२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचार२ अर्ब लगानीमा डा. हरिश न्यौपानेको टिमको ‘सिएमसी क्यान्सर इन्स्टिच्युट’

२ अर्ब लगानीमा डा. हरिश न्यौपानेको टिमको ‘सिएमसी क्यान्सर इन्स्टिच्युट’


भरतपुर—चितवन मेडिकल कलेजले दुई अर्ब रुपैयाँ लगानीमा क्यान्सर अस्पताल निर्माण गरेको छ । आगामी दसैँअघि नै सञ्चालनमा ल्याउने गरी सिएमसी क्यान्सर इन्स्टिच्युट तयार गरिएको हो ।

अग्रणी सो मेडिकल कलेजले आफ्नो भगिनी संस्थाको रूपमा क्यान्सर अस्पताल सुरु गर्न लागेको हो । दसैँअघि नै रेडिएसनको सेवा दिने गरी तीव्र रूपमा काम भइरहेको छ । अस्पतालका निर्देशक डा.दयाराम लम्सालले इन्स्टिच्युटमा अत्याधुनिक प्रविधिका उपकरण जडान गरिएको जानकारी दिए । ‘नेपालका क्यान्सरका बिरामी अब विदेश जानु पर्दैन्,’ उनले भने ।

भारतको दिल्लीका ठूला अस्पतालमा जडान गरिएकाभन्दा आधुनिक उपकरण यहाँ जडान भएको उनको भनाइ छ । अस्पतालले अत्याधुनिक उपकरण खरिदमा मात्रै एक अर्ब २७ करोड रुपैयाँ खर्च गरेको उनले दाबी गरे । अन्य उपकरण र भौतिक पूर्वाधारमा गरी दुई अर्बभन्दा बढी खर्च लाग्ने उनको भनाइ छ ।

क्यान्सर सँगसँगै अन्य उपचारका लागि नजिकै मेडिकल कलेज भएकाले केही खर्च कटौती भएको जनाइएको छ । यस इन्स्टिच्युटमा रेडिएसनसँगै ब्राकी थेरापी, स्पेक्ट सिटी स्क्यान, बोनम्यारो प्रत्यारोपण, रक्त क्यान्सरको उपचार, बाल क्यान्सरको उपचारसहित सबै खालका क्यान्सरको उपचार र प्रत्यारोपण हुने निर्देशक डा लम्सालको भनाइ छ ।

भारत, अमेरिकाजस्ता देशमा अध्ययन गरेर ठूला अस्पतालमा काम गरिरहेका मेडिकल अन्कोलोजी, रक्त क्यान्सर, सर्जरीलगायतका समूह यहाँ ल्याइँदै छ । ‘हामीले विश्वका ठूला अस्पतालमा कामको अनुभव लिएका चिकित्सकसँग सम्झौता गरिरहेका छौँ,’ उनले भने । गुणस्तरमा कमी हुन नदिने गरी एक सय शय्याको आधुनिक अस्पताल निर्माण गरिएको हो ।

चितवन मेडिकल कलेजसँगै छ तले ४८ हजार स्क्वायर फिटको भवनमा बंकरसहितको क्यान्सर अस्पताल निर्माण गरिएको छ । इन्स्टिच्यूटमा रेडिएसन सञ्चालनका लागि अन्तिम तयारीमा रहेका रेडिएसन अन्कोलोजिष्ट डा.सुवास ठाकुरले रेडिएसन उपकरणभित्र ६ डि काउज र हाइपर आर्च रहेको जनाउँदै यसले टाउकोभित्रको ट्युमरलाई शल्यक्रिया बिना नष्ट गर्ने बताए । यो रेडियो सर्जरी रेडिएसन प्रविधिबाट नेपालमा पहिलो पटक उपचार गर्न लागिएको उनले बताए ।

त्यसैगरी ब्रेकी थेरापीमार्फत शरीरभित्र उपकरण राखेर रेडियो एक्टिभ सोर्स प्रयोग गरेर क्यान्सर कोष मार्ने प्रविधि पनि यहाँ ल्याइँदै छ । पाठेघरको क्यान्सरमा यो प्रविधिको उपचार बढी हुने गर्दछ । एसबिआरटी प्रविधिमार्फत उपचार भइरहेको बिरामीको ट्युमर प्रत्यक्ष हेरेर आवश्यक थप मात्रा प्रयोग गरी उपचार गर्न सकिने उनी बताउँछन् ।

भारतसहितका विभिन्न देशका विज्ञहरुसँग परामर्श र त्यहाँका जनशक्ति झिकाएर इन्स्टिच्युटको निर्माणदेखि नै काम गरिएको हो । १४ वर्षअघि स्थापना भएको चितवन मेडिकल कलेजमा हाल वार्षिक तीन लाख ५० हजारभन्दा बढी बिरामीलाई सेवा दिँदै आएको छ । नेपालभरि र भारतीय बिरामी पनि यहाँ उपचार गर्न आउने गर्दछन् ।

यस अस्पतालमा २८ विभागमार्फत सेवा दिइँदै आएको छ । क्यान्सरका बिरामीलाई अन्य विभागको सेवासमेत आवश्यक पर्ने भएकाले उपचार सहज हुने अस्पतालको भनाइ छ । नेपालमा भरतपुरको वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल, पूर्वाञ्चल क्यान्सर अस्पताल र काठमाडौँ क्यान्सर सेन्टरमा मात्रै क्यान्सरको उपचार हुने जनाइएको छ । सरकारले क्यान्सरका बिरामीलाई उपचारमा रु एक लाखसम्म सहयोग गर्दै आएको छ । विदेश जाने बिरामीले यो सुविधा पाउँदैनन् ।

-राससबाट


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ