२०८२ चैत्र १८, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्यमा क्रियाशील संगठनको माग सम्बोधन गर्न कार्यदल बन्ने

स्वास्थ्यमा क्रियाशील संगठनको माग सम्बोधन गर्न कार्यदल बन्ने


काठमाडौं—स्वास्थ्यमा क्रियाशील ट्रेड युनियन र पेशागत संघ संगठनहरुको माग सम्बोधनका लागि ७ सदस्यीय कार्यदल बन्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हीराचन्द्र केसीले माग सम्बोधनका लागि स्वास्थ्य मन्त्रालयका अधिकारीको संयोजकत्वमा कार्यदल गठन गरिने बताएका हुन् ।

‘स्वास्थ्यमा क्रियाशील ट्रेड युनियन र पेशागत संघ संगठनहरुको माग सम्बोधन गर्न कार्यदल गठन हुन्छ । कार्यदलले समस्यामात्रै होइन्, मन्त्रालयलाई सुझाव पनि दिनेछ,’ उनले भने, ‘कार्यदलबाट तत्काल के गर्न सकिन्छ ? दीर्घकालीन के गर्न सकिन्छ ? ठोस योजना बन्नेछ । त्यहीअनुसार अघि बढ्न सकिन्छ ।’ उनले स्वास्थ्यका समस्या हल गर्न मन्त्रालय सदैव कटिबद्ध रहेको बताए ।

कार्यक्रममा स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेलले स्वास्थ्यका समस्या हल गर्न आफू निरन्तर स्वास्थ्यमा क्रियाशील ट्रेड युनियन र पेशागत संघ संगठनहरुसँग सँगै रहेर काम गर्दै आएको बताए । डा. पोखरेलले आफ्ना हकहितसँगै जनतासँग जोडिने गरी काम गर्नुपर्ने बताए ।

स्वास्थ्यमा क्रियाशील ट्रेड युनियन र पेशागत संघ संगठनहरुको संयोजकसमेत रहेका नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीले स्वास्थ्यकर्मीको माग सम्बोधनमा सरकार गम्भिर हुनुपर्ने र अन्तर मन्त्रालय समन्वय अहिलेको खाँचो रहेको बताए । स्वास्थ्यमा क्रियाशील ट्रेड युनियन र पेशागत संघ संगठनका सदस्य सचिव माइकल देवकोटाले विगतमा भएको १९ बुँदे सम्झौता अक्षरस पालना हुनुपर्ने बताए ।

‘स्वास्थ्यमा क्रियाशील ट्रेड युनियन र पेशागत संघ संगठन र मन्त्रालयका अधिकारीबीच स्वास्थ्यकर्मीलाई जोखिम भत्ता, स्वास्थ्यलाई संघमा राख्ने, समायोजनलगायत विविध विषयमा सम्झौता भयो,’ उनले भने, ‘ती सम्झौता कार्यान्वयन हुनुपर्ने देखिन्छ ।’

सहभागी सरोकारवालाहरुले कानुनसम्मत भएको स्तरवृद्धि किन बदर भनेर भनेर प्रश्न गरेका थिए । यस्तै, स्वास्थ्यका कर्मचारीको अभिलेख नभएको गुनासो पनि उनीहरुको थियो । स्वास्थ्य सेवा ऐन अलग्गै हुनुपर्ने सहभागीको जोड थियो । स्वास्थ्य राज्यमन्त्री केसीको पहलमा स्वास्थ्य मन्त्रालयमा आइतबार क्रियाशील स्वास्थ्यकर्मीहरुसँग छलफल भएको थियो । कार्यक्रमको सहजीकरण स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा.संगीता कौशल मिश्राले गरेकी थिइन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ