६ लाख बजेट व्यवस्था गरिएको छ । स्वास्थ्य व्यवस्थापन कार्यक्रमअन्तर्गत १ लाख र क्षयरोग नियन्त्रण कार्यक्रमका लागि २ लाख रकम छुट्याइएको छ ।

उपचारात्मक सेवा कार्यक्रम सञ्चालनलाई निरन्तरता दिँदै १८ लाख, नर्सिङ तथा सामाजिक सुरक्षा सेवा कार्यक्रमलाई १३ लाख गाउँपालिकाले बजेटमा छुट्याएको छ । आयुर्वेद औषधालय हंसपुरमा कार्यरत स्वास्थ्यकर्मीको तलबभत्ता र सञ्चालन खर्च एकमुष्ट ३१ लाख ९२ हजार बजेट व्यवस्था गरिएको छ । आयुर्वेदिक औषधालय देउरालीमा कार्यरत कर्मचारी तलबभत्ता तथा सञ्चालनका लागि ३२ लाख ८ हजार विनियोजन गरेको छ । रुपाले महामारी रोग नियन्त्रणका लागि आवश्यक बजेट भने पनि रकम तोकिएको छैन ।


क्याटेगोरी : गण्डकी प्रदेश, पालिका स्वास्थ्य, समाचार
ट्याग : #पोखरा महानगर


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ