२०८१ वैशाख १९, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारवीरको ९४ वेडको अत्याधुनिक भवन अझै किन सञ्चालनमा आएन ?

वीरको ९४ वेडको अत्याधुनिक भवन अझै किन सञ्चालनमा आएन ?


काठमाडौं–वीर अस्पतालको मुख्य भवनको पछाडि तीनतले सेतो भवन छ । ९४ वेडको उक्त भवन जापानको सरकारी सहयोग नियोग (जाइका)ले ८० करोड लागतमा निर्माण गरिदिएको हो ।

गत  असार २७ गते उपप्रधान, स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवलले उक्त नवनिर्मित भवनको उदघाटन गरेका थिए । वीरमा बिरामी बढी भएर बेडहरु नपाइरहेका बेला जाइकाले निर्माण सम्पन्न गरी नेपाल सरकारलाई हस्तान्तरण गरेको तीन महिनाभन्दा बढी समय भएपनि सरोकारवाला निकायहरु अझै उक्त भवन सञ्चालनमा उदासिन छन् । जसका कारण भवन निर्माण सकिएको लामो समय बित्दा पनि बिरामी बेड नपाएर फर्किन विवश छन् भने अस्पतालका सेवाहरू पनि ठाउँ अभावका कारण प्रभावकारी बन्न सकेका छैनन् ।

उक्त अत्याधुनिक सुविधासम्पन्न भवनमा बत्तीको व्याकअप, स्टाफहरुका लागि ब्यवस्थित कक्ष, हिटिङ र लाईटिङ सिस्टम, सेन्सरयुक्त धाराहरु र अपांगमैत्री संरचनाको पनि उचित व्यवस्था गरिएको छ । बिरामी कुरुवाका लागि पनि बस्ने फराकिलो ठाउँको व्यवस्था छ ।

भवनमा मुटु (कार्डियोलोजी), मिर्गौला (नेफ्रोलोजी) र ग्यास्ट्रो विभाग सञ्चालन गर्ने तयारी छ । अस्पतालका निर्देशक डा. केदार सेञ्चुरीका अनुसार कार्डियोलोजीको कुनै पनि सेवा सञ्चालनमा आएको छैन । अन्य दुई विभाग भने आंशिक रुपमा सञ्चालनमा आएका छन् । नेफ्रोलोजीको डाइलेसिस सेवा तथा ग्यास्ट्रोलोजीको इन्डोस्कोपी र केहि अन्य सेवा सञ्चालनमा आएको डा. सेञ्चुरीले जानकारी दिए ।

जनशक्ति, मेसिन र बजेट अभाव

निर्देशक डा. सेञ्चुरीका अनुसार जनशक्ति, मेसिन बजेट अभावका कारण उक्त भवन पूर्ण रुपमा सञ्चालन गर्न नसकिएको हो । ‘नयाँ विल्डिङका लागि सय जनाभन्दा बढी स्टाफ नर्स आवश्यक छ,’ उनले भने, ‘जबकी पूरानै संरचनाका लागि ४० जनाको दरबन्दी रिक्त छ ।’

उनका अनुसार डाक्टरको भने अभाव छैन । नयाँ विभाग सञ्चालनका लागि स्टाफ नर्सको साथै कार्यालय सहयोगी, टेक्निसियनलगायतका जनशक्ति समेत थप गर्नुपर्ने हुन्छ । तर, अस्पतालमा हाल सञ्चालित भवनकै लागि दरबन्दी रिक्त रहेको अवस्थामा नयाँ भवनबाट समेत सेवा दिँदा अहिलेको जनशक्तिले नभ्याउने डा. सेन्चुरीले बताए ।

उक्त भवनका लागि आवश्यक उपकरण समेत छैन । भवन निर्माणका क्रममा केही उपकरण जाइकाले व्यवस्था गर्ने र अन्य आवश्यक उपकरण स्वास्थ्य मन्त्रालयले खरिद् गर्ने सम्झौता भएको थियो ।

नयाँ भवनमा विभाग सञ्चालनका लागि वीरको तर्फबाट धेरै अघिदेखि पहल भएपनि स्वास्थ्य मन्त्रालयको त्यसमा चासो दिएको छैन् । एकातिर वीरसँग पर्याप्त बजेट छैन भने अर्कातिर पूरानो दरबन्दी नै पूरा छैन् ।

जसका कारण नयाँ भवनमा हेभि इक्वीपमेन्ट खरिद गर्न सम्भव नभएको वीर प्रशासनको भनाइ छ । ‘नयाँ भवन सञ्चालन गर्न हामीले ५१ करोड माग गरेका थियौं । तर १ करोड मात्र निकासा भयो, त्यो पनि आर्थिक वर्षको अन्त्यतिर,’ डा. सेन्चुरीले भने ।

‘करिब ५ महिनादेखि हामीले प्रयास गरिरहेका छौं,’ डा. सेञ्चुरी भन्छन्, ‘दरबन्दी पूर्ति गर्नका लागि पत्र पनि पठाइसक्यौं । अहिले पनि त्यहाँबाट निर्णय भइसकेको छैन ।’ दरबन्दी थप गर्न आफूहरुले एक वर्ष अगाडी नै पत्र पठाएपनि मन्त्रालयले निर्णय गर्न नसकेको उनले बताए ।

 

 

 


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ