२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्य र अर्थको सहमति विपरित गंगालालका विशेषज्ञ चिकित्सकको सेवा उमेर हद बढाइयो

स्वास्थ्य र अर्थको सहमति विपरित गंगालालका विशेषज्ञ चिकित्सकको सेवा उमेर हद बढाइयो

सेवा अवधि थप्न २०७५ देखि निरन्तर लागि परेका थिए डा. मल्ल


काठमाडौं–गंगालाल हृदयरोग केन्द्रको संचालन नियमावली विपरित विशेषज्ञ चिकित्सकको सेवाको उमेर हद बढाइएको छ । शनिबार अध्यक्षसमेत रहेका स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङको अध्यक्षतामा बसेको केन्द्रको संचालक समितिको बैठकले केन्द्रका विशेषज्ञ चिकित्सकहरुको सेवा अवधिको उमेरहद तीन वर्ष थप गरी ६३ वर्ष पु¥याउने निर्णय गरेको हो ।

केन्द्रका चिकित्सक डा. रवि मल्ल यही २३ साउनमा अनिवार्य अवकास हुने भएपछि उनकै सक्रियतामा प्रधानमन्त्रीको पावर लगाएर चिकित्सकहरूको सेवा उमेर हद ६३ बनाउन  सफल भएका हुन् ।

केन्द्रको संचालन नियमावलीले केन्द्रमा कार्यरत कर्मचारीको उमेर हद ६० वर्ष तोकेको छ । हालसम्म अनिवार्य अवकास पाएका चिकित्सक, नर्स तथा पारामेडिक्स र प्रशासनतर्फका कर्मचारी ६० वर्षको अवधिमा नै अनिवार्य अवकास पाएका छन् ।

सो नियमावलीमा कुनै खास विशेषज्ञको विशेषज्ञता केन्द्रले महसुस गरेमा अनिवार्य अवकासपछि करारमा लिन सक्ने उल्लेख छ । तर, करारमा लिदा भने प्रतिस्पर्धा गराएर मात्र लिन सक्ने प्रावधान छ ।

तर, प्रधानन्त्री पत्नी आरजु राणाका भाइका साथी डा. रवि मल्ल (जसले आरजुका भाइ भूषण राणाको एन्जिओपग्राफी गरेका थिए)को उमेर हदका कारण २३ गतेबाट अवकास पाउने भएपछि प्रधानमन्त्रीमार्फत आरजुले दबाब दिइरहेको संचालक समितिका एक सदस्यले बताए ।

डा. मल्ल अहिले मात्र उमेर हद बढाउन लागेका होइनन् । वि.सं. २०७५ बाटै ६५ वर्ष अवकास उमेर हद बनाउन लागि परेको समेत खुलेको छ । वि.सं. २०७५ सालमा केन्द्रले आफ्नो संचालन नियमावली संसोधन गर्न मल्लकै नेतृत्वमा कर्मचारी व्यवस्थापन सेवा शर्त नियमावली संसोधन समिति बनाएको थियो । जसको संयोजक उनै मल्ल थिए ।

६५ वर्ष उमेरहद पु¥याउँदा केन्द्रलाई के फाइदा हुन्छ र कति आर्थिक भार पर्छ भन्ने स्पष्ट योजना विना नै डा. मल्लको समतिले केन्द्रमा काम गर्ने कर्मचारीको उमेरहद ६५ वर्ष पु¥याउने मस्यौदा तयार गरेका थिए ।

तर सहमतिका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, अर्थ मन्त्रालय र लोकसेवा पठाउदा तीन निकायले नै ६५ वर्ष उमेर हद पु¥याउनुको औचित्य नहुने भन्दै त्यसलाई हटाइदिएका थिए ।

सरकारका सरोकारवाला निकायले नै अस्वीकार गरेपछि पनि उनी त्यतिकै चुप बसेनन् । उनले आफ्नो उमेर हद बढाउन पुनः संचालक समितिलाई दबाब दिएर अध्ययन समिति बनाउन लगाएका थिए । संचालक समितिका सदस्य विपिन राइको संयोजकत्वमा बनेको सो समितिमा अस्पतालका चिकित्सक डा. रामेश कोइराला र काठमाडौं विश्वविद्यालयका मेडिकल डिन तथा मुटुरोग विशेषज्ञ डा राजेन्द्र कोजु सदस्य थिए ।

सो समितिले काम नै नसकी प्रतिवेदन बुझाएको छ । समितिका एक सदस्यका अनुसार केन्द्रका सबै विभागबाट सुझाव लिएको र फरक—फरक मत आएको थियो । कर्मचारीहरुमानै विभेद हुने खालको अवस्था आएपछि समितिले प्रतिवेदन पूर्णता दिन सकेको थिएन ।

सो सम्बन्धमा अध्ययन समितिको बैठक एकपटक मात्र बसेको छ । तर सो बैठकले प्रतिवेदन बुझाउने निर्णय भने गरेको छैन । तर, शनिबार बसेको बैठकमा भने संयोजकले प्रतिवेदन बुझाएका संचालनक सिमितिका एक सदस्यले जानकारी दिए । प्रधानमन्त्रीको ठाडो निर्देशन र  सोही प्रतिवेदनका आधारमा नियमावली छलेर संचालक समितिले विशेषज्ञ चिकित्सकहरुको सेवको उमेर हद बढाएको हो ।

शनिबार बसेको केन्द्रको बैठकले गंगालालका समस्याहरुलाई अध्ययन गरी समाधान गर्नका लागि राय सहित प्रतिवेदन पेश गर्न संचालक समितिका सदस्य डा. प्रकाशराज रेग्मीको संयोजकत्वमा समिति पनि बनाएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ