२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्य सेवाबारे प्रधानमन्त्री दाहालद्वारा सचिवलाई आधा दर्जन निर्देशन

स्वास्थ्य सेवाबारे प्रधानमन्त्री दाहालद्वारा सचिवलाई आधा दर्जन निर्देशन

सरकारी अस्पतालको लाइनदेखि स्वास्थ्य विमासम्ममा चासो


काठमाडौं—प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारी अस्पतालको स्तर खस्किएकोमा चासो व्यक्त गरेका छन् । सिंहदरबारमा सोमबार र मंगलबार सचिवहरुलाई निर्देशन दिदैं प्रधानमन्त्रीले सरकारी अस्पताल र सामुदायिक विद्यालयको गुणस्तर खस्किनुको कारण खोज्नुपर्ने बताएका छन् ।

सचिवहरुलाई दिइएको ३० बुँदे निर्देशनको एउटा बुँदामा प्रधानमन्त्री दाहालले भनेका छन्, ‘संघीयतासँग आधारभूत तहको शिक्षा र स्वास्थ्यको जिम्मेवारी स्थानीय तहलाई सुम्पिएको छ। तर, सरकारी अस्पताल र सामुदायिक विद्यालयमा शिक्षाको स्तर किन खस्कियो र यसको निराकरण के हो भन्ने खोजी गर्नैपर्छ ।’

उनले अर्को बुँदामा सीमान्तकृत, श्रमजीवी र समाजको तल्लो वर्गलाई आधारभूत स्वास्थ्य सेवामा राहत दिने उद्देश्यले ल्याइएको १ लाख रुपैयाँको स्वास्थ्य बिमा र विपन्नलाई कडा रोग लागेमा १ लाख रुपैयाँसम्म निःशुल्क उपचार गराउँदा प्रक्रियागत झन्झटले बिरामीले सहुलियत उपभोग गर्न नपाई रकमको अभावमा ज्यानसमेत जाने गरेको गुनासो आएको उल्लेख गरेका छन् । ‘विपन्न नागरिकलाई सरल ढंगले उक्त सहुलियत दिने जिम्मेवारी तपाईहरूको हो,’ प्रधानमन्त्री दाहालले भनेका छन्, ‘तर किन अस्पतालमा नाम दर्ता गराउन र बिमा सुविधा लिनका लागि लाइनमै बिरामीका दिन जान्छ ।’ उनले प्रविधिको यति धेरै विकास भइसक्दा सरकारी अस्पतालमा नामदर्ता गर्नसमेत मान्छेहरूको घण्टौं लाग्छ र सरकारी अस्पतालमा सामान्य शल्यचिकित्सा गराउन ३—४ महिना कुर्नुपर्ने कारणबारे पनि प्रश्न उठाएका छन् ।

‘अस्पतालका प्रयोगशाला र परीक्षण गर्ने मेसिन उपकरण पटकपटक बिग्रिन्छन् र बिग्रेपछि महिनौं बन्दैनन्,’ उनले सरकारी अस्पतालमा टड्कारो प्रश्नका रुपमा उठ्ने गरेको प्रश्न उठाउँदैं भनेका छन्, ‘अनुदानमा दिएका सामग्री स्टोरमा महिनौं थन्किन्छन् र चलनचल्तीमा भएका सामग्री पनि छिट्टै बिग्रिन्छन् । यसको खोजी गरी हटाउने जिम्मेवारी तपाई हामीले लिनुपर्छ ।’

यस्तै, प्रधानमन्त्री दाहालले सरकारी अस्पतालमा बिरामीको उपचार गर्नका लागि लाग्नुपर्ने लाइन एक महिनाभित्र हटाउन र त्यो नहटाए पदाधिकारीलाई दण्डित गर्ने बताएका छन् ।

चीन, जापानलगायतका देशहरुमा कोभिड—१९ को संक्रमण पुनः वृद्धि भइरहेका बेला दाहालले बुस्टर खोपको व्यवस्था गर्न पनि सचिवहरुको बैठकमा स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिए । ‘हाल कोभिड-१९ को संक्रमण पुनः क्रमसः बढ्न लागेको प्रकाशमा आएको,’ उनले भनेका छन्, ‘जनस्तरमा कोरोना फैलिन नदिन आवश्यक निरोधात्मक र प्रवर्धनात्मक कार्यहरु गर्ने । बुष्टर डोज खोपको लागि कोरोनाको भ्याक्सिनको तत्काल प्रबन्ध स्वास्थ्य मन्त्रालयले गर्नुहोला ।’


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ