२०८१ वैशाख २३, आईतबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश ११० करोड लगानीमा विराटनगरमा ‘हाजी आँखा अस्पताल’ संचालन, ५० जनाले पाए रोजगारी

१० करोड लगानीमा विराटनगरमा ‘हाजी आँखा अस्पताल’ संचालन, ५० जनाले पाए रोजगारी


विराटनगर—विराटनगर-१४ रानीमा १० करोड लगानीमा हाजी आँखा अस्पताल संचालनमा आएको छ । सोमबार एक कार्यक्रम आयोजना गरी ५० शैय्याको अस्पताल प्रदेश १ का प्रदेश प्रमुख पर्शुराम खापुङले उद्घाटन गरेपछि संचालनमा आएको हो ।

अत्याधुनिक उपकरणहरू जडान गरिएको आँखा अस्पतालमा इटालीको प्रविधी फेगोबाट आँखाको शल्यक्रिया हुने गरेको छ । आधुनिक उपकरणहरुबाट अस्पतालमा आँखा सम्बन्धी सम्पूर्ण उपचार हुने गरेको अस्पतालका संचालक शैलेन्द्र महतोले बताए ।

‘हस्पिटलमा इटाली र जर्मनबाट प्रविधिहरू हामीले भित्र्याएका छौं,’ उनले भने, ‘यहाँ दक्ष चिकित्सकहरूबाट आँखाको सम्पूर्ण उपचार हुने गरेको छ ।’ अस्पतालमा दुई जना नेत्र रोग विशेषज्ञ चिकित्सकसहित ५० जना स्वास्थ्यकर्मीहरूबाट उपचार हुने उनले बताए । जसमा ३० जना पेरामेडिकल छन् । सबै गरी अस्पतालमा ५० जनाले रोजगारी पाएका छन् ।

ओपीडीमा दैनिक २०० जना बिरामी हेर्न सक्ने क्षमताको जनशक्ति र संरचना रहेको हस्पिटलको क्षेत्रफल कुल ९ कठ्ठा रहेको छ । जसमध्ये ४ कठ्ठा क्षेत्रफलमा हस्पिटलको संरचना छ । चाँडै ४ सय शैय्यामा हस्पिटल विस्तार गर्ने योजना रहेको संस्थापक संचालक तेजलाल कर्णले जानकारी दिए । हस्पिटल उद्घाटन गरिएको अवसर पारेर मंसिर २९ गतेसम्म ओपीडी निःशुल्क र ल्याबमा ५० प्रतिशत छुटको घोषणा गरिएको उनले बताए ।

हस्पिटलमा कम्प्युटराइज मेसिनद्धारा आँखाको जाँच, जलविन्दुको जाँच तथा शल्यक्रिया, आँखाको ढकनी तथा आँशु नली सम्बन्धी सम्पूर्ण शल्यक्रिया, आँखामा मासु पलाएको, गाँठो परेको तथा ट्युमरहरुको शल्यक्रिया, आँखाको कस्मेटिक शल्यक्रियादेखि कृत्रिम आँखा सेवा पनि प्रदान हुने संचालकले जानकारी दिए ।

हस्पिटलको उद्घाटन गर्दै प्रदेश प्रमुख खापुङले गुणस्तरीय उपचारसँगै सेवाग्राही मैत्री सेवा प्रवाह गरिनुपर्नेमा जोड दिए । ‘हस्पिटल सेवामूलक संस्था हो । त्यसैले यहाँ आउने बिरामीलाई सेवाको भावले गुणस्तरीय उपचार सेवा प्रवाह गरिनुपर्दछ,’ उनले भने, ‘यहाँ आउने बिरामीको मन जित्ने गरी सेवा प्रवाहमा हस्पिटल लाग्नु पर्दछ ।’

कार्यक्रममा प्रदेश १ का स्वास्थ्यमन्त्री जयराम यादवले गुणस्तरीय सेवा प्रदान गरेर बिरामीको मन जित्नुपर्नेमा जोड दिए । हाजी आँखा अस्पतालमा ९ जना संचालक रहेका छन् ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ