२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारमेडिकल कलेजमा विमा बन्दको असरः ९ हजारमा हुने एमआरआईका लागि ५० हजार खर्चेर काठमाडौं

मेडिकल कलेजमा विमा बन्दको असरः ९ हजारमा हुने एमआरआईका लागि ५० हजार खर्चेर काठमाडौं


काठमाडौं–स्वास्थ्य विमा बोर्डले विमा सेवामा आवद्ध भएका बिरामीले एमआरआई सेवा लिनुपर्दा त्यसको मुल्य ९ हजार रुपैयाँ तोकेको छ । विमाले तोकेको यो शुल्क सामान्य अवस्थामा सरकारी अस्पताल र निजी अस्पतालको तुलनामा यो अत्यन्तै न्यून हो ।

तर, पछिल्लो समय पुर्वका विमितहरु भने यो सेवा लिन मारमा परेका छन् । अस्पतालबाट ९ हजारमा नै पाइने यो सेवा लिनको लागि पूर्वका बिरामीहरु ५० हजारभन्दा बढी खर्च गरेर राजधानी आउनुपर्ने बाध्यतामा परेका छन् ।

१ साउनबाट एमआरआई सेवा संचालन भएका पूर्वका विराट मेडिकल कलेज, नोबेल मेडिकल कलेज र झापाको बीएण्डसी मेडिकल कलेजमा विमाअन्तर्गतको सेवा बन्द भएपछि बिरामीहरु मारमा परेका हुन् । ती मेडिकल कलेजमा सेवा बन्द भएसँगै एमआरआई सेवा लिन पूर्व क्षेत्रका स्वास्थ्य विमा गरेका जनता काठमाडौं नै आउनुपर्ने बाध्यतामा परेका हुन् ।

प्रदेश १ मा ठूला भनिएका सरकारी अस्पतालहरु विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, कोशी अस्पताल, मेची प्रादेशिक अस्पतालमा एमआरआई सेवा संचालनमा छैन । विपीका अस्पताल निर्देशक डा. जगतनारायण प्रसादका अनुसार प्रतिष्ठानमा दैनिक २ हजारभन्दा बढी विमाअन्तर्गतका विरामी उपचार गर्न आउँछन् । विमाअन्तर्गत आएका बिरामीलाई निजी अस्पतालले सेवा बन्द नगर्दा एमआरआई आवश्यक परेमा विराटनगर, झापाका अस्पतालमा पठाइने गरेको उनले बताए ।

पूर्वका एमआरआई भएका अस्पतालले विमा सेवा बन्द गरेसँगै काठमाडौंमा विमा संचालन भएका अस्पतालमा रेफर गर्नुपर्ने अवस्था आएको हो । प्रतिष्ठानले पनि एमआरआई खरिदका लागि निर्णय गरिसकेको निर्देशक डा. जगतनारायणले जानकारी दिए । ‘अहिले समस्या छ,’ उनले भने, ‘हामी एमआरआई किन्ने प्रक्रियामा छौं ।’

कोशी अस्पतालका मेसु डा. लक्ष्मीनारायण यादवले पनि विमाअन्तर्गतका एमआरआई गर्नुपर्ने बिरामी आएमा काठमाडौं पठाउनुको विकल्प नभएको बताए । ‘पहिले यहीका ठूला निजी अस्पतालमा विमा कार्यक्रम थियो, सरकारी रेटमा हुन्थ्यो,’ उनले भने, ‘विमाका बिरामीको रेफर विमा भएकै अस्पतालमा गर्नुपर्ने प्रावधान छ । त्यसैले काठमाडौं गर्नुको विकल्प छैन ।’ कोशी अस्पतालले पनि एमआरआई खरिदका लागि केन्द्रमा प्रस्ताव पठाएको निर्देशक डा. यादवले बताए ।

मेची प्रादेशिक अस्पतालका मेसु डा. टंक बाराकोटी पनि विमा संचालन भएका पूर्वका अस्पतालमा एमआरआई सेवा नहुँदा बिमितहरु मारमा परेको बताउँछन् । ‘सबैलाई एमआरआई चाहिने त होइन् । तर, पनि आवश्यकता परेका बिरामीहरुले बिमाबाट यो सेवा लिन नपाउँदा समस्या भएको छ ।’

नोवेल मेडिकल कलेजका प्रबन्ध नारायण दाहालका अनुसार विमा कार्यक्रम सञ्चालन हुँदा विमाअन्तर्गतबाट एमआरआई गर्ने बिरामी मात्र दैनिक ७० देखि ८० जना हुने गरेका थिए । बीएण्डसी मेडिकल कलेजका जनसम्पर्क अधिकृत प्रमिस गिरीका अनुसार विमाअन्तर्गत एमआरआई गर्ने बिरामी मासिक ६ देखि ८ सयसम्म हुने गरेका थिए ।

त्यसैगरी, विराट मेडिकल कलेजमा पनि विमाअन्तर्गत मासिक ६ सयभन्दा बढीको एमआरआई सेवा लिने गरेको अस्पतालका अध्यक्ष डा. ज्ञानेन्द्र कार्कीले बताए । ‘जनताले सरकारी दरमा गुणस्तरीय सेवा लिने जनता बन्चित भइरहेका छन्,’ डा. कार्की भन्छन्, ‘सरकार पटक्कै संवेदनशील भएन ।’


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ