२०८१ असार ७, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १कोशीको अक्सिजन प्लान्ट उद्घाटन, पूर्ण क्षमतामा संचालनमा

कोशीको अक्सिजन प्लान्ट उद्घाटन, पूर्ण क्षमतामा संचालनमा


विराटनगर-विराटनगरस्थित कोशी अस्पतालमा नवनिर्मित अक्सिजन प्लान्टको उद्घाटन गरिएको छ । शुक्रबार एक कार्यक्रम आयोजना गरि अक्सिजन प्लान्टको उद्घाटन गरिएको हो ।

प्लान्टको उद्घाटन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले गरेका थिए । अमेरिकामा रहेका नेपाली चिकित्सकहरूको संस्था अमेरिका नेपाल मेडिकल फाउन्डेसनको १ करोड ७ लाख रुपैयाँ सहयोगमा कोशी अस्पताल परिसरभित्र अक्सिजन प्लान्ट निर्माण भएको हो ।

उद्घाटन गरिएको अक्सिजन प्लान्ट सहयोग गर्ने अमेरिका नेपाल मेडिकल फाउन्डेसनका अध्यक्ष प्रा डा. भुपेन्द्र बस्नेतले मन्त्रालयका सचिव डा. रोशन पोखरेललाई कोशी अस्पतालका मेसु डा. चुमनलाल दासलाई हस्तान्तरण गरेका थिए ।

कोशीमा जडान भएको अक्सिजन प्लान्ट पिएसएस सिस्टमको रहेको छ । मेसिन चलुन्जेल अक्सिजन उत्पादन हुनेछ । प्लान्टदेखि उत्पादन भएको अक्सिजन सिधै अस्पतालको बेडसम्म पुग्ने गरेको छ । अहिले दैनिक १ सय सिलिण्डर उत्पादन हुने गरेको छ । प्लान्टको उद्घाटनपछि अहिले अक्सिजनको उत्पादन पूर्ण क्षमतामा संचालनमा आएको अमेरिका नेपाल मेडिकल फाउण्डेशन नेपालका अध्यक्ष तथा वीर अस्पतालका प्रमुख कार्यकारी अधिकारी प्रा.डा. भुपेन्द्र बस्नेतले जानकारी दिए ।

एउटा सिलिण्डर ४८ केजीको हुन्छ । अक्सिजन प्लान्टदेखि उत्पादन भएको अक्सिजन मेन लाइनमा जडान गरिएको कोशी अस्पतालका सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले जानकारी दिए । अक्सिजन प्लान्टदेखि आएको अक्सिजन अस्पतालको आकस्मिक कक्षदेखि पूर्व पट्टी रहेको मुख्य लाइनमा आएर होल्ड हुने व्यवस्था मिलाएको छ ।

त्यसपछि आकस्मिक, अर्थो, कोभिड वार्ड, आईसीयु, मेडिकल र जनरल वार्डमा अक्सिजन जाने सिस्टमको विकास गरिएको मेसु दासले जानकारी दिए । अक्सिजन प्लान्ट संचालनमा आएपछि कोशी अस्पताललाई धेरै राहत हुने उनले बताए । कोशीमा अक्सिजन आवश्यक पर्ने बिरामीको चाप र मात्र हेरेर खपत हुने गर्दछ ।

‘दोस्रो लहरमा फैलिएको कोभिड–१९ को बेलामा दैनिक ४ सय सिलिण्डर पनि खपत भएको थियो । अहिले पनि कोभिडका १८ देखि २० जना बिरामी छन् । अहिले दैनिक १ सय ५० देखि २ सय सिलेण्डर अक्सिजन आवश्यक पर्ने गरेको छ,’ मेसु दासले भने ।

कोशी अस्पताल निकट भविष्यमा ५ सय शैय्याको अस्पताल बन्दैछ । ‘अहिले उत्पादन भएको अक्सिजनले भरथेग गरेर पुग्नेछ,’ मेसु दासले भने, ‘अहिले कोशी भित्र उत्पादन भएको अक्सिजनले हामीलाई धेरै राहत मिलेको छ ।’ कोशीको प्लान्टदेखि अक्सिजन उत्पादन भएपछि सिलिण्डर बोकेर निजी उद्योगमा जानुपर्ने समस्या पनि अन्त्य हुने उनले बताए । अहिले अस्पतालले निजी उद्योगसँग सम्झौता गरी अक्सिजन खरिद गर्दै आएको छ । नेपाल मेडिकल एसोसिएसनको समन्वयमा सूची फाउण्डेसनले पनि अर्को कोशीमा अक्सिजन प्लान्ट जडान गरिदिने जानकारी आएको उनले बताए । त्यसपछि अस्पतालमा अक्सिजनको सहज हुने मेसु दासको भनाइ छ ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ