२०८१ असार ३०, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारलागूऔषधको कारोबारमा दम्पती, यस्तो छ प्रतिवन्धित औषधी फैलाउनेको सञ्जाल

लागूऔषधको कारोबारमा दम्पती, यस्तो छ प्रतिवन्धित औषधी फैलाउनेको सञ्जाल


विराटनगर – इजाजतको विना औषधीको चरम दुरूपयोग गर्दै लागूऔषध बनाएर प्रदेश १ को पूर्वी शहरमा विक्रीवितरण गर्ने गिरोहको सञ्जाल सक्रिय रहेको पाइएको छ । भारतदेखि तस्करी गरि प्रतिवन्धित औषधी सुनसरीको धरानमा ल्याउने र उक्त औषधीलाई मिश्रण गरी लागूऔषध बनाएर युवापुस्ताहरूलाई विक्री-वितरण गर्ने गिरोहको सञ्जाल ठूलो रहेको पाइएको हो ।

यसरी धरानमा बसेर प्रतिवन्धित औषधीलाई लागूऔषध बनाएर विक्री-वितरण गर्ने गिरोहका नाइके धरान उपमहानगरपालिका ५ बगरकोटका २४ वर्षीय अनम राई पक्राउ गरेपछि यस्तो रहस्य बाहिर आएको छ । राईलाई पक्राउ गरी औषधी व्यवस्था विभाग विराटनगरले अहिले अदालतमा म्याद थप गरि अनुसन्धान गर्दै आएको छ ।

राइले धरानको बगरकोटमा बसेर तीन वटा प्रतिवन्धित औषधी डाइसाइक्लोमाइन, ट्रामाडोल र स्पासपेन मिसाएर लागूऔषध बनाएर बिक्री गर्ने गरेको प्रराम्भिक चरणको अनुसन्धानदेखि खुलेको औषधी व्यवस्था विभाग विराटनगरका निम्ति कार्यालय प्रमुख सन्जिव शर्मा कट्टेलले जानकारी दिए ।

यी तीनवटा औषधी मिलाएर लागूऔषधको रूपमा सेवन गर्दछन् । क्यान्सरको समस्या भएकालाई दुखाइ कम गर्न प्रयोग गरिने ट्रामाडोलले अरु औषधीसँग मिसाएर सेवन गर्दा लागुऔषधको काम गर्ने उनको भनाइ छ । त्यही भएर अवैधरुपमा भित्रिने यसको कारोबार पछिल्लो समय फस्टाएर गइरहेको छ । ट्रामाडोल क्यान्सरका बिरामीले दुखाइ कम गर्न र डाइसाइक्लोमाइन औषधी दुखाइ कम गर्न बिरामीले सेवन गर्ने गरेको विभागले जनाएको छ ।

‘प्रतिवन्धित औषधीहरू भारतदेखि भित्र्याएपछि धरानको बगरकोटमा राईले आफ्नो घरमा ल्याएर राख्ने गरेका छन् । अवैध रूपमा ल्याएको औषधीको चरम दुरूपयोग गर्दै उनले दुव्यर्सेनीमा लागेका युवाहरूलाई डाइसाइक्लोमाइन, ट्रामाडोल र स्पासपेन मिसाएर लागूऔषध बनाएर बिक्री गरेको पाइयो,’ उनले भने । यसरी औषधीलाई लागूऔषध बनाएर विक्री-वितरणमा सहयोग उनकी श्रीमती मनिषा राईले पनि गरेको खुलेको छ ।

यसअघि राईकी श्रीमती मनिषालाई पनि गत वर्ष २ असारमा प्रहरीले प्रतिबन्धित औषधीको विक्री-वितरण गरेको आरोपमा पक्राउ परिसकेकी थिइन् । त्यसबेला उनको श्रीमान अनम फरार थिए । फरार राईको खोजी कार्यमा प्रहरी सक्रिय भएर लागि परेको थियो । एक साता अगाडी धरानको बगरकोटमा आफ्नै घरमा प्रतिवन्धित औषधी मिसाएर लागूऔषध बनाएर विक्री गर्दै गरेको अवस्थामा प्रहरीले राईलाई पक्राउ गरेको हो । राईको घरदेखि प्रहरीले ८ हजार ८ सय ५० क्यापसुल औषधी बरामद गरेको थियो ।

बरामद गरेको औषधीहरू राईले भारतमा २० देखि ३० रुपैयाँ पत्ता खरिद गरेर ल्याउने गरेको अनुसन्धानदेखि खुलेको छ । ‘प्रतिवन्धित औषधी धरानमा ल्याएपछि ट्रामाडोल र स्पासपेन मिलाएर लागूऔषध बनाएर ५ देखि ७ सय रूपैयाँसम्म विक्री वितरण गर्ने गरेको प्रराम्भिक चरणको अनुसन्धानदेखि खुलेको छ ,’ कार्यालय प्रमुख कट्टेलले भने ।

राईले प्रतिबन्धित औषधीलाई लागूऔषध बनाएर धरान, इटहरीसहित पूर्वी सहर मोरङको केराबारी, उर्लाबारी, मधुमल्ला, पथरी, बेलबारीलगायतको सहरमा विक्री-वितरण गर्दै आएका थिए । राईले २० देखि ३० हजार रुपैयाँको प्रतिवन्धित औषधी भारतमा खरिद गरेर धरानमा ल्याएर उक्त औषधी लागूऔषध बनाएर ८ देखि १० लाख रुपैयाँसम्म विक्री गरेको बयानको क्रममा स्वीकार गरेका छन् ।

‘औषधीलाई लागूऔषध बनाएर पूर्वी सहरमा पु¥याउन सिटी रिक्सा र चालकहरू प्रयोग गर्ने गरेको पाइएको छ । चालक प्रयोग गर्दा प्रहरी र नियमक निकायको ध्यान नजाने भएकोले प्रतिवन्धित औषधीको कारोबार गर्ने गिरोहले निक्कै चलाखी गरेको पाइएको छ,’ उनले भने ।

डाइसाइक्लोमाइन, ट्रामाडोल र स्पासपेन मिसाएर लागूऔषधको रुपमा सेवन गर्दा शारिर र मानसिक रुपमा असर गर्नुको साथै स्मरण शक्तिमा ह्रास आउने औषधी व्यवस्था विभागका प्रमुख कट्टेलले बताए । पक्राउ परेका राईलाई विभागले बिना इजाजतको नियन्त्रीत औषधीको ओसार पोसार, बेचबिखन, अनुचीत प्रयोग तथा दुरुपयोग मुद्दामा म्याद थप गरि अनुसन्धान सुरू गरेको विभागले जनाएको छ ।

यसअघि पनि सुनसरीको एक दम्पत्ति औषधी व्यवस्था विभागमा दर्ता नभएको प्रतिबन्धित औषधीको विक्री-वितरण गरेको आरोपमा पक्राउ परेका थिए । सुनसरी प्रहरीले प्रतिवन्धित औषधीको कारोबार गरेको आरोपमा धरान – ९ कि ३० वर्षीया आस्मा खातुनलाई पक्राउ गरेको थियो । खातुनले श्रीमान मुन्ना खानसँग मिलेर प्रतिबन्धित औषधीको कारोबार चलाउने गरेका थिए ।

यसरी प्रतिवन्धित औषधीको दुरूपयोग गर्दै लागूऔषध प्रयोगकर्ताहरूलाई विक्री-वितरण कमाउधन्दामा लागेका केही फार्मेसी संचालकहरूले पनि विक्रीवितरण गर्ने गरेका थिए । केही फार्मेसी संचालकहरूले औषधीको अनुचित प्रयोग गरी लागूऔषध दुर्व्यसनीहरूलाई बेच्ने गरेको विभागले जनाएको छ ।

यस्तो बदमासी सुनसरी, उदयपुर, झापा र मोरङमा अधिक हुने गरेको पाइएको छ । औषधी व्यवस्था विभागले पछिल्लो समय जनगुनासो र प्राप्त सुचनाको आधारमा अनुगमन गर्ने क्रममा औषधीको चरम दुरूपयोग गर्ने गरेको फेला पारेको छ ।

धरानबाट मात्र औषधी व्यवस्था विभागले प्रतिवन्धित औषधीको विक्री-वितरण गर्ने १५ जनालाई पक्राउ गरि औषधी ऐन अनुसार अदालतमा मुद्दा चलाएर कारबाहीको दायारामा ल्याइसकेको विभागका प्रमुख कट्टेलले जानकारी दिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ