२०८१ वैशाख ११, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारचिकित्सक र स्वास्थ्यकर्मीहरुको दसैँ

चिकित्सक र स्वास्थ्यकर्मीहरुको दसैँ


विराटनगर–यस वर्षको दसैं सुरु भइसकेको छ । दसैंमा कहाँ जाने ? समय कसरी बिताउने ? यो बेला धेरैको योजना बनिसकेको छ । तर, हाम्रो समाजमा केही यस्ता पात्रहरु पनि छन्, जसलाई न दसैंको उमंगले छुन्छ न अन्य चाडपर्वका उल्लासले नै । चिकित्सक, स्वास्थ्यकर्मी, प्रहरी, सेनालगायतका यस्ता पेशाकर्मी धेरै छन्, जसले आफ्नो दायित्व निर्वाहमै चाडपर्व बिताउनुपर्छ । दिनरात नभनी उनीहरु अहोरात्र ड्युटीमा खटिन्छन् ।

थोरै त्यस्ता भाग्यमानी चिकित्सकहरु पनि छन्, जसले घरमा आफ्ना अभिभावको हातबाट टिका लगाउने सौभाग्य पाउँछन् । धेरैले त डियुटीमै टीका लगाउँछन् र कार्यस्थलमै खुसी साट्दै दसैं खल्लो बन्न नदिने प्रयास गर्छन् । प्रदेश १ को राजधानी विराटनगरलाई कर्मक्षेत्र बनाए बिरामीको उपचारमा समर्पित चिकित्सकहरूको दशैंको योजना प्रस्तुत गरिएको छ ।

उपचारमै बित्छ दसैं ः डा. राजेश यादव

डा. राजेश यादव विराटनगरका चर्चित वरिष्ठ बाल रोग विशेषज्ञ चिकित्सक हुन् । यस वर्षको दशैं भित्रिएको छ । सोमबार फुलपातीको दिनमा पनि बिरामीको उपचारमा खटिएका डा. यादवले दशैं पनि बिरामीसँगै मनाउने सुनाए । विराटनगरको हस्पिटल चोकमा रहेको बालबालिका क्लिनिकमा कार्यरत उनले दसैंको टिकाको दिन पनि बिरामी हेरेर बित्ने गरेको सुनाए । ‘यस पटकको दसैं पनि बिरामीसँग खुसी साट्दै मनाइन्छ,’ उनले भने, ‘उपचार गर्न आएका बिरामीलाई छोडेर जाने कुरा पनि भएन । क्लिनिकमा आएका बिरामीलाई उपचार गर्दैमा दिन बित्छ ।’
दशैंको दिन टिका लगाएपछि पनि बिरामीको उपचारमा खटिने उनले बताए । बिरामीलाई छोडेर बाहिर घुम्ने जाने दसैंमा कुनै योजना नरहेको उनले बताए ।

परिवारसँग काठमाडौंमा दसैं ः मेसु डा. चुमनलाल दास

विराटनगरस्थित कोशी अस्पतालका मेडिकल सुपरिन्टेण्डेण्ट डा. चुमनलाल दासले बहिरंग सेवाबाहेक अन्य सेवा निरन्तर हुने भएकाले पालो मिलाएर दसैँ मनाउनुपर्ने बाध्यता चिकित्सक र स्वास्थ्यकर्मीलाई रहेको बताए । अत्यावश्यक सेवा रोक्न नमिल्ने हुँदा चिकित्सक, स्वास्थ्यकर्मी तयारी अवस्थामा रहनुपर्ने उनले बताए । ‘चाडपर्वमा स्वास्थ्यकर्मी र चित्सकहरू समय तालिका मिलाएको छ,’ उनले भने, ‘त्यहीअनुसार काम गर्नेछन् ।’

डा. दासले यस पटकको दसैं काठमाडौंमा मनाउने भएका छन् । ‘अहिले परिवार सबैजना काठमाडौंमा बसोवास गर्दै आएका छन् । काम विशेषले अहिले म विराटनगर । त्यही भएर दसैंमा काठमाडौं जाने तयारी गरेको छ,’ उनले भने, ‘यस पटकको दसैं परिवारसँग काठमाडौंमा मनाउनेछु ।’

बिरामीको हेरचारमै बित्छ दसैं ः डा. लक्ष्मीनारायण यादव

कोशी अस्पतालका फिजिसियन डा. लक्ष्मीनारायण यादवले दसैँ भनेर ढुक्कसँग बस्न नपाइने बताए । कोशी अस्पतालको कोभिड–१९ का बिरामी पनि हेर्दै आएका यादवले अस्पतालमा भएका बिरामीलाई उपचार गर्नैपर्ने र अत्यावश्यक सेवा रोक्न नहुने हुँदा कामसँगै दसैँमा रमाउनुपर्ने अवस्था रहेको बताए ।

‘कोशी कोभिडमा पनि बिरामी रहेका छन् । यस क्रममा पनि बिरामी आउने गर्दछन्,’ उनले भने, ‘त्यही भएर यस पटक हाम्रो दसैं बिरामीको हेरचारमा बित्नेछ ।’ चार्डपर्वमा पनि बिरामीको उपचार गरेर सेवा गर्न पाउँदा आत्म सन्तुष्टि मिल्ने उनले बताए । ‘दसैं भन्यो । तिहार भन्यो । तर, हामीलाई त ड्युटी गर्दागर्दै समय बितेको पत्तो नै हुँदैन्,’ उनले सुनाए ।

परिवारसँग दसैं ः डा. रोशन खड्का
विराटनगरस्थित कोशी अस्पतलामा कार्यरत फिजिसियन डा. रोशन खड्काले दसैंको विदा लिएका छन् । डा. खड्काको यस पटकको दसैं आफ्नो परिवारसँग मनाउने तयारी गरेका छन् ।

‘दसैंको लागि त्यस्तो योजना नभएपछि पनि घर परिवारसँगै मनाउछु । घरमा आफ्नो अभिभावकबाट टीका थाप्छु । हल्ला खानपिन र रमाइलो गरी दुर्गा पूजा र ठूलाको हातबाट टीका थाप्ने कुरो दसैँको मनपर्ने पक्ष हो । दसैँ आफ्नो गच्छेअनुसार मनाउन र कोभिड–१९ ले गर्दा पनि स्वास्थ्य मापदण्डको पालना गरेर सर्तक रहन सबैमा अनुरोध गर्दछु’, उनले भने ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ