२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १नोबेलमा पहिलो पटक मिर्गौला प्रत्यारोपण

नोबेलमा पहिलो पटक मिर्गौला प्रत्यारोपण


विराटनगर–विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले पहिलो पटक प्रदेश नं. १ मा मिर्गौला प्रत्यारोपण सेवा सुरु गरेको छ । श्रीमतीको मिर्गौला श्रीमानको शरीरमा सफलतापूर्वक प्रत्यारोपण गरेर नोबेलले यो सेवा सुरु गरेको हो ।

सुनसरीको धरान–६ का ३३ वर्षीय टेकनाथ भुर्तेलको शरीरमा उनकी श्रीमती ३३ वर्षीया नन्दकुमारीको मिर्गौला सफलतापूर्वक प्रत्यारोपण गरिएको नोबेल अस्पतालका सञ्चालक डा.सुनिल शर्माले जानकारी दिए । ‘नोबेलमा सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरिएको छ,’ डा.शर्माले भने, ‘प्रदेश नं.१ मै पहिलो पटक नोबेलले मिर्गौला प्रत्यारोपण थालेको हो । अब, नियमित रुपमा मिर्गौला प्रत्यारोपण सेवा सञ्चालन गछौं ।’

अहिले संघीय राजधानीमा र चितवनमा मिर्गौला प्रत्यारोपण सेवा उपलब्ध छ । पूर्वी नेपालमा पहिलो पटक नोबेलमा यो सेवा सुरु भएको हो ।

नोबेलका मिर्गौला रोग विशेषज्ञ तथा मिर्गौला प्रत्यारोपण फिजिसियन डा.शैलेन्द्र श्रेष्ठ र यूरोलोजिष्ट तथा मिर्गौला प्रत्यारोपण शल्य चिकित्सक डा.रामसागर शाहको नेतृत्वमा यो सेवा सुरु गरिएको हो । नोबेलका मिर्गौला प्रत्यारोपण शल्य चिकित्सक डा. शाहसहितको टिमले गत शनिबार भुर्तेलको शरीरमा सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरेको हो । मिर्गौला प्रत्यारोपणका लागि सहिद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रका निर्देशक प्रा. डा.प्रेम ज्ञवाली, डा.दिपेश श्रेष्ठ, एनेस्थेसियोलोजिष्ट डा. अर्चन अधिकारीसहितको टिमले सहयोग गरेको थियो ।

ल्याप्रोस्कोपिक बिधिबाट नन्दकुमारीको बायाँ मिर्गौला निकालेर श्रीमानको पेट चिरेर दायाँतर्फ राखिएको डा. शाहले जानकारी दिए । ‘मिर्गौला प्रत्यारोपण थालेको पहिलो पटक नै नेपालका कुनै पनि अस्पतालले ल्याप्रोस्कोपिक विधिबाट मिर्गौला निकालेर प्रत्यारोपण गरेका छैनन् । हामीले पहिलो पटक नै ल्याप्रोस्कोपिक विधि प्रयोग ग¥यौं,’ उनले भने ।

दुई वर्ष अघिदेखि दुवै मिर्गौला ‘फेल’ भएपछि टेकनाथ नियमित डाइलाइसिस गराउँदै आएका थिए । मिर्गौला प्रत्यारोपणपछि अहिले श्रीमान–श्रीमती दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको मिर्गौला प्रत्यारोपण फिजिसियन डा.श्रेष्ठ बताउँछन् । उनले भने, ‘मिर्गौला प्रत्यारोपण सफल भएपछि उहाँले डाइलाइसिस गरिरहनु पर्दैन । सामान्य दैनिकीमा फर्कनुहुन्छ, औषधि भने खाइरहनुपर्छ ।’

नोबेल अस्पतालका निर्देशक डा. राजेश नेपालका अनुसार मिर्गौला प्रत्यारोपण सेवा सञ्चालनका लागि अनुमति माग गर्दै नोबेलले २०७६ भदौ महिनामा दरखास्त दिएको थियो । स्वास्थ्य मन्त्रालयको अंग प्रत्यारोपण समन्वय समितिको गत साउन १ गतेको निर्णय बमोजिम नोबेललाई मिर्गौला प्रत्यारोपणका लागि अनुमति दिइएको हो । दुवै मिर्गौला पूर्ण रुपमा ‘फेल’ भएका बिरामीहरुलाई मिर्गौला प्रत्यारोपण गर्ने गरिन्छ । नोबेलले यो सेवा सुरु गरेपछि पूर्वी नेपालका मिर्गौला बिग्रिएका बिरामीहरुलाई सहज भएको छ ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ