काठमाडौं- नेपाल चिकित्सक संघले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी विधेयक पारित भएपछि सरकारलाई आभार प्रकट गरको छ। बिहिबार संघले राजधानीमा एक पत्रकार सम्मेलन आयोजना गरी संघको निरन्तरको प्रयास र दबाबमूलक गतिविधिका कारण अतुलनिय उपलब्धी स्वरूप विधेयक पारित भएको भन्दै सरकारलाई आभार प्रकट गरेको हो ।
संघका अध्यक्ष डा. लोचन कार्कीले संसोधित ऐनलाई संघले स्वागत गरेको बताउँदै यसलाई कार्यान्वयन गरी संचालनमा ल्याउन सरकार समक्ष आग्रह गरेका छन्। ‘यो ऐनलाई संघले स्वागत गरेको छ। अबका दिनमा सरकार र सुरक्षा निकायहरुले सोही एन तजुर्मा गरेर नेपाल चिकित्सा शिक्षा र स्वास्थ्य सेवालाई विधी र विधान बमोजिम कानुन सम्बत तवरबाट संचालन गर्न हामी हार्दिक अनुरोध गर्दछौं, ‘उनले भने ।
स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धि (पहिलो संसोधन) ऐन २०७९ विधेयक पारित हुनु चिकित्सा क्षेत्रमा एउटा ऐतिहासिक सफलता भएको डा. कार्कीको भनाइ छ।
त्यस्तै, सघका महासचिव डा. बद्री रिजालले स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेमाथि कडा कानुनी व्यवस्थाको माग हुनुपर्ने भन्दै पटक-पटक आवाज उठाउदै आएका सबैमा धन्यबाद व्यक्त गरेका छन्। ‘यो उपलब्धि हासिल गर्न सहयोग गर्ने सम्पूर्ण चिकित्सक, विभिन्न व्यवसायिक संघसंस्था, नेपाल सरकार र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई संघले हार्दिक कृतज्ञता व्यक्त गर्दछौं, ‘उनले भने ।
बुधबार स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धि (पहिलो संसोधन)ऐन २०७९ प्रतिनिधि सभाबाट पारित भएको थियो। सो संशोधित ऐनमा स्वास्थ्य संस्थामा तोडफोड वा अन्य कुनै कार्य गरी हानी नोक्सानी पुर्याउने र स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई कुटपिट गर्ने वा शारीरकि रुपमा चोट पुर्याउनेलाई पनि पुर्पक्षका लागि थुनामा राखेर थप सजाय हुने व्यवस्था गरिएको छ।
त्यस्तै, स्वास्थ्य संस्थामा आगजनी गरेमा दुई वर्षदेखि पाँच वर्षसम्म कैद वा दुईलाख रुपैयाँदेखि पाँचलाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था ऐनमा उल्लेख छ।