२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्य र शिक्षामा नेपाल आत्मनिर्भर हुनुपर्छ : अध्यक्ष तिमिल्सिना

स्वास्थ्य र शिक्षामा नेपाल आत्मनिर्भर हुनुपर्छ : अध्यक्ष तिमिल्सिना

स्वास्थ्य सचिव भन्छन्, ‘स्वास्थ्यमा १५ देखि २० हजार जनशक्ति थप्नुपर्छ’


ललितपुर—राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले स्वास्थ्य र शिक्षामा मुलुक आत्मनिर्भर हुनुपर्ने बताएका छन् । आइतबार कोभिड-१९ महामारी र जनस्वास्थ्यका विषयहरु सम्बन्धी अन्तक्रिया कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले सस्तो र सुलभ उपचार दिएर अन्य देशबाट पनि उपचार गर्न आउने वातावरण बनाउनुपर्नेमा जोड दिए ।

‘स्वास्थ्य शिक्षा लिन र उपचारका लागि कति बाहिर जान्छन् त्यो तथ्यांक निकाल्ने र कति पैसा बाहिरिन्छ त्यसलाई लेखाजोखा गर्नुपर्छ,’ उनले भने, ‘अहिले आँखा उपचारमा भारतलगायतका देशबाट बिरामीहरु आउन सुरु भएको छ । अन्य रोगको उपचारका लागि पनि आउने वातावरण बनाउनुपर्छ ।’

उनले क्यान्सर रोग उपचारका लागि समेत भरतपुरमा भारतबाट बिरामी आउने गरेको उल्लेख गर्दै नेपालीहरु भने यहाँ अविश्वास गरेर भारत जाने गरेको बताए ।

तिमिल्सिनाले अझै पनि नसर्ने रोगका पछि लाग्नु परेको बताए । ‘सरुवा रोग महामारी बन्दैछ ।

कोभिड महामारी अन्त्य गर्न देशलाई नै पूर्ण खोप बनाउनु पर्छ,’ उनले भने । पालिका, प्रदेश मात्र नभएर देशमा आएका देशी—विदेशी सबैलाई अनिवार्य खोप लगाउनुपर्नेमा उनले जोड दिए । कोभिड-१९ लाई समयमा नै नियन्त्रण गर्न अहिलेबाटै रणनीति तय गर्नुपर्ने उनको भनाइ थियो।

स्वास्थ्य सचिव डा. रोशन पोखरेलले स्वास्थ्यमा जनशक्ति अभाव रहेको बताए । ‘१५ देखि २० हजार जनशक्ति थप गर्नुपर्छ,’ सचिव डा. पोखरेलले भने, ‘अहिले हाम्रो देशमा स्वास्थ्यमा जनशक्ति कम छ ।’

उनले स्थानीय तहमा ५, १० र १५ बेडका अस्पताल बनिरहेको उल्लेख गर्दै जिल्ला ५० शैय्याको अस्पताल बनाउन थालिएको जानकारी दिए । ‘उपकरण र जनशक्ति थप गर्नुपर्छ,’ उनले थपे ।

डा. पोखरेलले मानसिक रोगबाट दैनिक २० जना र सडक दुर्घटनाबाट ८ जनाको मृत्यु भइरहेको बताउँदैं यसलाई रोक्नका लागि रणनीति बनाउनुपर्नेमा जोड दिए ।

विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधी डा. राजेश समबाजीराव पाण्डवले आगामी महिना कोभिड-१९ को संक्रमण अझ उच्च हुने सम्भावना रहेको बताए । ‘आगामी महिना कोभिड-१९ संक्रमण उच्च हुने सम्भावना छ,’ उनले भने, ‘भ्याक्सिन सबैले लगाउनु अनिवार्य छ ।’


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ