२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारट्रमाको निर्देशक बन्न तीन डाक्टर दौडमा, डा. सन्तोषको ‘समाजवादी चेक’

ट्रमाको निर्देशक बन्न तीन डाक्टर दौडमा, डा. सन्तोषको ‘समाजवादी चेक’


काठमाडौं—राष्ट्रिय ट्रमा सेन्टरमा काम गर्ने ११ औं तहका ६ जना चिकित्सक (१ जनाले हस्ताक्षर नगरेको)ले हस्ताक्षर गरी स्वास्थ्यमन्त्री समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई एक पत्र बुझाए । सो पत्रको मुख्य अंश ११ औं तहको चिकित्सकलाई ट्रमाको निर्देशक बनाउनुपर्नेमा केन्द्रीत थियो ।

झण्डै तीन वर्षदेखि १० औं तहका चिकित्सकको नेतृत्वमा ट्रमा सेन्टर सञ्चालन हुँदैं आएको छ । आइतबार प्रधानमन्त्रीलाई त्यस्तो ब्यहोराको पत्र पठाएपछि ट्रमा र स्वास्थ्य मन्त्रालयमा निर्देशक परिवर्तनको आँकलन सुरु भएको छ । मन्त्रालय स्रोतकाअनुसार निर्देशकका लागि सत्तारुढ दल नेपाली कांग्रेस निकट मानिने चिकित्सकहरुको दौडधुप सुरू भइसकेको छ ।

दौडको प्रतिस्पर्धामा सबैभन्दा अगाडि ९ महिनाअघि धनगढीबाट कान्ति बाल अस्पतालमा सरुवा भएर ट्रमा सेन्टरमा काजमा आएका १० औं तहका अर्थोपेडिक सर्जन डा. प्रमोद जोशी छन् । त्यसैगरी, दोस्रो नम्बरमा भर्खर कान्ति बाल अस्पतालबाटै सरुवा भएर ट्रमा सेन्टर आएका डा. बद्री रिजाल छन् भने ११ औं तहमा रहेका कारण डा. रुद्र मरासिनी पनि प्रबल दाबेदार हुन् ।

डा. मरासिनीको अग्रसरतामा आइतबार प्रधानमन्त्रीलाई पत्र पठाइएको बताइन्छ । त्यसको उद्देश्य १० औं तहका दाबेदारहरुलाई बीचैमा रोक्न सके डा. मरासिनी एक्लो दाबेदार हुनेछन् । डा. मरासिनी डेमोक्र्याट खेमामा युवा नेता गगन थापाले पत्याएका चिकित्सक हुन् ।

यसअघि कोभिड—१९ युनिफाइड केन्द्रीय अस्पतालको प्रमुख प्रशासकीय अधिकारीको नियुक्ति पत्र पाएर पनि खोसिएको हुँदा सान्त्वनाका लागि ट्रमाको निर्देशक बनाउन प्रधानमन्त्रीलाई दबाब छ । डा. मरासिनी स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ र स्वास्थ्य सचिव डा. रोशन पोखरेलसँग निकट मानिन्छन् ।

डा. मरासिनीले दाबेदारभन्दा पनि सिष्टमका आधारमा निर्देशक हुने भएकाले आफू पहिलो नम्बरको दाबेदार भएको बताए । ‘दाबेदारभन्दा पनि सिष्टमले दिने हो । म ट्रमाको बरियतामा १ नम्बरमा छु,’ डा. मरासिनीले भने, ‘उम्मेदवारी हाल्ने, छानविन गर्ने भन्ने कुरा त भएन । त्यसैले म स्वतः निर्देशकको पहिलो दाबेदार हुँ ।’

ट्रमाको निर्देशकको दौडमा रहेका डा. रिजाल आईओएममा युनियनबाट निर्वाचित पूर्व स्ववियु सभापति हुन् । अहिले नेपाल चिकित्सक संघ (एनएमए)का महासचिव रहेका उनलाई निर्देशक बनाउने भनेरै कान्ति बाल अस्पतालबाट ट्रमा सेन्टर ल्याइएको हो । डा. रिजाल कांग्रेस निकट चिकित्सकहरुको संगठनमा बलियो पकड भएका चिकित्सक मानिन्छ । उनी एनएमएका पूर्व अध्यक्ष डा. केदारनरसिंह केसीका अत्यन्तै निकट मानिन्छन् । एनएमएको महासचिव बनाउँदामा पनि डा. केसीकै जोडबलमा बनाइएको एनएमए निकट स्रोत बताउँछ ।

डा. रिजालले हेल्थआवाजसँग आफू जिम्मेवारी आएमा त्यसलाई पूरा गर्न सक्षम र तत्पर रहेको बताए । ‘निर्देशकको जिम्मेवारीका लागि म डिजर्भिङ र क्यापेबल हो । संस्थाका लागि काम गर्न सक्ने पनि हो,’ उनले भने, ‘तर, कामै छोडेर त्यसैका लागि पछाडि लाग्ने कुरा भएन् । जिम्मेवारी दियो भने पछाडि हटदिन् ।’

डा. जोशी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समेत नेतृत्व लिएका प्रधानमन्त्री शेरबहादुर देउवाका गृह क्षेत्र सुदूरपश्चिमका हुन् । कन्चनपुर स्थायी घर भएका उनी नेपाल चिकित्सक संघ (एनएमए)का अध्यक्ष डा. लोचन कार्की अति निकट मानिन्छन् । सेती प्रादेशिक अस्पतालबाट ९ महिनाअघि कान्ति बाल अस्पताल सरुवा भएर आउँदा उनले आफू निकटहरुसँग करिअर बनाउन काठमाडौं जान लागेको बताएका थिए । ‘कि काठमाडौंको कुनै अस्पतालको मेसु बन्छु कि गेटा मेडिकल कलेजको पदाधिकारी बनेर आउँछु,’ उनले आफूनिकटसँग भनेका थिए ।

अर्थोपेडिक सर्जन डा. जोशी नेपाल चिकित्सक संघको केन्द्रीय सदस्य पनि हुन् । ‘मैले ११ वर्षसम्म सुदूरपश्चिममा काम गरेको हो,’ उनले भने, ‘अर्थोपेडिक सर्जन भएर पनि जिल्लामा जिल्लामा गएर काम गरे । मेडिकल फिल्डमा लागेको २०—२१ वर्ष भयो ।’

डा. जोशी आफूले ट्रमाको निर्देशकका लागि आफ्नो तर्फबाट कुनै पहल नगरेको तर जिम्मेवारी पाएमा चलाउन समस्या नहुने बताउँछन् । दार्चुला जिल्ला अस्पतालको मेसु हुँदा सर्वोत्कृष्ट निजामति सेवा पुरस्कार पाएका उनले आफूले संस्थाहरु पहिले पनि चलाएको बताए । ‘मैले दार्चुला जिल्ला अस्पतालको मेसु हुँदा उत्कृष्ट काम गरेवापत सर्वोत्कृष्ट निजामति पुरस्कार पनि पाएको हुँ,’ उनले भने, ‘जिम्मेवारी आएपछि मैले पनि चलाउला, अरु साथीहरुले पनि चलाउलान् ।’

सरकारनिकट तीन जना चिकित्सक निर्देशकको दौडमा रहेका बेला वर्तमान निर्देशक डा. सन्तोष पौडेल भने ‘पर्ख र हेर’को अवस्थामा छन् । अहिलेको गठबन्धन सरकार निर्माण मुख्य खम्बा मानिएको नेकपा एकीकृत (समाजवादी)सँग सरसल्लाहमै देउवाले नियुक्तिहरु हेरफेर गरिरहेकाले तत्कालै ट्रमाको निर्देशक परिवर्तन नहुने सम्भावना प्रबल छ ।

निर्देशक डा. पौडेलकी श्रीमती क्रान्ति बुर्लाकोटी माधवकुमार नेपाल निकट युवा संघको उपाध्यक्ष एवं प्रभावशाली युवा नेतृ हुन् । तेस्रो पुस्ताका युवाहरुकै बलमा पार्टी निर्माण गरेका माधव नेपालले कार्यकर्ता जोगाउनका लागि बुर्लाकोटीको कुरा काट्न सक्दैनन् । र, माधव नेपालमा नै सत्ताको भविष्य जोडिएकाले देउवाले पनि माधव नेपालको सिफारिसलाई लत्याउने अवस्था छैन् ।

यस्तो राजनीतिक परिस्थितीका बीच डा. पौडेल नै ट्रमाको निर्देशक रहन सक्छन् । तर, उनी स्वयंम भने आफू एक सरकारी कर्मचारी भएको हुँदा सरकारले गर्ने निर्णय नै आफूलाई मान्य हुने बताउँछन् । ‘म निर्देशक भएपछि ट्रमा सेन्टर कति परिवर्तन भयो । त्यो सरकारले र नेतृत्वले हेरेको हुनुपर्छ,’ उनी भन्छन्, ‘यदि सरकारलाई मैले गरेको काम ठिक लागेको छ भने नियमित गर्ला होइन भने परिवर्तन गर्ला त्यो स्वभाविक हो ।’

के ११ औं तहलाई नै दिइएला त निर्देशक ?

यतिबेला नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीसँगै स्वास्थ्यमन्त्री पनि छन् । प्रधानमन्त्री भएको डेढ महिना बितिसक्दा पनि उनले विभागीय मन्त्रीका रुपमा स्वास्थ्यमा राज्यमन्त्रीलाई मात्रै पठाउन सकेका छन् ।

देउवाले मन्त्रालयका महत्वपूर्ण निर्णयहरु आफै गर्दै आएका छन् । डेढ महिनामा स्वास्थ्य मन्त्रालयअन्तर्गतका अधिकांश सरुवा सम्बन्धि काम मात्र गरेको देखिन्छ । उनका पहिला दुई सरुवा नै विवादित बने ।

१२ औं तहको महानिर्देशक रहने स्वास्थ्य सेवा विभागबाट प्रमुख विशेषज्ञलाई हटाएर दुई महिनापछि अनिवार्य अवकास पाउँदैं गरेका एघारौ तहका कनिष्ठ चिकित्सलाई निमित्त महानिर्देशक बनाए । त्यस्तै, कोभिड—१९ युनिफाइड केन्द्रीय अस्पतालको प्रमुख प्रशासकीय अधिकारीबाट ११ औं तहका चिकित्सकलाई हटाएर १० औं तहकालाई जिम्मेवारी दिए ।

यी दुई नजिर हेर्दा अबका अन्य नियुक्तिहरु पनि सिनियारिटीका आधारमा हुनेमा स्वास्थ्यका अधिकारीहरु शंका गर्छन् । ‘अन्तका नियुक्तिका कुरा छोडौं । नजिकैको वीरमा १२ औं तह (नयाँ संगठन संरचनाअनुसार)को प्रमुख हुनुपर्नेमा ११ औं तहलाई हटाएर १० औंलाई जिम्मेवारी दिइएको छ,’ ती अधिकारीले भने, ‘अब ट्रमालगायत अन्त के होला आफै अनुमान लगाउन सकिन्छ ।’


क्याटेगोरी : समाचार
ट्याग : #डा. प्रमोद जोशी, #डा. बद्री रिजाल, #डा. रुद्र मरासिनी, #डा. सन्तोष पौडेल, #राष्ट्रिय ट्रमा सेन्टर


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ