२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १औषधी भन्दै खाद्यपुरक सामाग्री विक्री 

औषधी भन्दै खाद्यपुरक सामाग्री विक्री 

बिरामीलाई भार पर्ने ‘न्युट्रास्युटीकल’ जफत गर्दै विभाग 


विराटनगर –  बिरामीलाई आर्थिक रूपमा भार पर्ने ‘न्युट्रास्युटीकल’ (खाद्यपूरक) सामाग्रीलाई औषधी भन्दै फार्मेसीहरूले विक्री वितरण गर्ने गरेको पाइएको छ ।

खाद्य पूरक सामाग्रीलाई औषधी भन्दै विक्री वितरण गरेको पाइएपछि औषधी व्यवस्था विभाग विराटनगरले न्युट्रास्युटीकल बरामद गरी नष्ट गर्ने अभियान सुरु गरेको हो ।

तीन वर्ष अगाडी औषधी व्यवस्था विभागले खाद्यपूरक सामाग्री चिकित्सकले सिफारिस गरिदिने र औषधी भन्दै फार्मेसीहरूबाट बिक्री वितरण गर्न थालेपछि रोक लगाएको थियो । विभागले खाद्य पूरक सामाग्री फार्मेसीमा बिक्री वितरण गरेको पाइए बरामद गर्न थालेपछि यो केही हदसम्म नियन्त्रणमा आएको थियो ।

अहिले फेरी विराटनगर, सुनसरी र झापाका ठुला हस्पिटल भित्र र अगाडीका फार्मेसीहरूबाट खुलेआम खाद्यपूरक सामाग्री औषधी भन्दै बिरामीलाई बिक्री वितरण गर्न थालेपछि विभागले बरामद गरी नष्ट गर्ने अभियान सुरु गरेको हो ।

अभियान सुरु गरेको सात महिनामा २९ वटा फार्मेसीले औषधी भन्दै बिक्री गर्न राखेको ठुलो परिमाणमा खाद्यपूरक सामाग्री नियन्त्रणमा लिएको औषधी व्यवस्था विभाग विराटनगरका प्रमुख टेकेन्द्र मिश्रले जानकारी दिए ।  विभागले नियन्त्रणमा लिएको खाद्यपूरक सामाग्री विराटनगरको ठुला हस्पिटल भित्रबाट बरामद गरेको छ ।

नोबेल मेडिकल कलेजभित्रको सुस्वास्थ्य फार्मेसी, मेडिकेम फर्मा, विराटनगरको हस्पिटल चौकमा रहेको उज्जवल फर्मा, फेसबुक फार्मेसी, शिवराम फार्मेसी,  श्री गणेश ड्रग हाउस, विराट नर्सिङहोम भित्रको विराटनगर अस्पताल फार्मेसी, युनिक फार्मेसीबाट विभागले ठुलो परिमाणमा बिक्रीको लागि राखिएको खाद्यपूरक सामाग्री नियन्त्रणमा लिएको थियो ।

यस्तै विराटनगरको सप्तकोसी फार्मेसी, सीताराम फार्मेसी, झापाको दमकको मन्जिता फार्मेसी, सयरा फार्मेसी, तोयानाथ फार्मेसी, जुनतारा फार्मेसी,  अतुल्यन मेडिकल, आयुव फार्मेसी, मनमोहन अस्पताल फार्मेसीबाट खाद्य  पूरक सामाग्री नियन्त्रणमा लिएको विभागले जनाएको छ ।

खाद्यपूरक सामाग्री डिपार्टमेन्ट स्टोरमा राखेर विक्री वितरण गरिने सामान हो । तर, यहाँ भारतमा किलोको हिसाबले जोखेर पाइने खाद्य पूरक सामाग्री नेपालमा ल्याएपछि ३ सयदेखि पाँच सय रुपैयाँसम्म पत्ताको हिसाबले औषधी भन्दै विक्री वितरण गर्ने गरेको पाइएको हो । यसरी डिपार्टमेन्ट स्टोरमा राखेर विक्री वितरण गर्ने खाद्यपूरक सामाग्रीलाई औषधी भन्दै विक्री वितरण हुने गरेको पाइएपछि फार्मेसीहरू अनुगमन गर्दै बरामद गर्ने र नष्ट गर्ने अभियान सुरु गरिएको उनले बताए । कमिसनको चक्करमा चिकित्सकले पनि
‘न्युट्रास्युटीकल’ सिफारिस गरिदिने गरेको छन् ।

खाद्यपूरक वा आहारपूरक सामाग्रीहरूको जथाभाबी प्रयोगले बिरामी, बिरामीको परिवार तथा समाजलाई पुर्‍याउने आर्थिक नोक्सान हो । आर्थिक प्रलोभनमा परी चिकित्सकहरूले अत्यन्त महँगा खाद्यपूरक वा आहारपूरक सामाग्रीहरूको सिफारिस गर्ने गरेकाले सर्वसाधारण मानिसहरूले त्यसको ठुलो आर्थिक बोझ चुकाउनु परेको छ ।

कतिपय बिरामीलाई चिकित्सकहरूले ६ महिना देखि १ वर्ष सम्मका लागी त्यसता सामाग्रीहरूको सिफारिस गर्ने गरेका छन् । चिकित्सकहरूले त्यस्ता सामाग्रीहरू सिफारिस गर्दा फलानो पसलमा गएर किन्नु भनेर तोकेरै भन्ने र किनिसकेपछि आएर मलाई देखाउनु समेत भन्ने गरेका छन् । यसबाट खाद्यपूरक वा आहारपूरक सामाग्रीहरूको गलत प्रयोग कुन हदसम्म हुने गरेको छ भन्न कुरा पुष्टि हुने गरेको छ ।

खाद्य तथा गुण नियन्त्रण विभागबाट अनुमति लिएर आयात गरिएका खाद्यपूरक वा आहारपूरक सामाग्रीहरूको औषधि पसलहरूबाट बिक्री वितरण गरेको पाइएकाले त्यस्ता सामाग्रीहरूको जफत गर्ने गरिएको छ । ‘औषधि ऐन बमोजिम सञ्चालन हुने भएकाले औषधि पसलबाट त्यस्ता सामाग्रीहरूको बिक्री वितरण गर्नु गैर कानुनी कार्य हो,’ औषधी व्यवस्था विभाग विराटनगरका प्रमुख मिश्राले भने, ‘अब अझै व्यवस्थित तरिकाले विभाग यस किसिमका सामाग्रीहरूको औषधि पसलबाट हुने बिक्रीलाई नियन्त्रण गर्न तत्परताका साथ लाग्नेछ ।

खाद्यपूरक सामाग्रीहरूको प्रयोग बिरामीको उपचारका लागी गर्नु हुँदैन । सो कुरा स्वयं त्यस्ता सामाग्रीहरूका खोलमा ‘नट फर मेडिसिन युज भनेर लेखिएको हुन्छ । तर ठुला अस्पतालहरूबाट त्यस्ता सामाग्रीहरूको सिफारिस हुने र अस्पताल अगाडी रहेका फार्मेसीबाट बिरामीहरूलाई विभिन्न किसिमका खाद्यपूरक वा आहारपूरक सामाग्रीहरूको बिक्री वितरण निर्बाध रूपमा हुने गरेको छ ।’


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ