२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपालीले वर्षमा १ खर्ब ९ अर्बको सूर्ति खान्छन् र ५० अर्ब उपचारमा खर्चन्छन्

नेपालीले वर्षमा १ खर्ब ९ अर्बको सूर्ति खान्छन् र ५० अर्ब उपचारमा खर्चन्छन्


काठमाडौं—नेपालीले वार्षिक औसतमा १ खर्ब ९ अर्ब रुपैयाँ बढीको सूर्तिजन्य पदार्थ सेवन गर्ने गरेको पाइएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी)ले नसर्ने रोगका मुख्य कारकतत्व सम्बन्धि गरेको अध्ययनले नेपालीले वार्षिक औसत १ खर्ब ९ अर्ब २४ करोड २० लाख रुपैयाँ बराबरको सूर्तिजन्य पदार्थ सेवनमा खर्च गर्ने गरेको देखाएको हो ।

अध्ययनअनुसार सूर्तिजन्य पदार्थ सेवन गर्ने एक जना नेपालीले एक महिनामा १ हजार ५० रुपैयाँ खर्च गर्ने गरेको देखिन्छ । त्यो खर्च भनेको नेपालीको आफ्नो आयको १३ प्रतिशतसम्म हो । एक महिनामा १ हजार ५० रुपैयाँ सूर्तिजन्य पदार्थमा खर्च गर्दा एक वर्षमा १२ हजार ६ सय रुपैयाँ खर्च गर्ने गरेको पाइन्छ ।

परिषद्को अध्ययनले नेपालमा समग्र जनसंख्याको २८.९ प्रतिशतले सूर्तिजन्य पदार्थ सेवन गर्ने गरेको देखाएको छ । जुन नेपालको कुल जनसंख्या झण्डै ३ करोडको ८६ लाख ७० हजार हुन आउँछ । ८६ लाख ७० हजारले वार्षिक १२ हजार ६ सय दरले सूर्तिजन्य पदार्थको सेवन गर्दा वार्षिक १ खर्बभन्दा बढी रकम धुँवामा उडाउने गर्छन् ।

अझ दुःखलाग्दो कुरा त के भने खर्बौ रुपैयाँ सूर्तिजन्य पदार्थ सेवनमा खर्च गर्ने नेपालीले त्यही सूर्तिका कारण हुने स्वास्थ्य समस्याका लागि अर्बौ रुपैयाँ खर्च गर्ने गरेका छन् । सूर्तिजन्य पदार्थको सेवनबाट हुने रोगमध्ये दुई वटा रोग क्यान्सर र मुटुजन्य रोगको उपचारमा मात्रै वर्षमा ४० अर्ब रुपैयाँभन्दा बढी खर्च हुने गरेको अध्ययनले देखाएको छ । अध्ययन नभएका अन्य रोगहरुसमेत हेर्ने हो भने सूर्तिजन्य पदार्थको सेवनका कारण हुने रोगमा वार्षिक ५० अर्बभन्दा माथि खर्च हुने स्वास्थ्य अर्थशास्त्री प्रा.डा. देवी प्रसाई बताउँछन् ।

‘हामीले मुख्य ठूला नसर्ने दुई वटा रोगमा लाग्ने खर्चको मात्रै अध्ययन गरेका छौं । ती दुई वटा रोगलाई मात्रै पनि वार्षिक ४० अर्बभन्दा बढी खर्च हुने गरेको देखिएको छ,’ उनी भन्छन्, ‘अन्य नसर्ने दम, मिर्गौला सम्बन्धि थुप्रै रोगहरु छन् । तिनीहरुमा हुने खर्चको आधिकारिक अध्ययन हुन सकेको छैन ।’

सरकारले अहिले सबै सामाग्री लाग्ने १३ प्रतिशत राजस्व १८ प्रतिशत अन्तशुल्क र २ प्रतिशत जोखिम गरी ३३ प्रतिशत कर उठाउँदैं आएको छ । सरकार उठाउने सबै कर गरी सूर्तिजन्य पदार्थबाट वार्षिक ३६ अर्ब रुपैयाँ बराबरको राजस्व उठाउँदैं आएको छ । सूर्तिजन्य पदार्थबाट भने हानीभन्दा यो कर अत्यन्तै न्यून भएको डा. प्रसाई बताउँछन् ।

परिषद्का अनुसन्धान विभाग प्रमुख डा. मेघनाथ धिमालकाअनुसार केही वर्ष अगाडिसम्म धुँवाजन्य ध्रुमपान सेवन गर्नेको संख्या बढी थियो अहिले त्यो कम हुँदैं गएको छ । ‘धुँवाजन्य पदार्थबाट डरलाग्दो गुटखा र सूर्तिजन्य पदार्थको सेवन बढेको छ,’ डा. धिमाल भन्छन्, ‘यो स्वास्थ्यका लागि झन बढी घातक देखिन्छ ।’

अझ अनौठो तथ्य त के छ भने नेपालीहरुले कलिलै उमेरमा सूर्तिजन्य पदार्थ सेवन गर्ने गर्छन् । नेपालीको सूर्तिजन्य पदार्थ सेवन सुरु गर्ने उमेर १७.८ वर्ष रहेको छ । जुन कलेज उमेर हो । कलिलै उमेरमा सूर्तिजन्य पदार्थ सेवन गर्दा हृद्धयघातलगायतका मुटुजन्य रोग भएर अस्पताल उपचार गर्न आउनेको संख्या दिनप्रतिदिन बढ्दैं गएको शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रका निर्देशक डा. चन्द्रमणि अधिकारी बताउँछन् ।

‘केही दिन अगाडि २९ वर्षीय युवाको हृदयघातको उपचार गरी घर पठाउन नपाइ अर्को युवा हृदयघात भएर शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा आए, उनी केवल २२ वर्षका थिए । जो केही वर्षदेखि नियमित रुपमा चुरोट पिउँथे,’ उनी भन्छन्, ‘युवाहरुमा बढी रहेको हृदयघातको समस्याबाट युवापुस्तालाई जोगाउन स्कुल र कलेजका विद्यार्थीलाई सूर्ति र चुरोटको कुलतबाट बचाऔं ।’ उनकाअनुसार केही वर्ष अगाडि केन्द्रले गरिएको हृदयघात सम्बन्धि अध्ययनमा ४० वर्षमुनिका बिरामी ११ प्रतिशत थिए । सबैमा कारकतत्व ध्रुमपान नै पाइएको उनी बताउँछन् ।

सूर्तिजन्य पदार्थ सेवन गर्नेहरुको संख्या अनुसन्धानमा कम देखिदैं आएतापनि सूर्तिजन्य पदार्थ कम उमेरमै सेवन गर्नेको संख्या बढ्दैं गएको छ । ‘जुन भोलिका लागि घातक हो, सानै उमेरमा नसर्ने कडा रोगको जोखिम बढाउँदैं जान्छ,’ डा. धिमाल थप्छन् ।

परिषद्का उपाध्यक्ष समेत रहेका स्पाइन सर्जन प्रा.डा. गौरव ढकाल सूर्तिजन्य पदार्थले कुरकुरे हड्डीलाई काम नलाग्ने बनाउने, हड्डी जोडिने समस्या हुने बताउँछन् । ‘सूर्तिजन्य पदार्थ सेवन गरेकाहरुको शल्यक्रिया भएको छ भने त्यो जोडिन र उपचारमार्फत सुधार हुन कि लामो समय लाग्छ कि सफल नै हुँदैन्,’ डा. ढकाल भन्छन्, ‘यसले कुरकुरे हड्डीलाई नष्ट गरिदिन्छ । शल्यक्रिया गरेको ठाउँमा संक्रमण हुने सम्भावना बढी हुन्छ ।’

नेपालमा १ सयजनामध्ये २० जनामा कम्बरको दुखाइ हुने, ८० प्रतिशत मानिसमा कुनै न कुनै समय कम्मरको दुखाइ हुने गर्दछ । सूर्तिजन्य पदार्थ सेवन नगर्ने व्यक्तिमाभन्दा सूर्तिजन्य पदार्थ सेवन गर्ने व्यक्तिमा दुई गुणा बढी गम्भीर किसिमको स्पाइनमा समस्या हुने उनको भनाइ छ ।


क्याटेगोरी : समाचार
ट्याग : #सूर्तिजन्य पदार्थ


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ