२०८१ जेठ ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १फागुन २८ बाट मोरङमा हात्ती पाइले औषधी खुवाइने, लक्षित जनसंख्या १० लाख ७४ हजार

फागुन २८ बाट मोरङमा हात्ती पाइले औषधी खुवाइने, लक्षित जनसंख्या १० लाख ७४ हजार


विराटनगर– मोरङमा आगामी फागुन २८ गतेबाट ११ औं चरणको हात्तीपाइले विरुद्धको औषधि खुवाइने भएको छ । औषधि खुवाउने अभियान दुइ हप्तासम्म संचालन हुने भएको छ ।

मोरङको कुल जनसंख्या ११ लाख ११ हजार १४६ मध्ये १० लाख ७४ हजार ७९० जनालाई हात्ती पाइले विरुद्धको औषधि खुवाउने स्वास्थ्य कार्यालय मोरङका प्रमुख डा. सुरेश मेहताले जानकारी दिए । उनका अनुसार गत वर्ष मोरङमा ८३ प्रतिशत नागरिकले हात्ती पाइले विरुद्धको औषधि खाएका थिए । यस वर्ष ९० प्रतिशतलाई खुवाउने लक्ष्य रहेको छ ।

तालिम प्राप्त स्वास्थ्यकर्मीहरुबाट हात्ती पाइले रोगका औषधि आईभरमेक्टिन, डिईसी र अल्वेन्डाजोल खुवाउने भएको डा. मेहताले बताए । हात्ती पाइले रोगको औषधि दुई वर्ष उमेर नपुगेका बालबालिका, गर्भवती र सात दिनसम्मका सुत्केरी तथा सिकिस्त बिरामी र छारे रोग भएका बिरामीले खानु नहुने डा. मेहताको भनाइ छ ।

‘सबैलाई यो औषधि सुरक्षित रहेकाले घरदैलोमा आउने स्वास्थ्यकर्मी वा नजिकैको बुथमा गएर उचाइ अनुसार औषधि सेवन गर्नुहोला,’ डा. मेहताले भने, ‘औषधि सेवन गरी सधैँका लागि हात्ती पाइले रोग मुक्त समाज बनाऔं । आफू र आफ्नो सन्ततीलाई सुरक्षित बनाउ । यो हाम्रो अहिलेको अभियान हो ।’

मोरङको सुनवर्षी नगरपालिकामा ३ सय ५ मानिसलाई नमुना परीक्षण गर्दा २४ जनामा हात्ती पाइले रोगको लक्षण देखिएको थियो । सो क्षेत्रमा हात्ती पाइले विरुद्धको औषधि खुवाउन कुनै पनि नागरिकलाई छुट्न नदिन विशेष ध्यान दिइने उनको भनाइ छ ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ