२०८१ वैशाख ६, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्य संस्था सेवामूलक हुनुपर्दछ : स्वास्थ्यमन्त्री यादव

स्वास्थ्य संस्था सेवामूलक हुनुपर्दछ : स्वास्थ्यमन्त्री यादव


विराटनगर—प्रदेश १ का स्वास्थ्यमन्त्री जयराम यादवले स्वास्थ्य संस्थाहरू नाफामूलकभन्दा पनि बिरामीलाई गुणस्तरीय सेवा प्रदान गरी सेवामूलक बन्नुपर्ने बताएका छन् ।

पछिल्लो समय यहाँका निजी हस्पिटलहरू सेवामूलकभन्दा पैसा कमाउन नाफातर्फ अग्रसर भएकोप्रति चिन्ता व्यक्त गर्दै स्वास्थ्यमन्त्री यादवले मानव सेवातर्फ ध्यान दिनुपर्नेमा जोड दिएका हुन् ।

बिहीबार कोशी अस्पताल विराटनगरले आयोजना गरेको हब एण्ड सेटेलाइट हस्पिटल नेटवर्कसम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै स्वास्थ्यमन्त्री यादवले एक अर्कामा प्रतिस्पर्धा गर्नुभन्दा पनि अस्पतालले गुणस्तरमा ध्यान दिनुपर्ने बताए । निजी क्षेत्रसँग प्रदेश सरकारले सहकार्य र समन्वय गरेर काम गर्ने उनले बताए ।

स्वास्थ्यमन्त्री यादवले सरकारी अस्पतालका चिकित्सकहरू बिरामीप्रति जिम्मेवा बन्नुपर्ने बताए । ‘मेरै निर्वाचन क्षेत्रका एक जना बिरामी राति कोशी हस्पिटल पुगेका रहेछन् । अस्पतालको आकस्मिक कक्षमा पुग्दा डाक्टर नभएको भन्दै मलाई फोन गरेका थिए,’ स्वास्थ्यमन्त्री यादवले भने, ‘यसरी अस्पतालमा चिकित्सक आफ्नो डियुटीमा नबस्नु गैर जिम्मेवारीपन हो । त्यसैले चिकित्सक जिम्मेवार बहन गरि विरामीको सेवामा लाग्नुपर्दछ ।’

चिकित्सकले उपचार विधिमा पनि ध्यान दिनुपर्ने बताए । ‘चिकित्सकले हस्पिटल आएका विरामीलाई राम्रोसँग परामर्श दिँदा मात्र पनि बिरामी धेरै जाति हुने गर्दछन्,’ उनले भने, ‘त्यही भएर हस्पिटल आउने बिरामीलाई चिकित्सकले सहज रूपमा काउन्सिलिङ गरेर उपचार गरिनुपर्दछ ।’

कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव इन्द्रमणी पोखरेलले तीन तहको सरकारले समन्वय र सहकार्य गरी स्वास्थ्यको क्षेत्रमा काम गरिनुपर्नेमा जोड दिए ।

प्रदेश १ का स्वास्थ्य मन्त्रालयका सचिव डा. अनुप भट्टचन्दले सरकारी अस्पतालमा दक्ष जनशक्ति राखेर गुणस्तरीय सेवा दिनुपर्ने बताए । ‘जस्तोसुकै विपदमा पनि उपचार गर्न सक्ने संयन्त्रको विकास गर्ने जनशक्ति राख्नुपर्ने हुन्छ,’ उनले भने, ‘त्यसको लागि प्रदेशले स्वास्थ्य नीति बनाउन पनि लागि परेको छ ।’

कोशी अस्पतालका मेसु डा. यज्ञराज खरेलले प्रदेशको सबैभन्दा ठूलो सरकारी अस्पताल कोशीलाई सुधार गर्नेतर्फ आफू अग्रसर भएर लागि परेको बताए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ