२०८१ वैशाख ४, मंगलबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशस्याङ्जा र कास्कीका संस्था स्वास्थ्य बीमामा आबद्ध

स्याङ्जा र कास्कीका संस्था स्वास्थ्य बीमामा आबद्ध


पोखरा-स्वास्थ्य बीमा कार्यक्रमसँग कास्की र स्याङ्जा जिल्लाका छ सेवा प्रदायक संस्था आबद्ध भएका छन् । स्वास्थ्य बीमा बोर्डद्वारा सेवा प्रदायक अस्पतालका लागि आयोजित स्वास्थ्य बीमा व्यवस्थापन सूचना प्रणाली विषयको तीनदिने तालीमको समापनका अवसरमा कास्कीको शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र, नयाँबजारसहितका संस्था सम्झौता गरी स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध भएका हुन् ।

त्यस्तै स्याङ्जा जिल्लाअन्तर्गतका जिल्ला अस्पताल स्याङ्जा, चापाकोट अस्पताल, मालुङ्गा प्राथमिक स्वास्थ्य केन्द्र, गह्रौँ घ्याङ्लिङ प्राथमिक स्वास्थ्य केन्द्र र पञ्चमूल प्राथमिक स्वास्थ्य केन्द्र सम्झौता गरी स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध भएका छन् । सम्झौता कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले ती संस्थालाई स्वास्थ्य बीमा बोर्डको सहयोगमा प्रदान गरिएका ल्यापटप हस्तान्तरण गरेका थिए ।

सामाजिक विकास मन्त्रालयका सचिव दीर्घनारायण पौडेलले सेवा प्रदायकलाई स्वास्थ्य बीमा कार्यक्रमको सुविधा प्याकेज पुस्तिका हस्तान्तरण गरे। पौडेलले आगामी पाँच वर्षभित्र गण्डकी प्रदेशलाई स्वास्थ्य क्षेत्रमा सुधार गर्न स्वास्थ्य बीमा कार्यक्रमलाई सबैले मिलेर सफल बनाउनुपर्ने उल्लेख गरे ।

महानगर प्रमुख जिसीले संविधानमा उल्लिखित नागरिकका अधिकारसँग सम्बन्धित विषयलाई कार्यान्वयनमा जोड दिँदै समाजवादोन्मुख समाज निर्माणका लागि सबैले स्वास्थ्य बीमा गरी समयमै सुरक्षित हुनुपर्ने बताए । उनले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रदेश सरकार, स्थानीय तह र जनताका बीचमा सहकार्य गरी अगाडि बढाउनुपर्नेमा जोड दिए ।

स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक रमेशकुमार पोखरेलले आगामी आर्थिक वर्षसम्म देशका सबै जिल्लामा बीमा कार्यक्रम सञ्चालन गरिने बताए । स्वास्थ्य बीमा बोर्ड गण्डकी प्रदेश संयोजक जीवलाल खरेलले सरकारले सञ्चालन गरेको कार्यक्रमबाट एक नेपालीले अर्को नेपालीलाई सहयोग हुने बताउँदै यस कार्यक्रमबाट बालकदेखि ज्येष्ठ नागरिकलगायत सबैले लाभ लिन सक्ने धारणा राखे ।

अर्थाभावका कारण कोही पनि नागरिक स्वास्थ्योपचार सेवाबाट वञ्चित हुन नपरोस् भनेर नेपाल सरकारले स्वास्थ्य बीमा कार्यक्रम ल्याएको हो । नयाँ व्यवस्थानुसार पाँच जनासम्मको परिवारले वार्षिक रु तीन हजार ५०० प्रिमियम तिरेपछि रु एक लाखसम्मको स्वास्थ्योपचार सुविधा स्वास्थ्य बीमा कार्यक्रममार्फत प्राप्त गर्न सक्छ ।

सत्तरी वर्ष पुगेका ज्येष्ठ नागरिकको रु एक लाखसम्मको निःशुल्क स्वास्थ्य बीमा स्वास्थ्य बीमा बोर्डमार्फत नै हुने गरेको छ ।


क्याटेगोरी : गण्डकी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ