२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारएक महिनाभित्र १३ प्रतिशतले बढ्यो कोभिड संक्रमण

एक महिनाभित्र १३ प्रतिशतले बढ्यो कोभिड संक्रमण


काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गएको एक महिनाभित्र कोभिड संक्रमण दर १३ प्रतिशत  नाघेको जनाएको छ । बुधबार पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयका वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट डा. पवन कुमार शाहले गत १ साउनमा ४ प्रतिशत रहेको कोभिड संक्रमण दर अहिले बढेर १३ प्रतिशतभन्दा माथि पुगेको जनाएका हुन् ।

उनका अनुसार कोभिड संक्रमण दरका साथै भेन्टिलेटर र आइसियूमा भर्ना हुने संक्रमित बिरामीको संख्या पनि बढिरहेका छन् ।

पछिल्लो २४ घण्टामा थप ८ सय ५२  जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । त्यस्तै, ३ सय २८ जना संक्रमित कोभिड-१९ संक्रमणमुक्त भएका छन् ।

काठमाडौँ उपत्यकामा मात्रै ३७९ जनामा कोभिड पुष्टी भएको मन्त्रालयले जनाएको छ । काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा २ सय ६१, ललितपुरमा ५५ र भक्तपुरमा ६३ जना गरी उपत्यकामा ३ सय ७९ जना संक्रमित थपिएका हुन् ।

यस्तै, हाल भेन्टिलेटरमा ७ जना र आइसियूमा ५९ जना बिरामी उपचाररत छन् । कोभिड संक्रमितमा ५० प्रतिशत लक्षण नदेखिने हुँदा स्वास्थ्यका मापदण्डको पालना गर्न मन्त्रालयले आग्रह गरेको छ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ