२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १मध्यरातमा कोशी अस्पतालको गाइनो वार्डबाट ‘नक्कली डाक्टर’ पक्राउ

मध्यरातमा कोशी अस्पतालको गाइनो वार्डबाट ‘नक्कली डाक्टर’ पक्राउ


विराटनगर-सोमबार राति १२ बजे ।  विराटनगरस्थित कोशी अस्पताल सुनसान छ। त्यही सन्नाटाको फाइदा उठाउँदैं एकजना व्यक्ति अस्पतालको गाइनो वार्डमा प्रवेश गर्न खोज्छन् । नौलो अनुहार भएको व्यक्ति देखेपछि सुरक्षा गार्डले सोध्छन्, ‘तपाई कता जान लाग्नुभएको ? ।’ ती युवाले भन्छन्, ‘म डाक्टर ! बिरामी जाँच गर्न जान लागेको ।’

डाक्टर भनेपछि सुरक्षा गार्डले छोडिदिन्छन् । त्यसपछि उनी गाइनो वार्डमा सिधै गएर बिरामीको स्वास्थ्य परीक्षण गर्न थाल्छन् । ‘अन्य बेला सधैं चिकित्सकले हातमा पन्जा लगाएर स्वास्थ्य मापदण्ड पालना गरेर स्वास्थ्य परीक्षण हुने गरेको थियो । सोमबार मध्यरातमा आएका आफूलाई डाक्टर भन्ने व्यक्तिले हातमा पन्जा पनि नलगाएर तीन जना बिरामीको स्वास्थ्य परीक्षण गर्न थालेपछि बिरामीले आशंका गरे, नक्कली डाक्टर । मध्य राति गाइनो वार्ड हो-हल्ला भयो ।

त्यसपछि पक्राउ परे । नक्कली डाक्टर बनेर बिरामीको स्वास्थ्य परीक्षण गर्ने विराटनगर-६ सरौचियाका अमृत बानियाँ । पक्राउ परेका बानियाँलाई ‘अभद्र व्यवहारको मुद्दा’ मा म्याद थप गरेर अनुसन्धान सुरू गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए ।

‘मदिरा सेवन गरेपछि नक्कली डाक्टर बनेर कोशी अस्पतालमा बिरामीको स्वास्थ्य जाँच गरेको पाइएको छ,’ डिएसपी श्रेष्ठले भने, ‘पक्राउ परेका बानियाँलाई म्याद थप गरेर अनुसन्धान सुरू गरेका छौं ।’ कोशी अस्पतालले पनि पक्राउ परेका बानियाँलाई आवश्यक कारवाहीको लागि मोरङ प्रहरीमा पत्र पठाएको मेसु डा. चुमनलाल दासले जानकारी दिए ।

‘मध्य रातमा अस्पताल आएर नक्कली डाक्टरको भेषमा अभद्र व्यवहार गरेपछि अस्पतालको छिमेकी प्रहरीले पक्राउ गरेको रहेछ,’ मेसु दासले भने, ‘आवश्यक कारवाहीको लागि मोरङ प्रहरीमा पत्र पठाएका छौं । प्रहरीले थप कारवाही गर्नेछ ।’ पक्राउ परेका बानियाँले गाइनो वार्डको वेटिङ रूमामा पुगेर बिरामीको संवेदनशील अंगमा पनि छोएको आरोप छ ।

यसअघि पनि नक्कली डाक्टरको भेषमा कोशीमा बिरामी परीक्षण गर्दा एक जना पक्राउ परेका थिए । अस्पताल सुरक्षा व्यवस्था फितलो रहँदा बेला–बेलामा कोशी अस्पतालमा यस्तो गतिविधिहरू हुने गरेको छ । अस्पतला प्रशासनले अस्पतालभित्र सुरक्षा गार्डको व्यवस्थित गर्न नसक्दा बिरामीहरूलाई अभद्र व्यवहार हुने गरेको कार्यरत चिकित्सकहरू बताउँछन् ।


क्याटेगोरी : प्रदेश १, समाचार
ट्याग : #कोशी अस्पताल, #गाइनो वार्ड, #नक्कली डाक्टर


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ