२०८१ वैशाख १५, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशलागु औषधको हटस्पट बन्यो जुम्ला, अभिभावकलाई बालबच्चा जोगाउनै मुस्किल !

लागु औषधको हटस्पट बन्यो जुम्ला, अभिभावकलाई बालबच्चा जोगाउनै मुस्किल !


जुम्ला – कर्णाली राजमार्ग ०६२ सालमा खुलेको हो । सडक नखुल्नु अघि जुम्लामा लागु पदार्थको रूपमा स्थानीय स्तरमा उत्पादन हुने भाँगो, (चरेस) अफिम मात्रै थाहा थियो ।

यही स्थानीय स्तरमा पाइने चरेस अफिम लागु पदार्थको रूपमा भन्दा पनि यहाँका बुढापाकाले औषधिका रूपमा प्रयोग गर्ने गरेको सुनिन्थ्यो । तर ०६२ सालपछि जुम्ला राष्ट्रिय सडक सञ्जालमा जोडिएसँगै लागु औषध ब्राउन सुगर भित्रिन थाले । सडक सञ्जाल जोडिएको दुई दशक नपुग्दै जुम्ला लागु औषधिको हटस्पट बन्दै गएको छ ।

अहिले जुम्ली अभिभावकलाई आफ्ना बालबच्चालाई यो लागु औषधिको दुर्व्यसनीबाट जोगाउन निकै मुस्किल हुने गरेको छ । यही कुलतमा बसेका कतिपय बालबच्चालाई अभिभावकले सुधार गृहमा भर्ना गरेका छन् । जुम्लामा लागुऔषध प्रयोग र कारोबार बढ्दै गएको छ । यसलाई नियन्त्रण गर्नका लागि राज्य र अभिभावक उत्तिकै जिम्मेवार हुनु पर्ने देखिएको छ । अभिभावकले पनि आफ्ना बालबच्चा कहाँ के गरी रहेका छन् । अभिभावकले बालबच्चालाई कडा निगरानीमा राख्नु पर्ने देखिएको छ ।

धेरै जसो लागु पदार्थ भारतको रुपडिहाँ नाकाबाट बाँके नेपालगन्ज, सुर्खेत हुँदै कर्णाली प्रदेशका हिमाली जिल्ला जुम्ला, कालिकोट र मुगु जिल्लामा पुग्ने गरेको पाइन्छ । यो तिन वटै जिल्ला सडक सञ्जालमा जोडिएका छन् । भारतको रुपडिहाँमा एक हजार रुपियाँमा खरिद गरेको ब्राउन सुगर जुम्ला, कालिकोट र मुगुमा विक्री गर्दा २०/३० हजार रुपियाँसम्म विक्री गर्ने गर्दछन् । रातारात पैसा कमाउने व्यक्तिहरूले नै लागु औषध जस्तो दुई नम्बर धन्दा गर्ने गरेको पाइन्छ । यसअघि हवाई जहाजमार्फत नेपालगन्जबाट जुम्ला ब्राउन सुगर पुगेको थियो ।

तीन वर्षमा १६ मुद्दा दर्ता, ३७ जना पक्राउ
विशेष गरी नयाँ पुस्ताका युवायुवती लागू औषध प्रयोग तथा ओसार–पसारमा संलग्न हुने गरेको जुम्लाका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले बताए । उनले भने, प्रहरीले विद्यालय र एसइई विद्यार्थीलाई लक्षित गरी जुम्लामा खोलिएका ट्युसन सेन्टरमा समेत लागु औषध सम्बन्धी सचेतनाका कार्यक्रम गर्दै आएको छ । उनका अनुसार प्रहरीको एकल प्रयासले मात्रै आगुऔषध रोक्न सकिँदैन । यसमा स्थानीय सरकार र यहाँ राजनीतिक दल पनि जाग्नु पर्ने जरुरी छ ।

डिएसपी चन्दले सिजा गाउँपालिकाका जनप्रतिनिधि र विद्यालयका प्रधानाध्यापक बिच लागु औषध   निमुर्ल पार्नका लागि अन्तरक्रिया कार्यक्रम गरिएको बताए । उनका अनुसार परिवार तथा अभिभावकको हेलचक्य्राई र निगरानी अभावमा किशोरवस्थाका पुस्ता लागू औषधको लतमा फस्दै जान थालेका छन्  । जुम्ला प्रहरीका अनुसार लागू औषधको लतमा १८ – ४० वर्ष उमेर समूहका व्यक्ति बढी रहेका छन्  ।

जुम्लामा  आर्थिक वर्ष २०७७/०७८ मा लागु औषध ब्राउन सुगर र चरेस गरी ५ वटा मुद्दा दर्ता भएका थिए ।  त्यस्तै  आर्थिक वर्ष २०७८/०७९ मा ब्राउन सुगर र चरेस गरी ७  वटा मुद्दा दर्ता भएका थिए ।

चालु आर्थिक वर्ष ०७९/०८० को पुस दोस्रो सातासम्म ब्राउन सुगर र चरेसका  ४  वटा मुद्दा दर्ता भएका छन् ।   प्रहरीको त्रिवर्षीय तथ्याङ्क हेर्दा  १८–४० वर्ष उमेर समूहका ४४ जना पक्राउ परेका छन् ।  त्यस्तै  १८ वर्ष भन्दा मुनिका ३ जना रहेका छन् ।  त्यस्तै ४०–६० वर्षका २ जना रहेका छन् । प्रहरीको निगरानी बढेसँगै प्रयोगकर्ता पक्राउ पर्ने र मुद्दासमेत बढ्ने गरेको  प्रमुख  जिल्ला अधिकारी  मुकेश कुमार केशरीले बताए ।  उनले भने  जुम्ला लागू औषधको हटस्पट बन्दै छ ।  कक्षा  ८–१२ सम्मका बिद्यार्थीहरु लागु औषधको लतमा फसेको पाइन्छ ।  प्रजिअ केशरीले भने सबैभन्दा  बढी सचेत अभिभावक हुन जरुरी छ ।

यस्तै प्रहरीले तीन वर्षमा ब्राउन सुगर ७९३ दशमलव ९ मिलिग्राम र चरेस ५८० दशमलव ६२ मिलिग्राम बरामद गरेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

सिजा गाउँपालिका अध्यक्ष पुर्णप्रसाद धितालले ब्राउन सुगर,  जस्ता लागुऔषधको विषयमा पालिकाले  पनि सचेतनाका कार्यक्रम गर्ने बताए । उनले लागुऔषध कारोबारको सञ्जाल तोड्न  प्रहरीसँग सहकार्य गर्ने बताए । लागु औषध बारे सूक्ष्म अध्ययन र अनुसन्धान जरुरी रहेको छ । उनले भने पछिल्लो समयमा  लागु औषधको अवस्था गम्भीर देखियो ।  त्यसैले सबै ढङ्गबाट सबै निकायहरू  नियन्त्रणमा लाग्न  आवश्यक छ ।


क्याटेगोरी : कर्णाली प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ