काठमाडौं—कोभिड–१९ विरुद्धको खोप एक डोज लगाउनेमा सबैभन्दा बढी बाजुरा जिल्ला रहेको छ । बाजुरामा ७६.८ प्रतिशतले कम्तिमा १ डोज खोप लगाइसकेको रिपोर्टिङ स्वास्थ्य सेवा विभागलाई गरेको छ ।
सो जिल्लामा ४९.१ प्रतिशतले दुवै डोज खोप लगाइसकेका छन् । १८ वर्षमाथिका सतप्रतिशतले नै १ डोज खोप लगाएका छन् भने ७४.९ प्रतिशतले दुवै डोज लगाएका छन् । त्यसैगरी, १२ देखि १८ वर्षका ९९ प्रतिशतले १ डोज र ६४ प्रतिशतले दुवै डोज खोप लगाइसकेका छन् ।
खोप कभरेज राम्रो भएको अर्को जिल्लामा स्याङजा रहेको छ । सो जिल्लामा ७०.९ प्रतिशत एक डोज र ६४.७ प्रतिशतले दुवै डोज खोप लगाएका छन् । स्याङजापछि गोरखामा कम्तिमा एक डोज लगाउने ६९.४ प्रतिशत र दुवै डोज लगाउने ५८.१ प्रतिशत छन् । रसुवामा दुवै डोज लगाउने ६१.९ प्रतिशत र कम्तिमा एक डोज लगाउने ६९.३ प्रतिशत रहेका छन् ।
यसैगरी, काठमाडौं उपत्यकाको ललितपुरमा ६९.२ प्रतिशत एक डोज र ५५.७ प्रतिशतले दुवै डोज खोप लगाइसकेका छन् । पाल्पामा ६५.४ प्रतिशत एक डोज र ५२.९ प्रतिशतले दुवै डोज लगाएको विभागले जनाएको छ । काठमाडौं जिल्लामा ६४.९ प्रतिशतले एक डोज र ६०.३ प्रतिशतले दुवै डोज खोप लगाइसकेका छन् ।
लमजुङमा ६४.७ प्रतिशत एक डोज र ५५ प्रतिशतले दुवै डोज खोप पाएका छन् भने संखुवासभा ६४.२ प्रतिशतले एक डोज र ५१.१ प्रतिशतले दुवै डोज खोप लगाइसकेका छन् । नवलपरासी पश्चिमको तथ्यांक भने अचम्मलाग्दो छ त्यहाँ कम्तिमा एक डोज लगाउने ६२.१ प्रतिशत छन् २४.८ प्रतिशतले मात्र दुवै डोज खोप लगाएका छन् ।
ललितपुरमा १८ वर्षमाथिका नागरिकको अनुमान गरिएकोभन्दा पनि बढीले एक डोज खोप लगाएका छन् । त्यहाँ १०४ प्रतिशतले कम्तिमा एक डोज खोप लगाएका छन् । त्यसैगरी, हिमालपारीको जिल्ला मुस्ताङमा १८ वर्षमाथिका १११ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन् ।
सबैभन्दा कम एक डोज लगाउने जिल्लामा रौतहट रहेको छ । रौतहटमा ३५.१ प्रतिशतले मात्रै एक डोज लगाएका छन्, जहाँ दुवै डोज खोप लगाउने २६ प्रतिशत मात्रै छन् । प्रधानमन्त्रीको शेरबहादुर देउवाको जिल्ला डडेल्धुरा पनि खोप लगाउने प्रतिशतमा पछाडि छ । डडेल्धुरामा ३६.९ प्रतिशत एक डोज लगाएका छन् ।
एक डोज मात्रै खोप दिए पुग्ने जोनसोन एण्ड जोनसोनको २ हजार ६ सय ४ जनाले अतिरिक्त डोज पनि लगाएका छन् ।
अधिकांश खोपको कभरेज कम देखिएका जिल्लाहरुको समयमा रिपोर्टिङ नभएका कारण यस्तो तथ्यांक आएको परिवार कल्याण महाशाखाका निर्देशक डा.विवेकलाल बताउँछन् । ‘दुर्गमका अधिकांश ठाउँबाट नियमित रिपोर्टिङ भएको छैन,’ उनले भने, ‘त्यही भएर केही जिल्लाहरुमा खोपको कभरेज कम देखिएको छ ।’