काठमाडौं—चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा.डा. श्रीकृष्ण गिरीले चिकित्सा शिक्षाजस्तो संवेदनशील विषयमा दबाब र प्रभावमा कुनै निर्णय गराउन खोज्नु गैरकानुनी भएको बताएका छन् ।
डा. गिरीले एक विज्ञप्ति जारी गर्दै आयोगका पदाधिकारीप्रति लान्छना लगाउने, कपोलकल्पित भ्राम कुराहरु फैलाउने, पदाधिकारीको योग्यता, कार्यदक्षता र नैतिकतामाथि अनावश्यक र गैर आधारमा प्रश्न उठाएर आयोगको कार्यलाई प्रभावित पार्नु खेदपूर्ण भएको बताएका छन् ।
उनले १९ असारमा झापास्थित वीएण्डसी मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलका सञ्चालक दुर्गा प्रसाईले जारी गरेको विज्ञप्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छन् । ‘आयोग चिकित्सा शिक्षालाई आवश्यकताअनुरुप चुस्त गुणस्तरीय र व्यवसायिक बनाउन ऐन र कानुनद्वारा निर्दिष्ट काम, कर्तव्य र अधिकारीको प्रयोग गर्दै सक्षम, निष्पक्ष र पारदर्शी सेवाका लागि प्रतिवद्ध छ,’ डा. गिरीको विज्ञप्तिमा छ ।
उनले आयोगले कानुनसम्मत आफ्नो जिम्मेवारी निष्पक्ष रुपमा निर्वाह गर्ने बताएका छन् ।
