२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशचिसो बढेसँगै जुम्लामा रुघाखोकीका बिरामी बढे

चिसो बढेसँगै जुम्लामा रुघाखोकीका बिरामी बढे


जुम्ला – पुस महिनाको दोस्रो साता जुम्लामा चिसो निकै बढेको छ । पानी जमेर बरफ बन्छ । तापक्रम माइनस ८ डिग्री सेल्सियससम्म पुग्ने गरेको छ । जुम्लामा तीन वटा तापक्रम नाप्ने केन्द्र रहेका छन् । देपालगाउँमा माइनस ८ डिग्री सेल्सियस, एयरपोर्टमा ७ दशमलव ९ र खलंगामा ४ दशमलव ७ डिग्री सेल्सियस रहेको छ ।

जल तथा मौसम विज्ञान फिल्ड कार्यालय जुम्लाका इन्चार्ज महेश शर्माका अनुसार उचाइका आधारमा तापक्रम फरक पर्ने गरेको छ । जति उचाइमा गाउँ बस्ती छन् । त्यहाँ चिसो बढ्दै गएको छ । यहाँको तापक्रम दैनिक अप-डाउन भइरहेको छ । यस वर्ष अहिलेसम्म सबैभन्दा बढी तापक्रम झरेर माइनस ८ पुगेको छ ।

चिसोले रुघाखोकीका बिरामी बढे 
विगत एक सातादेखि बढेको चिसोको कारण जुम्ला जिल्ला अस्पतालमा बिरामीको संख्यामा वृद्धि भएको छ । चिसो हावा, मौसम परिवर्तनका कारण अस्पतालमा बिरामीको सङ्ख्यामा वृद्धि  भएको हो ।
उपचारका लागि पहिलेभन्दा बढी बिरामी आउन थालेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका मेडिसिन विभागका डाक्टर राजेन्द्रमणि गिरीले बताए । उनका अनुसार चिसोकै कारण यहाँका स्वास्थ्य केन्द्रलगायत अस्पतालमा ज्वरो, रुघाखोकी, दम, कोल्ड डायरियाका बिरामीको सङ्ख्यामा वृद्धि भएको छ ।

सामान्य अवस्थामा औसतमा एक सय जना बिरामी उपचारका लागि आउने गरेका थिए । तर पछिल्लो समय दैनिक दुई सय ९० जनासम्म बिरामी उपचारका लागि आउने गरेको डा. गिरीले जानकारी दिए ।
लगातार बढ्दै गएको जाडोबाट बालबालिका, वृद्ध वृद्धा र सुत्केरी महिला बढी प्रभावित भएका छन् । साथै आर्थिक रुपले कमजोर व्यक्तिसमेत बढ्दै गएको जाडोको प्रत्यक्ष मारमा परेका छन् । बालबालिका, वृद्ध वृद्धा र सुत्केरी महिलामा रुघाखोकी, ज्वरो, दम, हात गोडा सुनिने, दुख्नेलगायत समस्या देखिएको डा गिरीले बताए ।

चिसोबाट जोगिन दाउराको जोहो
जुम्लामा अत्यधिक चिसो बढेपछि दाउरा जोहो गर्न थालिएको छ । यहाँका महिला बिहानै दाउरा खोज्न जङ्गल जाने गर्छन् र बेलुका मात्रै घर फर्कन्छन् । तातोपानी गाउँपालिका – ६ की आशादेवि पराजुली भन्छिन्, ‘दाउरा बालेर मात्र चिसोबाट बच्न सकिन्छ । यसका लागि बिहान बेलुकाको समयमा दाउराको जोहो गर्नमै जुट्ने गरेका छौँ ।’

बिहान ७ बजेदेखि नै दाउरा सङ्कलनका लागी ४ घण्टाको उकालो बाटो हिँड्नुपर्छ । दाउरा सङ्कलन गर्दै दिउँसोको १ बज्छ । दाउराको बिटो (भारी) तयार गरी घर फर्किँदा बेलुकाको ७ बज्ने गर्छ । यसरी नै दाउरा सङ्कलन  गरेर मात्र घर परिवारका सदस्यहरूलाई जाडोबाट जोगाउने विकल्प हुने स्थानीय बताउँछन् । जङ्गल टाढा भएकाले दाउरा सङ्कलन गर्न पनि सकस हुने  गरेको छ । जङ्गल मासिँदै गएकोले दाउरा पाउनै मुस्किल पर्ने गरेको छ ।

सदरमुकाम आसपासमा पनि  चिसोमा दाउरा बाल्नेहरू बढेपछि दाउरा बेच्ने क्रम पनि सुरु भएको छ । कतिपयका लागि त नियमित घर खर्च चलाउन दाउरा बिक्री गर्नु उपयुक्त पेसा बनेको छ । विशेष गरी सदरमुकाम र आसपासका बासिन्दाहरूले दाउरा बेच्ने गरेका छन् । एक भारी दाउराको मूल्य एक हजार रुपैयाँ पर्छ ।

जुम्लामा  मङ्सिरदेखि फागुन महिनासम्म अत्यधिक चिसो हुन्छ । यहाँ पुस महिनादेखि फागुन र चैतको अन्तिमसम्म पनि हिउँ पर्छ । हिउँ परेपछि बाटो बन्द हुने भएकाले घरबाहिर निस्कन कठिन हुन्छ । त्यसैले पनि घरदेखि ३ देखि ४ घण्टाको पैदल यात्रा गरेर महिलाहरूले दाउरा सङ्कलन गरी ल्याउने गरेको स्थानीय महिलाहरू बताउँछन् ।


क्याटेगोरी : कर्णाली प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ