काठमाडौँ – फोक्सो रोगका कारण जीवनको अन्तिम चरणमा पुगेका बिरामीको फोक्सो प्रत्यारोपण गरेर जीवनस्तर सुधार्न सम्भव हुने विज्ञहरुले बताएका छन्। भारतको अपोलो अस्पतालले काठमाडौंको र्याडिसन होटलमा आयोजना गरेको कार्यक्रममा बोल्दै विज्ञहरुले फोक्सो प्रत्यारोपणपछि पनि बिरामीले गुणस्तरीय जीवन बाच्न सम्भव भएको बताएका हुन्।
कार्यक्रममा बोल्दै अपोलोका कार्डियोथोरासिक मुटु तथा फोक्सो प्रत्यारोपण विशेषज्ञ डा. मुकेश गोयलले भने, ‘फोक्सोको दीर्घकालीन बिरामी भएर बाँच्नु निकै कष्टकर तथा खर्चिलो हुन्छ। तर, फोक्सो प्रत्यारोपणले अन्तिम चरणको फोक्सो रोगबाट पीडित बिरामीको जीवनको गुणस्तर सुधार गर्न सकिन्छ ।’
अन्तिम चरणको फोक्सोको रोगका लागि उपलब्ध विशेष सर्जिकल प्रविधिहरूबारे जनतामा चेतना बढ्दै गएका कारण फोक्सोको रोगका कारण हुने मृत्युदर घटाउन विज्ञहरूलाई सहज भएको उनको भनाइ छ।
फोक्सो प्रत्यारोपण शल्यक्रिया जटिल भएकोले त्यसपछि तत्काल र दीर्घकालीन हेरचाह जरुरी रहेको अस्पतालका पल्मोनोलोजी डा. एम एस कंवरले बताए । कार्यक्रममा बोल्दै उनले भने, ‘ आइपीएफ, सीओपीडी, एम्फिसेमा, कोभिड फाइब्रोसिस, पल्मोनरी हाइपरटेन्सन र अन्य यस्ता विविध अन्तिम चरणको फोक्सो रोगका बिरामीहरूको स्वास्थ्य अवस्थालाई स्थिर राख्दै फोक्सोको प्रत्यारोपण अघि गरिने व्यापक पूर्व तयारी कार्यबाट सुरु हुने प्रक्रिया हो।’
फोक्सो प्रत्यारोपण अहिले भारतमा पनि तुलनात्मक परिणामसहित उपलब्ध रहेको उनले जनाकारी दिए। विभिन्न मुलुकका अन्तर्राष्ट्रिय बिरामीहरू हाल इन्द्रप्रस्थ अपोलो अस्पतालमा फोक्सो प्रत्यारोपणको लागि पर्खिरहेको उनको दावी छ।
सो अस्पतालले अब मुटु प्रत्यारोपण पनि सम्पन्न गरेको जनाएको छ। अस्पतालका कार्डियक इलेक्ट्रोफिजियोलोजिस्ट र इन्टरभेन्शनल कार्डियोलोजिस्ट, वरिष्ठ सल्लाहकार डा. वनिता अरोराले अचानक कार्डियक अरेस्ट भएको अवस्थामा सावधानीपूर्वक जाँच गरेपछि कार्डियक रिसिंक्रोनाइजेसन थेरापी उपकरण वा स्वचालित प्रत्यारोपणयोग्य डिफिब्रिलेटर उपकरणहरू प्रत्यारोपण गरेर बिरामीहरूलाई बचाउन सकिने उपकरण अस्पतालमा रहेको बताइन।
अपोलो अस्पताल भारतको पहिलो जेसिआइ मान्यता प्राप्त अस्पताल हो। सन् १९९६ जुलाईमा सुरु गरिएको यो स्वास्थ्य संस्था दिल्ली सरकार र अपोलो अस्पताल इन्टरप्राइज लिमिटेडबीचको संयुक्त उद्यम हो। अपोलो अस्पताल समूहद्वारा स्थापित यो तेस्रो सुपर स्पेशियालिटी केयर अस्पताल हो।