२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १कोशी अस्पतालमा रेडियोलोजी चिकित्सक नहुँदा सास्तीः छटपटीमै बित्छ बिरामीको दिन

कोशी अस्पतालमा रेडियोलोजी चिकित्सक नहुँदा सास्तीः छटपटीमै बित्छ बिरामीको दिन

डाक्टर खोज्दै मेसु काठमाडौंमा


विराटनगर—बुधबार दिउँसो साढे ११ बजेको समय । रेडियोलोजी विभागमा विरामीको अत्याधिक भिड लागेको छ । अल्ट्रासाउन्ड, सिटी स्क्यान र एक्स–रे सेवा लिन बिरामीको लामबद्ध छन् ।

चर्को गर्मीमाझ त्यही भिडमा पिडा सहँदैं छटपटी रहेका बिरामीहरु पनि छन् । रेडियोलोजी विभागभित्र रहेका केही बिरामी भन्दैछन्, ‘मलाई चाँडै भिडियो ए–क्सरे गरिदिनु न सारै पीडा भयो ।’ हेल्थआवाजकर्मी विराटनगरस्थित कोशी अस्पतालको उत्तरपट्टी रहेको रेडियोलोजी विभागमा बुधबार दिउँसो पुग्दा सुनिएको र देखिएको दृष्य हो यो ।

अस्पतालको रेडियोलोजी विभाग बाहिरपट्टी भेटिइन्, मोरङ कानेपोखरी गाउँपालिका–३ केरौनका ४० वर्षीया उमादेवी थापा । दुई दिनदेखि साह्रै पेट दुःखेपछि बुधबार कोशी अस्पताल आएकी थिइन् । सबेरै अस्पताल आएकी उनले काउन्टरमा पूर्जी काटेपछि तीन घण्टापछि अस्पतालका फिजिसियन चिकित्सकलाई देखाइन् । चिकित्सकले चेक जाँच गरेपछि प्रयोगशाला परीक्षणका लागि भिडियो ए–क्सरे लेखिदिए । त्यसपछि उनले ६ सय रूपैयाँमा बुझाएर भिडियो ए–क्सरेको बिल काटिन र अस्पतालको रेडियोलोजी विभागमा बुधबार दिउँसो पुगिन् ।

रेडियोलोजी विभागको काउन्टरमा बसेका स्वास्थ्यकर्मीले बुधबारको कोटा पूरा भएको बताए । ‘अब बिहीबार विहान ९ बजे आएर पालोमा लगाउनु भन्दै फकाईदिनुभयो,’ कोशीको रेडियोलोजी विभाग अगाडि भेटिएकी थापाले पीडा सुनाउँदै भनिन्, ‘करिब ६० किलोमिटर सार्वजनिक यातायात चढेर सरकारी अस्पताल आइपुगे । तर, एकै दिनमा उपचार गर्न पाइन् । फेरी भोली आउनुप¥यो । एक्कै दिनमा हुने काम पनि पर्याप्त चिकित्सक नभएको भन्दै फर्काइदियो ।’

सस्तोमा उपचार पाइने भएपनि सरकारी अस्पताल प्रशासनले व्यवस्थापन गर्न नसक्दा सेवाग्राहीले सास्ती पाउनु परेको उनले बताइन् । कोशीको रेडियोलोजी विभागमा भेटिएका कामनादेवी मुिखयाको समस्या पनि ठ्क्याकै उमादेवीसँग मिल्दोजुल्दो छ । दुई दिनयतादेखि पेटमा समस्या भएपछि उनी पनि मंगलबार कोशी अस्पताल आएकी थिइन् ।

‘पहिलो दिन चिकित्कसलाई मात्र देखाएर घर फर्किए । मंगलबार पालो नआएपछि बुधबार सबेरै अस्पताल आएको भएपनि रेडियोलोजी विभागमा तीन घण्टापछि पालो आयो । भिडियो ए–क्सरे गरे,’ बुधबार दिउँसो रिपोर्टको पर्खाइमा रहेकी मुखियाले भनिन्, ‘एक दिन पालो कुरेर भिडियो ए–क्सरेको रिपोर्ट आएपछि चिकित्सकलाई देखाएर घर फर्किन्छु ।’

प्रदेश १ को राजधानीमा रहेको कोशी अस्पतालको रेडियोलोजी विभागमा दरबन्दीअनुसारका चिकित्सक नहुँदा विरामीले सास्ती पाएका उल्लेखित प्रतिनिधीमूलक घटना हुन् । चुस्त व्यवस्थापन र दरबन्दीअनुसारको चिकित्सक ल्याउन अस्पतालका मेसु र विकास समितिका पदाधिकारीहरूले चासो नदेखाउँदा सेवाग्राहीले अहिले दैनिक हैरानी खेपिरहेका छन् ।

रेडियोलोजी विभागमा पर्याप्त मात्रामा चिकित्सक नहुँदा पछिल्लो दुई दिनयतादेखि सेवाग्राहीले दुईदेखि तीनदिनमा मात्र भिडियो ए–क्सरे गर्न पालो पाउने गरेका छन् । अस्पतालमा भोग्नुपर्ने झन्झट, अधिक भिडका कारण ज्यादै लामो प्रतिक्षापछि मात्र आउने पालोलगायतका समस्याले बिरामी र सर्वसाधारण आजित बनेका छन् ।

त्यही भएर सोमबार रेडियोलोजी विभागको सेवा लिन घण्टौं लाइनमा बस्दा पनि सेवा नपाउने भएपछि आजित भएका सेवाग्राहीले सोमबार आन्दोलनमा उत्रिन बाध्य भए । उपचारका लागि आएका मो. मोहमदले आइतबारदेखि अल्ट्रासाउन्ड गराउन लाइनमा बस्दाबस्दै सोमबार पनि पालो नआउने भएपछि आन्दोलनमा उत्रिन बाध्य भएको सुनाए । दैनिक २ सय देखि २ सय ५० जना बिरामी रेडियोलोजी सेवा लिन आउने गरेको अस्पतालको तथ्यांक छ । तर, अस्पतालको रेडियोलोजी विभागमा एक जनामात्रै चिकित्सक रहेकाले ५० देखि ६० जनाको मात्रै जाँच गर्न भ्याउने भएकाले समस्या भएको हो ।

अस्पतालमा रेडियोलोजी विभागअन्तर्गत अल्ट्रासाउन्ड, सिटी स्क्यान र एक्स–रे सेवा उपलब्ध छन् । जसमा अस्पतालका दुई जना चिकित्सकको दरबन्दी भएपनि पाँच वर्षदेखि रिक्त रहनु र विकास समितिले करारमा नियुक्त गरेको दुई जना र दरबन्दीका एक जना गरी तीन जना रेडियोलोजिष्टले राजिनामा दिएको कारण अस्पतालको सेवा प्रभावित बनेको छ । अहिले रिक्त रहेको दरबन्दीमा मन्त्रालयबाट चिकित्सक ल्याउन अस्पतालका मेसु र विकास समितिका पदाधिकारीहरूले चासो देखाएका छैनन् । जसले गर्दा बिरामीले एक दिनपछि पालो पाउनुपर्ने अवस्था रहेको छ ।

अस्पतालमा अहिले एकजना मात्र करारका रेडियोलोजिस्ट छन् । अस्पतालमा दुई जना रेडियोलोजिस्टको दरबन्दीअनुसार डा. ओमबिजु पन्त र डा पुष्कर देव रहेका थिए । डा. पन्त विभागीय कारवाहीमा परेका छन् भने भएका डा. देवले गत आइतबारदेखि लागू हुने गरी राजिनामा दिएका छन् ।

अस्पतालको विकास समितिले तीन जना रेडियोलोजिस्ट करारमा नियुक्त गरेको थियो । नियुक्त गरिएको डा. अंशु श्रेष्ठ, डा. सितेश कोइराला र डा. राजा सुवाल थिए । उनीहरूमध्ये डा. श्रेष्ठ र डा. कोइरालाले राजिनामा दिएका छन् । केही दिन यतादेखि अस्पतालमा डा. राजा सुवालले मात्र रेडियोलोजिस्ट विभाग सम्हालिरहेका छन् । सोमबार अस्पतालमा आन्दोलन भएपछि राजिनामा दिएकी डा. श्रेष्ठलाई अस्पताल प्रशासनले बिहीबारसम्मको लागि काम गरिदिन आग्रह गरेको छ । त्यसैले बुधबारसम्म ६० देखि ७० जनाको परीक्षण हुँदै आएको अस्पतालको अभिलेखमा देखिन्छ । बिहीबारदेखि डा. श्रेष्ठ आउन छोडिन भने यो संख्या घटने अस्पतालले जनाएको छ ।

दरबन्दीअनुसार चिकित्सक नभएकाले सेवा प्रभावित हुँदै आएको कोशी अस्पतालका निमित्त मेसु डा. लक्ष्मीनारायण यादवले बताए । ३ सय ५० शैय्याको अस्पतालमा अहिले दैनिक १ हजारदेखि १२ सयसम्म बिरामी आउने गरेका छन् । डा. यादवले नवौं तहका दुई जना रेडियोलोजिस्टको दरबन्दी रिक्त रहेकाले सेवा सञ्चालनमा समस्या भएको बताए । ‘दरबन्दीअनुसारको चिकित्सक नभएपछि सेवा प्रभावित हुनु स्वाभाविक हो,’ उनले भने, ‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र स्वास्थ्य सेवा विभागमा पटक–पटक लिखित र मौखिक रूपमा चिकित्सक पठाइदिन आग्रह गर्दासमेत ५ वर्षदेखि दरबन्दी रिक्त छ ।’

विभाग र मन्त्रालयले दरबन्दीअनुसारको चिकित्सक नपठाएपछि अस्पताल विकास समितिबाट रेडियोलोजिस्ट नियुक्त गरेर सेवा सञ्चालन हुँदै आएको थियो । तर, ३ जनाले राजीनामा दिइसकेका कारण समस्या भएको डा. यादवले बताए । दरबन्दीअनुसारको चिकित्सक नआएसम्म समस्या जस्ताको त्यस्तै रहने उनले बताए ।

डाक्टर खोज्दै मेसु काठमाडौंमा

रेडियोलोजी विभागका तीन जना चिकित्सकले राजिनामा दिएपछि अस्पतालमा मेसु डा. चुमनलाल दास डाक्टर खोज्दैं काठमाडौं पुगेका छन् । उनी अस्पतालको कामले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय गएका बताइएको छ ।

‘रेडियोलोजी विभागमा रिक्त रहेको चिकित्सक पदपूर्तिको माग राख्दै मन्त्रालय आएको छु,’ मेसु डा. दासले भने, ‘चिकित्सक नहुँदाको सम्पूर्ण समस्या स्वास्थ्य मन्त्रालयमा जानकारी गराएको छु । रिक्त रहेको रेडियोलोजी विभागमा चिकित्सक नपठाए बिरामीले सास्ती पाउने विषय जानकारी गराए । कतैबाट भएपनि एक जना रेडियोलोजिस्ट कोशीमा पठाइदिन आग्रह गरेको छु ।’


क्याटेगोरी : प्रदेश १, समाचार
ट्याग : #कोशी अस्पताल, #रेडियोलोजी विभाग


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ