२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङलाई ‘मेनियर्स डिजिज’को आशंका, के हो ‘मेनियर्स डिजिज’ ?

स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङलाई ‘मेनियर्स डिजिज’को आशंका, के हो ‘मेनियर्स डिजिज’ ?


काठमाडौं—स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङ अस्वस्थ्य भएपछि वीर अस्पताल भर्ना भएका छन् । शुक्रबार दिउँसो चक्कर लाग्ने र वाकवाक आउने समस्या देखिएपछि स्वास्थ्य मन्त्री वीर अस्पताल लगिएको हो ।

वीर अस्पतालका निमित्त प्रमुख प्रशासकीय अधिकारी डा. भुपेन्द्र बस्नेतले मन्त्रीको सबै रिपोर्ट राम्रो भएको बताए । ‘तर, उहाँमा ‘मेनियर्स डिजिज’को शंका लागेकाले हामीले एमआरआई गर्दैछौं,’ उनले भने, ‘अन्य रिपोर्टहरु सामान्य रहेका छन् ।’

के हो मेनियर्स डिजिज ?

अचानक कानमा ‘इन्डोल्याम्फ’ नामक झोल पदार्थको चाप बढेपछि ‘मेनियर्स डिजिज’ हुने विशेषज्ञ चिकित्सकहरु बताउँछन् । इएनटीका विशेषज्ञ चिकित्सक प्रा. डा. ढुण्डी पौडेलकाअनुसार कानमा अचानक चाप बढेपछि सुन्न कम हुने, वाकवाक आउने, वान्ता आउने, चक्कर आउने, कान कराउनेजस्ता समस्या देखिन्छ ।

‘यो आधा घण्टादेखि २४ घण्टासम्म रहन्छ । त्यसपछि हराएर जान्छ,’ डा. पौडेल भन्छन्, ‘यो पटक—पटक भइरहन्छ । कहिले दिनमा त कहिले महिनामा एक पटक हुन सक्छ ।’ उनकाअनुसार हाम्रो भित्री कानमा बाहिरी, मध्यम र भित्री गरी तीन तह हुन्छन्, त्यसमा तरंग लिएर जानका लागि एक प्रकारको कोष हुन्छ । कोषलाई झोल पदार्थले घेरेको हुन्छ । जसलाई ‘इन्डोल्याम्फ’ भनिन्छ । त्यही ‘इन्डोल्याम्फ’को नामक झोल पदार्थको चाप बढ्नुलाई ‘मेनियर्स डिजिज’ भनिन्छ ।

‘मेनियर्स डिजिज’को कुनै निश्चित उपचार र औषधी छैन् । ‘जुन लक्षण देखिएको छ, त्यसैको औषधी खाएर ठीक गर्न सकिन्छ । एक्कासी चक्कर आउने र वाकवाकी आउने भएपछि चक्कर लाग्न रोक्ने र वाकवाक लाग्ने रोक्ने औषधि खानुपर्छ,’ डा. पौडेल थप्छन्, ‘यसको कुनै निश्चित औषधी छैन । झोल पदार्थ घटाउने पिसाब सम्बन्धी औषधी दिन सकिन्छ ।’ उनले यसमा विभिन्न औषधीहरु प्रयोग गरिएपनि निश्चित औषधी तयार भइनसकेको बताए ।

त्यही कारण ‘मेनियर्स डिजिज’बाट बच्नका लागि जीवनशैलीमा परिवर्तन गर्नुपर्छ । ‘नुन कम खाने, चिया कफी कम खाने, गुलियो र गरम मसला हालेका कुराहरु नखाने गर्नुपर्छ,’ उनले भने ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ