काठमाडौं- स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानी खापुङले आफ्नो क्षेत्राधिकारभित्रका विभिन्न काम स्वास्थ्य राज्यमन्त्री हीराचन्द्र केसीलाई अधिकार प्रत्यायोजन गरेका छन्। बिहिबार स्वास्थ्यमन्त्री खापुङले उनको अधिकार प्रत्यायोजन गर्दै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सहकुलपतिको जिम्मादेखि विशिष्टीकृत अस्पतालको अनुगमनसम्मको जिम्मेवारी दिएका हुन् ।
स्वास्थ्य राज्यमन्त्री केसीलाई मन्त्रालय वा मन्त्रालयअन्तर्गतका परिषद्, विभाग, अस्पताल, प्रतिष्ठान, वोर्ड, केन्द्र र आयोजना लगायतका सम्पूर्णको अनुगमन गर्ने, समन्वय गर्ने र नीतिगत सुधारका विषयमा राय पेश गर्ने जिम्मा दिइएको छ।
यस्तै, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सहकुलपतिको हैसियतले कामकाज गर्ने र कामको प्रतिवेदन पेश गर्ने अख्तियारीको जिम्मेवारी पनि उनलाई दिइएको सार्वजनिक अधिकार प्रत्यायोजन पत्रमा उल्लेख छ ।
त्यसैगरी, विशिष्टीकृत अस्पतालहरुको सेवाप्रवाहको अनुगमन गर्ने, नितिगत सुधारका लागि निर्देशन दिने विषयमा रायसहित पेश गर्ने, न्यूनतम सेवा मापदण्ड सम्बन्धी विस्तृत योजना तर्जुमामा आवश्यक समन्वय र सोको कार्यान्वयनको अनुगमन गर्ने अधिकार पनि राज्यमन्त्रीले पाएका छन्।
