२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १चिकित्सा शिक्षा आयोग उपाध्यक्ष डा. गिरी अप्ठ्यारोमा, आफै बनाएको समितिले बुझाएन् प्रतिवेदन

चिकित्सा शिक्षा आयोग उपाध्यक्ष डा. गिरी अप्ठ्यारोमा, आफै बनाएको समितिले बुझाएन् प्रतिवेदन


काठमाडौं–झापास्थित प्रस्तावित बीएण्डसी मेडिकल कलेज एण्ड रिसर्च सेन्टरको अनुगमनमा गएको समितिले अध्ययन प्रतिवेदन नबुझाउँदा चिकित्सा शिक्षा आयोगका कार्यकारी उपाध्यक्ष प्रा.डा. श्रीकृष्ण गिरी अप्ठ्यारोमा परेका छन् ।

अनुगमनमा गएको टोलीका संयोजक र विज्ञ सदस्यले आयोगलाई प्रतिवेदन नबुझाउने जानकारी दिएसँगै कार्यकारी उपाध्यक्ष गिरी अप्ठ्यारोमा परेका हुन् । अनुगमन समितिका संयोजक प्रा.डा. प्रकाश पाण्डेले यसअघि हेल्थ आवाजसँग कुरा गर्दै आफूले प्रतिवेदन नबुझाउने बताएका थिए ।

डा. पाण्डेले प्रतिवेदन नबुझाउने भनेको १५ दिनपछि अर्का सदस्य डा. भोजराज अधिकारीले आयोगलाई पत्र लेख्दै आफूले पनि प्रतिवेदन बुझाउन नसक्ने जानकारी दिएका छन् ।

आयोगका प्रवक्ता समेत रहेका सदस्य सचिव डिल्लीराज लुइटेलले अध्ययन टोलीमा गएका संयोजक र विज्ञले कार्यकारी समितिको बैठकमा नै प्रतिवेदन बुझाउन नसक्ने जानकारी दिएको बताए । ‘उहाँहरुले कार्यकारी समितिको बैठकमा नै प्रतिवेदन बुझाउन नसक्ने जानकारी दिनुभयो,’ उनले हेल्थ आवाजसँग भने, ‘उपाध्यक्षले गोप्य रुपमा बनाउनुभएको समिति हो । अब के हुन्छ उहाँलाई मात्र थाहा छ ।’ प्रवक्ता लुइटेलले यो विषय कार्यकारी समितिभन्दा माथिल्लो तहको विषय भएकाले आफूले बोल्न नसक्ने बताए ।

किन भयो विवाद ?

२८ जेठमा बसेको आयोगको बैठकले ७ दिनभित्र बिएण्डसीको अध्ययन गरी प्रतिवेदन बुझाउन कार्यकारी समितिलाई निर्देशन दिएको थियो । कार्यकारी समितिका अध्यक्ष रहेका उपाध्यक्ष डा. गिरीले गोप्य रुपमा प्रा.डा. प्रकाश पाण्डे संयोजक, प्रा.डा. रमेश आचार्य र सेमन्त कोइरालालाई आयोगका प्रतिनिधी र डा. भोजराज अधिकारी विज्ञ सदस्य रहेको टोली गठन गरेका थिए ।

सो टोली ७ र ८ असारमा झापा गएर अनुगमन गरी फर्किएको थियो । झापाबाट फर्किएको टोलीले ११ असारमा प्रारम्भिक प्रतिवेदन लेखेको थियो । सो प्रतिवेदन बाहिर आउन नपाउँदै अनुगमनमा गएका विज्ञ डा. अधिकारी बिएण्डसी संचालक दुर्गा प्रसाई र आयोगका उपाध्यक्ष डा. गिरी बीचको गाली बेइज्जती मुद्धामा प्रसाईंको विपक्षमा साक्षी बसेको अदालतको पत्र बाहिरिएको थियो ।

सो पत्र बाहिरिएपछि अनुगमन समितिका संयोजक डा. पाण्डेले आफू र आफूसँग गएको टिमलाई उपाध्यक्ष गिरीले फसाउन खोजेको र इन्ट्रेष्ट बाँझिने मान्छेलाई पठाएको भन्दै प्रतिवेदन नबुझाउने अडान राखिरहेका छन् ।

तर, विज्ञ सदस्य डा. अधिकारीले आयोग कार्यकारी समितिका अध्यक्षलाई पत्र पठाउँदै आफ्नो प्रसाई र डा. गिरी दुवैसँग कुनै लिनु दिनु नरहेको तर विभिन्न पत्रपत्रिका र सामाजिक संजालमा नाम जोडिएर आएको हुँदा नैतिकताको आधारमा आफू अनुगमनको प्रक्रियामा संलग्न नहुने र प्रतिवेदन पनि बुझाउन नसक्ने जानकारी दिएका छन् ।


क्याटेगोरी : प्रदेश १, समाचार
ट्याग : #चिकित्सा शिक्षा आयोग, #बिएण्डसी मेडिकल कलेज, #बिएण्डसीको अध्ययन


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ