२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १प्रदेश १ मा बाल अस्पताल बन्दै, सहयोग गरिदिन डा. कोइरालाको आग्रह

प्रदेश १ मा बाल अस्पताल बन्दै, सहयोग गरिदिन डा. कोइरालाको आग्रह


विराटनगर—वरिष्ठ मुटु रोग विशेषज्ञ डा. भगवान कोइरालाले बाल अस्पतालको लागि सहयोग गर्न विराटनगरका उद्योगी–व्यवसायीसँग आग्रह गरेका छन् । काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) का अध्यक्ष एवं वरिष्ठ मुटु रोग विशेषज्ञ डा. कोइरालाले मोरङ व्यापार संघसँगको छलफलका क्रममा सहयोगको अपेक्षा गरेका हुन् ।

मोरङ व्यापार संघमा आयोजित कार्यक्रममा कोइरालाले काठमाडौं इन्स्टिच्यूट अफ चाइल्ड हेल्थ (किओच)को सेवा प्रादेशिकस्तरमा विस्तार गर्न चाहेको बताउँदै संघलाई त्यसको लागि पहल लिइदिन आग्रह गरेका हुन् ।

गैरनाफामुलक र सेवामुलक संस्थाका रुपमा स्थापित किओचले नेपालका सबै बालबालिकालाई सर्वसुलभ विशिष्टीकृत स्वास्थ्य सेवा पु¥याउने र बाल स्वास्थ्यका क्षेत्रमा अध्ययन अनुसन्धान गर्ने उद्देश्य राखेको बताउँदै बहुविशिष्टीकृत सेवासहितको अस्पताल स्थापनाका लागि सहयोगको अपिल गरे ।

सबै प्रदेशमा बाल अस्पताल निर्माण गरी संचालन गर्ने उद्देश्य राखेको किओचले प्रदेश नं. १ मा झापाको दमकमा रेडक्रस भवन लिजमा लिएर अत्याधुनिक सेवासहित दक्ष प्राविधिकहरुबाट संचालन गर्ने योजना डा. कोइरालाले सुनाए । त्यसको निर्माण कार्यमा मोरङ व्यापार संघबाट सहयोग गरिदिन संघका अध्यक्ष प्रकाश मून्दडालाई अनुरोध गरिएको थियो ।

मोरङ व्यापार संघले विराटनगरमा समय सान्दर्भिक र दु्रत गतिमा प्रविधियुक्त सुविधा सम्पन्न कोभिड अस्पताल निर्माण गर्न नागरिक केयर सेन्टरमार्फत पु¥याएको योगदान अत्यन्त प्रशंसनीय र अतुलनीय रहेको भन्दै डा. कोइरालाले किओचको प्रदेशस्तरीय बाल अस्पताल निर्माणका लागि समेत सहयोग र समन्वय गरिदिन अनुरोध गरे ।

प्रदेश नं. १ को बाल अस्पताल निर्माणार्थ किओचका कार्ययोजनाहरु तयार पारी आगामी दिनमा संघलाई प्रस्तुत गरिने उनले बताए । संघका अध्यक्ष मून्दडा सहित पूर्व अध्यक्ष महेश जाजूले सो बाल अस्पताल निर्माणका लागि संघबाट यथाशक्य साथ, सहयोग एवं समन्वय गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

संघका अध्यक्ष मून्दडा पूर्व अध्यक्ष एवं केयर सेन्टरका वरिष्ठ उपाध्यक्ष महेश जाजु, नेपाली सेनाका उपरथी अनन्त कार्कीसहित उद्योग संगठन मोरङका निर्वतमान अध्यक्ष एवं केयर सेन्टरका उपाध्यक्ष भीम घिमिरे र मोरङ व्यापार संघका वरिष्ठ उपाध्यक्ष नवीन रिजालले डा. कोइरालाको प्रस्तावलाई समर्थन गरेका थिए ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ