२०८१ वैशाख २०, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १चिकित्सकको २ करोड बढी तलब नदिएरै संजीवनी हस्पिटल बन्द

चिकित्सकको २ करोड बढी तलब नदिएरै संजीवनी हस्पिटल बन्द

एक चिकित्सककै १० लाखदेखि ७० लाखसम्म पारिश्रमिक दिन बाँकी


सम्पूर्ण चिकित्सकलाई काम नगर्न चिकित्सक संघको आग्रह

विराटनगर–आर्थिक संकटमा परेको विराटनगरको हस्पिटल चौकस्थित संजीवनी हस्पिटल एण्ड आइभिएफ सेन्टर प्रालिले चिकित्सक र स्वास्थ्यकर्मीहरुको दुई करोड रुपैयाँभन्दा बढी पारिश्रमिक नदिएर अस्पताल नै बन्द गरेको छ । चार जना चिकित्सकसहित १२ जनाको लगानी रहेको संजीवनीमा चरम आर्थिक संकटमा परेपछि एक साता अगाडिबाट हस्पिटल बन्द भएको हो ।

अस्पतालमा कार्यरत पाँच जना विशेषज्ञ चिकित्सक र पाँच जना मेडिकल अफिसरसहित दुई दर्जन बढी कर्मचारीले पाउनुपर्ने तलब भुक्तानी नगरेरै संचालकहरुले हस्पिटल बन्द गरेका हुन् । हस्पिटलमा कार्यरत पाँच जना डाक्टरले तीन वर्षदेखि तलब पाएका छैनन् भने ९ जना चिकित्सक र स्वास्थ्यकर्मीहरुले गत भदौदेखि तलब नपाएको गुनासो गरेका छन् ।

एक जना चिकित्सकले १० लाखदेखि ७० लाख रुपैयाँसम्म संजीवनी हस्पिटलबाट पारिश्रमिक पाउनुपर्ने छ । हस्पिटलले चिकित्सकको मात्र २ करोड रुपैयाँ तलब दिन बाँकी रहेको चिकित्सकहरुको भनाइ छ ।

हस्पिटलले पारिश्रमिक नदिएपछि कार्यरत चिकित्सकहरूले नेपाल चिकित्सक संघ कोशीमा १९ पुसमा निवेदन दिएका थिए । उनीहरूले लामो समयदेखि संजीवनी हस्पिटलमा काम गरेवापतको पारिश्रमिक नपाएको र तलब माग गर्दा पनि कुनै सुनवाई नभएको भन्दै संघमा निवेदन दिएका थिए ।

‘हामीले काम गरेको पारिश्रमिक मागेको वर्षौ भइसक्यो । काम गरेको तलब माग्दा आज दिन्छौं, भोलि दिन्छौं भनेर टार्ने मात्र काम भयो । पाउनुपर्ने पारिश्रमिक अहिलेसम्म दिएको छैन । हाम्रो माग सुनवाई नभएपछि हामी आवद्ध संघमा पाउनुपर्ने तलब दिलाइदिन हामीले संयुक्त रुपमा निवेदन हालेका हौं,’ एक चिकित्सकले भने ।

हस्पिटलको संचालकहरुमा विनायक पन्त, राजेश प्रसाईं, ओम प्रसाईं, राजकुमार मण्डल, विजय मण्डल, सुरेन्द्र रोय, डा. प्रेरणा दाहाल, डा. अन्जु देव, डा. पवन पराजुली, डा. वरुण देवलगायत रहेका छन् ।

हस्पिटलका अध्यक्ष राजकुमार मण्डल रहेका छन् । चिकित्सकहरुले तलब नपाएको विषयमा बुझ्न खोज्दा अध्यक्ष मण्डल सम्पर्कमा आउन चाहेनन् ।

चिकित्सकलाई हस्पिटलमा काम नगर्न संघको आग्रह

चिकित्सक र स्वास्थ्यकर्मीहरुले काम गरेबापतको तलब नदिने संजीवनी हस्पिटलमा काम नगर्न नेपाल चिकित्सक संघ कोशीले सम्पूर्ण चिकित्सक र स्वास्थ्यकर्मीलाई आग्रह गरेको छ । लामो समयदेखि काम गर्दै आएका चिकित्सक र स्वास्थ्यकर्मीले पाउनुपर्ने सम्पूर्ण तलब नदिएसम्म कुनै पनि चिकित्सक र स्वास्थ्यकर्मीहरुलाई काम गर्न संघले सूचना जारी गरेको हो ।

संघका अध्यक्ष डा. फरवार्ड सिलवाल र महासचिव डा. राजेन्द्र चौधरीले बुधबार उक्त सूचना जारी गरेका हुन् । ‘हस्पिटलले लामो समयसम्म चिकित्सकलाई काम गरेको तलब नदिँदा समस्यामा परेका छन् । तसर्थ हालसम्म कार्यरत चिकित्सकको भुक्तानी उक्त अस्पतालले नगर्दासम्म सो अस्पतालमा काम कारवाही नगर्न सम्पूर्ण चिकित्सकहरुमा अनुरोध गरिन्छ । यस सूचना प्रकाशित भए पश्चात उक्त अस्पतालमा काम गरी समस्या उत्पन्न भएको अवस्थामा यस संघ जवाफदेही नहुने समेत सूचित गरिन्छ,’ जारी सूचनामा उल्लेख छ ।


क्याटेगोरी : प्रदेश १, समाचार
ट्याग : #संजीवनी हस्पिटल


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ