२०८० चैत्र ६, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारचिकित्सक, नर्स र स्वास्थ्यकर्मीलाई दैनिक ८ घण्टाभन्दा बढी काममा लगाउन नपाइने

चिकित्सक, नर्स र स्वास्थ्यकर्मीलाई दैनिक ८ घण्टाभन्दा बढी काममा लगाउन नपाइने

दैनिक ४ र हप्तामा २४ घण्टासम्म अतिरिक्त काम गराउन पाइने, त्यसको अलग्गै पारिश्रमिक दिनुपर्ने


काठमाडौं–स्वास्थ्यकर्मीलाई दैनिक ८ घण्टाभन्दा बढी काममा लगाउन नपाइने भएको छ । राष्ट्रिय समावेसी आयोगले स्वास्थ्यकर्मी (चिकित्सक, नर्स र पारामेडिकल)लाई दैनिक ८ घण्टा र हप्तामा ४८ घण्टाभन्दा बढी समय काममा नलगाउन स्वास्थ्य तथा जनसख्या मन्त्रालयलाई पत्राचार गरेको छ ।

५ भदौंमा आयोगले स्वास्थ्य मन्त्रालयलाई पत्र पठाउँदैं स्वास्थ्यकर्मीहरुको कार्य समय श्रम ऐन, २०७४ ले तोकेको भन्दा धेरै भएको जनाएको छ । आयोगले स्वास्थ्यकर्मीसँग गरेको अन्तक्रिया र अध्ययनबाट स्वास्थ्यकर्मीलाई अस्पतालहरुले निरन्तर २४ घण्टादेखि ३६ घण्टासम्म काममा लगाउने गरेको पाइएको थियो ।

त्यसपछि आयोगको २ भदौमा बसेको बैठकले प्रतिदिन ८ घण्टा र हप्तामा ४८ घण्टाभन्दा बढी कार्य नगराउन मन्त्रालयलाई सिफारिस गर्ने निर्णय गरेको थियो । सोही निर्णयलाई कार्यन्वयन गराउन ५ भदौंमा आयोगले मन्त्रालयलाई पत्राचार गरेको हो ।

आयोगले श्रम ऐनअनुसार हप्तामा ४८ घण्टाभन्दा बढी काममा नलगाउन, प्रतिदिन ४ घण्टाभन्दा बढी र हप्तामा २४ घण्टाभन्दा बढी काममा नलगाउन र अतिरिक्त समयमा काममा लगाइएको अतिरिक्त भुक्तानी दिने व्यवस्था मिलाएर सघन अनुगमन गर्न समेत निर्देशन दिएको छ ।

‘तसर्थ, कुनै पनि स्वास्थ्य संस्थाले स्वास्थ्यकर्मीलाई श्रम ऐन, २०७४ को दफा २८ बमोजिम प्रतिदिन ८ घण्टा र हप्तामा ४८ घण्टाभन्दा बढी काममा नलगाउने, उक्त ऐनको दफा ३० बमोजिम प्रतिदिन ४ घण्टा तथा हप्तामा २४ घण्टाभन्दा बढी अतिरिक्त समय काममा लगाउन नपाइने र सो ऐनको दफा ३१ बमोजिम अतिरिक्त समय काममा लगाइएकोमा तोकिए बमोजिम अतिरिक्त पारिश्रमिक प्रदान गर्नुपर्ने साथै लगातार दैनिक रुपमा १२ घण्टाभन्दा बढी काममा नलगाउने व्यवस्था तुरुन्त मिलाइ त्यस्तो कार्यको सघन अनुगमन समेत गर्न स्वास्थ्य मन्त्रालयलाई सिफारिस गर्ने,’ आयोगले मन्त्रालयलाई पठाएको पत्रमा छ ।

उक्त पत्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई बोधार्थ पठाइएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ