२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १उपचारमा लागेको खर्च तिर्न नसक्दा गोल्डेन अस्पतालले शव लैजान दिएन

उपचारमा लागेको खर्च तिर्न नसक्दा गोल्डेन अस्पतालले शव लैजान दिएन

शव छुटाउन चन्दा संकलन गर्दै गाउँले


विराटनगर–उपचार गरेको शुल्क तिर्न नसकेपछि विराटनगरस्थित गोल्डेन अस्पतालले मोरङको एक जना वृद्धा महिलाको शव रोकेर राखेको छ । बिहीबार विहान उपचारको क्रममा मृत्यु भएकी मोरङको कानेपोखरी गाउँपालिका–१ होक्लाबारीकी ७० वर्षीया सानमाया मगरको शव अस्पतालले तोकेको रुपैयाँ बुझाउन नसक्दा शव लैजान नदिएको मृतकका आफन्तको गुनासो छ ।

गोल्डेनमा आठ दिन उपचार गरेको मगर परिवारले १ लाख ७८ हजार रुपैयाँमध्ये अस्पतालले १ लाख ५० हजार रुपैयाँ बुझाउन भनेको छ । आर्थिक अवस्था नाजुक भएको मगर परिवारमा उपचार खर्च तिर्न नसक्दा वृद्ध महिलाको शव अस्पतालमै रहेकोले आफन्तले अन्तिम संस्कार गर्न पाएका छैनन् ।

अस्पतालले भनेजति पैसा तिर्न नसकेपछि गोल्डेन अस्पतालले शव लैजान नदिएको मृतकका छिमेकी विनोद माझीले बताए । पेट दुख्ने समस्या भएपछि गत बुधबार मगरलाई गोल्डन अस्पताल ल्याइएको थियो । उनलाई लिएर श्रीमान ८० वर्षीय बलबहादुर मगर आएका छन् । ग्रामीण बस्तीमा बस्दै आएका मृतक र उनका श्रीमान दैनिक ज्याला मजदुरी गरेर गुजारा चलाउने गर्दछन् ।

‘आर्थिक अवस्था नाजुक भएका वृद्धा दम्पती हुन् । अस्पताल आउँदा प्रराम्भिक चरणमा १७ हजार रुपैयाँ बुझाएका रहेछन्,’ छिमेकी माझीले भने, ‘अहिले उहाँहरूसँग पैसा पनि छैन । हामीले चन्दा संकलन गरेर ७०–८० हजार रुपैयाँ जम्मा गरेका छौं । चन्दा संकलन गरेर १ लाख रुपैयाँ अस्पताललाई बुझाउने भन्दा पनि हस्पिटलले मानिरहेको छैन ।’ अस्पतालले १ लाख ५० हजार दिनुपर्ने अडान कायम गरेको उनले बताए । ‘ शव लैजान हामीले पनि चन्दा संकलन गरेका थियौ । उठेको जति पैसा दिएर अन्तिम संस्कार गर्न शव लैजान्छौं भन्दा अहिले हस्पिटल शव लैजान दिइरहेको छैन,’ उनले भने । गोल्डेनले वृद्धा महिलाको शव बन्धक बनाएर राखेको उनको भनाइ छ ।

मृतकका श्रीमान बलबहादुर मगरले पैसा तिर्नसक्ने क्षमता आपूmहरुको नभएको र शव लैजान अस्पतालले नदिँदा श्रीमतीको अन्तिम संस्कार गर्न नपाएको गुनासो गरे । उनले गोल्डेन अस्पतालमा भौतारिदै आफूसँग उपचार शुल्क तिर्नसक्ने अवस्था नभएकोले शव लैजान दिन गोल्डेन अस्पताल प्रशासनसँग हारगुहार गरिररहेका छन् ।

गोल्डेन अस्पतालका प्रशासकीय अधिकृत सन्तोष मेहताले २८ हजारभन्दा बढी छुट गरिदिइसकेकोले यसभन्दा बढी छुट दिन सक्ने अवस्था नरहेको बताए । ‘हाम्रो पनि धेरै खर्च हुने गरेको छ,’ उनले भने, ‘विपन्न भएर हामीले दिनसक्ने छुट दिएका छौं । यो भन्दा बढी छुट दिनसक्ने अवस्था छैन ।’


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ