२०८१ वैशाख २९, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्ययुआरएल पत्रकारिता पुरस्कार २०७९ आरजु विष्टलाई

युआरएल पत्रकारिता पुरस्कार २०७९ आरजु विष्टलाई


पोखरा – युआरएल पत्रकारिता पुरस्कार २०७९ पत्रकार आरजु विष्ट सल्यानीलाई प्रदान गरिएको छ । युनाइटेड रेफरेन्स ल्याब्रोटरी (युआरएल) द्वारा स्थापित उक्त पुरस्कार नवौँ वार्षिकोत्सवका अवसरमा विष्टलाई प्रदान गरिएको हो ।

पुरस्कारको राशि नगद २० हजार र सम्मान पत्र रहेको छ । नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य त्रिभुवन पौडेल, संयोजक तथा डा सुरेश पौडेल र पत्रकार वासुदेव मिश्र सदस्य रहेको प्रतिभा छनोट समितिले सल्यानीलाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको थियो । करिब ३ दशक पत्रकारिता गरेका विष्टलाई स्वास्थ्य क्षेत्रमा कलम चलाएकोमा सम्मान गरिएको हो ।

२०७० सालमा पोखराको नयाँ सडकमा स्थापित युआरएलले हाल ११ शाखा र ४ सेवा केन्द्रबाट सेवा दिइरहेको छ । संस्थाका निर्देशक सन्दीप अर्यालले राजधानी काठमाडौँमा समेत नहुने कतिपय परीक्षणहरू युआरएलमा हुने गरेको बताए । संस्थाका निर्देशक गणेश कोइरालाले संस्थाले सामाजिक उत्तरदायित्वलाई ख्याल गर्दै निःशुल्क शिविरसमेत सञ्चालन गर्दै आएको जानकारी दिए ।

एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्यूसन अफ नेपाल (अफिन) गण्डकी प्रदेश अध्यक्ष अशोक पालिखेले पोखरामा उपचार र ल्याब सेवा काठमाडौँको भन्दा सस्तो भएको दाबी गरे । पोखरामा समग्र ल्याबहरूमा १५ करोड रुपैयाँ लगानी रहेको र अस्पतालहरूमा यस्तो लगानी १० अर्ब रहेको उनले जानकारी दिए । उनले पोखराको एउटै अस्पतालले डायलिसिस बापत ७०/८० लाखसम्म सरकारसँग लिन बाँकी रहँदो निःशुल्क सेवा सञ्चालनमा जटिलता भएको बताए ।

युआरएलका अध्यक्ष एवं कार्यक्रमका सभापति ठाकुरप्रसाद पन्तले संस्थालाई अहिलेको अवस्थामा ल्याउन सहयोग पुर्‍याउनेप्रति आभार व्यक्त गरे । कार्यक्रममा पोखराका मेयर धनराज आचार्य, पत्रकार बद्री विनोद प्रतीक, प्रा.डा बुद्धिवहादुर थापा,प्रतिभा छनोट समिति संयोजक त्रिभुवन पौडेल लगायतले बोलेका थिए । यसअघि उक्त पुरस्कारबाट ऋषि खतिवडा, यदुनाथ बन्जारा, सुरेन्द्र पौडेल, प्रदीप पौडेल र हरि बास्तोला सम्मानित भइसकेका छन् ।


क्याटेगोरी : अन्य, गण्डकी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ