२०८१ साउन ९, बुधबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशजुम्लाका दुर्गम गाउँ बस्तीमा स्वास्थ्य शिविर

जुम्लाका दुर्गम गाउँ बस्तीमा स्वास्थ्य शिविर


जुम्ला – जुम्लाको सदरमुकाम खलङ्गामा पश्चिम नेपालकै तीन सय शय्याको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल रहेको छ । तर पनि यहाँका दुर्गम गाउँ बस्तीका अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक भौगोलिक कठिनाइका कारण सहजै रूपमा अस्पतालमा आएर स्वास्थ्य परीक्षण गर्न सकिने अवस्था नभएकोले  हिमा गाउँपालिकाले गाउँमै स्वास्थ्य शिविरमार्फत सेवा दिन थालेको हो ।

सो पालिकाको वडा – १ बड्की गाउँमा एकीकृत निःशुल्क स्वास्थ्य घुम्ती शिविर सञ्चालनमा ल्याएको गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले बताए । पुस २ गतेदेखि ४ गतेसम्म शिविर सञ्चालन गरिएको हो ।

गाउँपालिकाको पहलमा विशेषज्ञ डाक्टरसहित गाउँमा घुम्ती शिविर सञ्चालन गरिएको हो । अध्यक्ष शाहीले भने, “गाउँमै स्वास्थ्य शिविर बसेपछि सेवा लिने स्थानीयवासीको भिडभाड बढेको छ । ”

गाउँपालिकाको आयोजना तथा कादुरी एग्रिकल्चरल एण्ड एशोशियशन बिट्रिस गोर्खाजु नेपाल कास्कीको आर्थिक तथा प्राविधिक सहयोगमा आयोजना गरिएको सो शिविरमा पहिलो दिन विभिन्न रोगका करिब ९ सय जनाले सेवा लिएका छन् ।

हिमा गाउँपालिकाका स्थानीयवासीले स्त्रीरोग सम्बन्धी जाँच तथा उपचार, आँखा जाँच तथा मोतिया विन्दुको शल्यक्रिया, दाँतको उपचार, अन्य सामान्य स्वास्थ्य जाँच तथा उपचार सेवा दिनुका साथै चिकित्सकको सल्लाह अनुसार औषधी वितरण गरिएको छ । उक्त शिविरमा नौ जना आँखाका बिरामीको मोतिया विन्दुको शल्यक्रिया समेत गरिएको हिमा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रणबहादुर बुढाले बताए ।

पालिकाको बड्की, देवारगाउँ, आचार्यलिही, मोफ्ला, ओदी, जोगिवाडा, वाजागाडा सहित आसपासका अन्य गाउँका नागरिकले पनि निःशुल्क स्वास्थ्य शिविरमा उपचार गर्न आएका छन् । गाउँमै स्वास्थ्य शिविर सञ्चालनमा आएपछि यहाँका नागरिकलाई निकै राहत मिलेको स्थानीयवासी खम्बा शाहीले बताए ।

हिमाका नागरिकको आधारभूत आवश्यकता मध्ये स्वास्थ्य जाँच पनि एक भएको र अब पालिकाले गाउँ केन्द्रित सेवा दिन जनप्रतिनिधि र कर्मचारी लागि पर्ने बताइएको छ । त्यस्तै, यहाँका स्थानीयवासीको अपेक्षा अनुसार काम गरिने हिमा गाउँपालिकाले जनाएको छ ।


क्याटेगोरी : कर्णाली प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ