२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचार‘हामीले आफ्नै साधन-स्रोतमा १५ शैय्याको अस्पताल सञ्चालनमा ल्याएका छौं’

‘हामीले आफ्नै साधन-स्रोतमा १५ शैय्याको अस्पताल सञ्चालनमा ल्याएका छौं’


लोकबहादुर बोहरा अछामको मेल्लेख गाउँपालिकाका अध्यक्ष हुन् । अछामका सबै पालिकाहरुमध्येमा मेल्लेख गाउँपालिका उत्कृष्ट काम गरेको पालिका भनेर चिनिन्छ । देशभरका धेरै पालिकाहरुमा सरकारले निर्माण गर्ने भनेका ५, १० र १५ शैय्या अस्पतालहरु बनाउने योजना अलपत्र परेको छ । तर, युवा जोश भएका बोहराले पालिकाकै साधन—स्रोतमा अस्पताल निर्माण गरेर आफ्नो नेतृत्व क्षमता प्रदर्शन गरेका छन् । यतिमात्रै होइन्, चिकित्सक नै जान नरुचाउने मेल्लेखमा गाउँपालिकाकै स्रोत—साधनमा एमबीबीएस चिकित्सक र नर्सहरुको व्यवस्था उक्त अस्पतालमा गरेका छन् । अध्यक्ष बोहरासँग गाउँपालिकाको स्वास्थ्य अवस्था र उनका योजनामा केन्द्रीत रहेर हेल्थआवाजले गरेको कुराकानीः

मेल्लेख गाउँपालिकाको स्वास्थ्य अवस्था कस्तो छ ?
मेल्लेख गाउँपालिकाको स्वास्थ्य अवस्थालाई हेर्ने हो भने हामी आउनुभन्दा अगाडि स्वास्थ्य संस्था नभएको वडामा स्वास्थ्य संस्था संचालन गरेका छौं । ४ वर्षको उपलब्धिको रुपमा हामीले के लिएका छौँ भने संघीय सरकारमार्फत एक पालिकामा १५ शैय्याको अस्पताल संचालन गर्ने भनेर भन्नुअगावै हामीले आफ्नो अवधारणा राखेर १५ शैय्या अस्पताल संचालन गर्नुपर्छ भनेर बजेट विनिजियोन गरिसकेको थियो । सोअनुसार अहिले संचालनमा ल्याइसकेका छौं ।

स्वास्थ्यका सन्दर्भमा आफ्नै कार्यवहालमा नगरपालिकाकै स्रोत र साधनमा अस्पताल निर्माण गर्न सफल भएको नै मुख्य सफलता मानेको छु । वडा नम्बर ५ मा सो अस्पतालको संचालन भएको हो । यसबाहेक मेल्लेख गाउँपालिकामा अहिले ७ वटा स्वास्थ्य चौकी, २१ वटा गाउँघर क्लिनिक, २२ वटा खोप सेन्टर, माइक्रोस्कोपी सेन्टर २ वटा र डटस सेन्टर ७ वटा रहेका छन् । यी सेन्टरहरुमार्फत जनतालाई सेवा दिइरहेका छौं । पालिकामा आफ्नै फार्मेसी पनि राख्ने तयारी रहेको छ । भविष्यमा आउन सक्ने सम्भावित महामारीलाई मध्यनजर गर्दै गाउँपालिकामा ८ वटा आइसोलेसन केन्द्र बनाएका छौं ।

जनशक्तिको व्यवस्थापन कसरी भइरहेको छ ?
१५ शैय्याको अस्पतालमा लागि एमबीबीएस डाक्टरसहितको सेवा दिने अछाममा मेल्लेख गाउँपालिका मात्रै होला । सरकारले कोभिड महामारी आएपछि प्रत्येक ५ लाखको व्यवस्थापन र ५ लाख जनशक्तिलाई भनेर बजेट विनियोजन गरिएको थियो । सुरुवात गरेको पहिलो चरणमै धेरै चुनौती रहेको पायौं । किनकी पहिलो र दोस्रोपटक विज्ञापन गर्दा पनि कुनै पनि एमबीबीएसको डाक्टर जान चाहेनन् । त्यसपछि गाउपालिकाले नै एमबीबीएस डाक्टर र दुई स्टाफ नर्स हायर गरेका हौं । पालिकाको बजेटबाटै हामीले यो जनशक्ति परिचालन गरिरहेका छौं ।

अहिले मेल्लेख गाउँपालिकामा ५९ जना स्वास्थ्यको जनशक्ति कार्यरत रहेको छ । जसमा हे.अ.२ जना, स्टाफ नर्स २ जना, सि÷अहेब १६ जना, सि/अनमी १९ जना, ल्याट.टे./ल्या.अ. २ जना, का.स. ७ जना र अन्य १० जना जनशक्ति स्वास्थ्य सेवाका लागि कार्यरत छ । हामीले स्वास्थ्यकर्मीका लागि विभिन्न तालिमहरुको समेत व्यवस्था गरिरहेका छौं ।

एमबीबीएस चिकित्सक जान नचाहेको कुरा गर्नुभयो । कारण के हो ?
यो समस्या यहाँको मात्र होइन् । नेपालको धेरै अविकसित र दुर्गम क्षेत्रमा चिकित्सक काम गर्न चाहदैनन् । सायद सेवासुविधा र उपकरणहरुको अपर्याप्तताले पनि हुन सक्छ ।

हाम्रो गाउँपालिकामा प्रयोगशालामा इसिजी, भिडियो एक्स–रे लगायतका परीक्षण सेवाहरु पनि छन् । सम्भव भएसम्म आफ्नो कार्यकाालमै सामान्य सर्जरीको पनि सेवा दिएर जाने लक्ष्य हो । यसअघि अपांगता भएका बालबालिकाका लागि पनि उपचार हुनुपर्छ भनेर हामीले काभ्रेको बनेपामा रहेको बिकलांग भन्ने संस्थासँग समन्वय गरेर दुई ठाउँमा स्वास्थ्य शिविर आयोजना गरेका थियौं । जसमा केहीलाई छनौट गरेर सिधै ल्याएर उपचार गरि पठाएका छौं । छुटेकालाई पनि उपचार गरेर पठाउने योजना छ ।

‘एक विद्यालय, एक नर्स’को व्यवस्था गर्ने भन्ने छ त्यसका लागि गाउँपालिकाले कस्तो तयारी गरेको छ ?
नेपाल सरकारले हाम्रो गाउँपालिकामा स्रोतसहित दिने सुनिश्चित भएको छ । हाम्रो पालिकामा भएको ९ वटा माविमध्ये केही विद्यालयमा पालिकाले पनि नर्सलाई लिएर विद्यार्थीहरुको स्वास्थ्य सेवा सम्बन्धि निरिक्षण गराउने छौं । यसको लागि बजेट विनियोजन पनि भएको छ ।

साताको २ दिन चाहिँ स्वास्थ्य सम्बन्धि कक्षा यस वर्षबाट सुरु गर्नेकी भन्ने पनि योजना छ । गत वर्ष हामीले हरेक नागरिकको आँखा स्वास्थ्यका लागि आँखा शिविर पनि एक संस्थासँग समन्वय गरेर संचालन गरेका थियौं । जसमा केही वृद्धवृद्धालाई चस्मा पनि वितरण गरेका थियौं । केही समयपछि पनि अन्य स्वास्थ्य सम्बन्धि शिविर गर्ने योजना छ ।

यस्तै, हामीले ‘अध्यक्षसँग डाक्टर’ भन्ने कार्यक्रम राखेका थियौं । त्यसमा प्रत्येक टोल–टोलमा गएर बिरामी जाँच गर्ने कार्यक्रम हो । यसरी हामीले स्वास्थ्य सेवा विस्तार गरिरहेका छौं । केही ठाउँमा ल्याबको पनि विस्तार गरेका छौं ।

एमबीबीएस अध्ययनका लागि लागि जेहेन्दार तथा विपन्न विद्यार्थीहरुका लागि गाउँपालिका केही सहुलियत दिने गरेको छ ?
एमबीबीएसका लागि यस वर्षको बजेटमा पनि राखी सकिएको छ । गाउँपालिकाकाका जो एमबीबीएस पढ्न चाहन्छन्, उनीहरुलाई गाउँपालिका सहयोग गर्छ । हामीले कार्यविधि तयार पार्दैछौं । त्यसका लागि पालिकाले पनि केही शर्त राखेको छ । त्यो मान्नेले अवसर पाउने हो । दुई जना इच्छुकले पनि यसको लागि आवेदन दिएका छन् । त्यसबाहेक उच्चशिक्षा प्रदान होस् भनेर लक्षित वर्गका लागि पनि हामीले बजेट छुट्याएका छौं ।

अरु स्वास्थ्य कार्यक्रमहरुको अवस्था के छ ?
नियमित हुने कामहरु मापदण्डअनुसार चलिरहेका छन् । तर, हामीले यसभन्दा भिन्न गर्न खोजेका कामहरु छन् । प्रत्येक वडामा स्वास्थ्य सम्बन्धि चेकजाँच गर्ने गरिरहेका छौं । तर, जति सोचिएको छ त्यो स्रोत र साधनले सम्भव त छैन । यसलाई फरक ढंगले लिएर जान्छौं ।
बयलपाटा अस्पतालमा पाउने सुविधा नै गाउँपालिकाको १५ शैय्याको अस्पतालबाटैै दिने उद्देश्यले मौखिक रुपमा सहमति भैसकेको छ । हामीले सबैभन्दा सस्तो एम्बुलेन्स सेवा नागरिकलाई दिएका छौं । यो नाफामुखी हैन सेवामुखी हो भनेर सस्तोमा व्यवस्था मिलाएका छौं । गर्भवती र गम्भीर केस बिरामीलाई त हामीले निःशुल्क एम्बुलेन्स सेवा दिएका छौं । हामी सिक्ने क्रममा छौं, सिक्दासिक्दै परिपक्व हुने हो ।

न्याय हेल्थको सहयोगमा हामीले कुन–कुन घरमा गर्भवती छ भनेर तथ्याङ्क राख्ने गरेका छौं । घरमा नै हामीले भिडियो एक्स–रेको सुविधा दिएका छौं । त्यसका लागि कर्मचारी परिचालन पनि वडाले नै गरेको छ ।

मेल्लेख गाउँपालिकाको स्वास्थ्यका चुनौती के छन् ?
स्वास्थ्य सम्बन्धि मुख्य समस्या रोग पत्ता लागेपछि पनि औषधी बिरामीले नलिनु हो । जस्तैः हेपोटाइटीस बी ले परिवारका अन्यलाई पनि सार्ने गर्छ । घरपरिवारबाट टाढा बस्नुहोस्, स्वास्थ्यमा ध्यान दिनुपर्छ भनेर स्वास्थ्यकर्मीले सूचना दिँदा पनि बिरामीलाई मानिरहेका हुँदैनन् । यसले यसको फैलावट बढ्ने गरेको छ ।

दीर्घ रोगका बिरामीलाई दिइएको औषधी एक महिना खान्छन् । त्यसपछि जागिरका लागि भारत जान्छन् । भारत जाँदा औषधीलाई नियमितता दिदैन्, छुट्ने समस्या हुन्छ । कोभिड खोप लगाउँदा पनि बिरामी हुने भ्रम थियो । अन्य भनेको सरुवा रोगको नियन्त्रणमा समस्या छ ।


क्याटेगोरी : समाचार
ट्याग : #अछाम, #मेल्लेख गाउँपालिका, #लोकबहादुर बोहरा


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ