२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनारायणी बयोधाले सामाजिक सुरक्षा कोषको रकम जम्मा नगरिदिएपछि कर्मचारी मर्कामा

नारायणी बयोधाले सामाजिक सुरक्षा कोषको रकम जम्मा नगरिदिएपछि कर्मचारी मर्कामा


काठमाडौं—भर्खर व्यवस्थापन परिवर्तन भएको वीरगन्जस्थित बयोधा मेडिसिटी अस्पतालले कर्मचारीको सामाजिक सुरक्षा कोष वापत काटेको रकम कोषमा जम्मा नगरेको पाइएको छ । कर्मचारीहरुकाअनुसार नारायणी बयोधा अस्पतालको तत्कालीन व्यवस्थापनले साउन २०७६ देखि सामाजिक सुरक्षाका कोषका लागि भन्दैं बेसिक तलबको ३१ प्रतिशत रकम काटेको थियो ।

तर, उक्त तलब सामाजिक कोषमा जम्मा नगरिदिएको पाइएपछि कर्मचारीहरु मर्कामा परेका हुन् । ‘पुरानो व्यवस्थापनले साउन २०७६ देखि हाम्रो बेसिक तलबको ३१ प्रतिशत रकम सामाजिक कोषका लागि काट्दैं आएको थियो,’ अस्पतालका एक पूर्व कर्मचारीले हेल्थआवाजसँग भने, ‘कसैले २०१९ मा त कसैले अहिलेसम्मको पनि सामाजिक कोषका लागि अस्पताल प्रशासनले काटेको रकम जम्मा गरिदिएको छैन ।’

हेल्थआवाजलाई प्राप्त १३ जना कर्मचारीको विवरणअनुसार अस्पतालले झण्डै १० लाख रुपैयाँ बराबर कर्मचारीको सामाजिक कोषमा जम्मा गरिदिएको छैन । ती कर्मचारीकाअनुसार अस्पतालका सबै कर्मचारीहरुको सामाजिक सुरक्षा कोषका लागि काटिएको रकम कोषमा जम्मा भएको छैन । सबै कर्मचारीको रकम जोड्ने हो भने यो रकम करोडौं हुन आउने उनले बताए ।

लामो समयसम्म पनि तलबबाट सामाजिक सुरक्षा कोषका लागि काटिएको रकम कोषमा जम्मा नभएपछि कर्मचारीहरु मर्कामा परेका छन् । तत्कालीन नारायणी बयोधा अस्पतालले कर्मचारीलाई २०७६ साउनदेखि सामाजिक कोषमा आवद्ध गराएको जानकारी दिदैं बेसिक तलबको ३१ प्रतिशत रकम काट्ने गरेको थियो ।

ती कर्मचारीकाअनुसार २६ असार २०७९ सम्म पनि कुनै पनि कर्मचारीबाट काटिएको रकम सामाजिक कोषमा जम्मा गरिएको छैन । उक्त अस्पतालको व्यवस्थापन यसअघि भारतीय समूहले सम्हालेको थियो । हालैमात्र उक्त अस्पतालको सम्पूर्ण स्वामित्व नेपाल मेडिसिटी अस्पतालले लिएको छ ।

नारायण बयोधा अस्पताल लिएर नेपाल मेडिसिटीले मेडिसिटी बयोधा अस्पतालका नाममा ब्राण्डिङसमेत सुरु गरिसकेको छ । मेडिसिटी बयोधाका प्रमुख विजय रिमालले हेल्थआवाजसँग आफूहरुले व्यवस्थापन भर्खरै मात्र टेकओभर गरेकाले यस विषयमा बुझ्न केही समय लाग्ने बताए । ‘हामीले भर्खरै मात्र व्यवस्थापन टेकओभर गरेका छौं,’ उनले भने, ‘यस विषयमा थप बुझेर के रहेछ म खबर गरौला ।’

रिमालले नै एक कर्मचारीले सामाजिक सुरक्षा कोषको रकम भुक्तानीका लागि आग्रह गर्दै पठाएको इमेलमा उक्त रकम भुक्तानी गर्नका लागि अझै न्यूनतम तीन महिना लाग्ने उत्तर दिएका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ