२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १जिउँदै नवजात शिशुलाई कोशीका चिकित्सकले मृत घोषणा गरिदिएपछि…..

जिउँदै नवजात शिशुलाई कोशीका चिकित्सकले मृत घोषणा गरिदिएपछि…..


विराटनगर– विराटनगरस्थित कोशी अस्पतालको आकस्मिक कक्षमा कार्यरत मेडिकल अफिसर डा.आकाश यादवले बिरामी भएर हस्पिटल ल्याएको जिउँदै नवजात शिशुलाई मृत घोषणा गरिदिएपछि लफडा भएको छ ।

श्वासप्रश्वासमा समस्या भएपछि कोशी ल्याएको १८ दिनको नवजात शिशुलाई डाक्टर यादवले आज बिहान राम्रोसँग स्वास्थ्य उपचार नगरी जिवित बच्चालाई मृत घोषणा गरिदिएपछि लफडा भएको हो ।

मोरङको जहदा गाउँपालिका – ३ भात्तिगन्जकी उमा मुखियाले कोशी अस्पतालमा पुस १७ गते छोरीलाई जन्म दिएकी थिइन् । नर्मल डेलिभरी भएर छोरीलाई जन्म दिएकी नवजात शिशुको तौल १ किलो चार सय ग्राम रहेको थियो । हस्पिटलमा केही दिन बसेपछि उनलाई डिस्चार्ज दिइयो ।

विराटनगर ८ मधुमारा माइती घर रहेको मुखियाले छोरीलाई जन्म दिएपछि माइतीमा बस्दै आएकी थिइन् । उनका श्रीमान् दिलिप मुखिया हुन् । उनी एम्बुलेन्स चालक हुन् । मुखिया कोशी  हस्पिटल बाहिर बस्ने गर्दछन् ।

बुधवार छोरीलाई श्वासप्रश्वासमा समस्या देखिएपछि मुखिया दम्पतीले आठ बजे कोशी अस्पतालको आकस्मिक कक्षमा लिएर आएका थिए ।
ड्युटीमा मेडिकल अफिसर डा. आकाश यादवसहित अहेवहरू लक्ष्मण माझी र टिका भण्डारी रहेका थिए । उनीहरूको ड्युटी  समय बिहान ८ देखि दिउँसो २ बजेसम्म हो ।

आकस्मिक कक्षमा नवजात शिशुलाई राखेपछि चिकित्सक यादवले छोरीको स्वास्थ्य जाँच गरेका थिए । ‘त्यसपछि हामीलाई डा आकाश यादवले भने, ‘छोरीको सास छैन । घर लैजानु ।’ डाक्टरले यति भनेको खबर सुनेपछि श्रीमती उमा र आफन्तहरूको आकस्मिक कक्ष बाहिर रुवाबासी सुरु भएको दिलीपले बताए ।

‘मैले श्रीमतीलाई समात्न थाले । त्यही बिचमा जेठानी दिदीले छोरीलाई बोक्नुभएको रहेछ । आकस्मिक कक्षको शय्याबाट छोरीलाई बाहिर लिएर आउनुभयो । छोरीले हातखुट्टा हल्लाइन् ।

त्यसपछि थाहा भयो । जिउँदो मेरो छोरीलाई डाक्टरको लापरबाहीले मृत भनिदिएको रहेछ,’ दिलीपले भने, ‘विरामीको उपचारमा लापरबाही गर्ने यस्तो चिकित्सकलाई कडा कारबाही हुनुपर्दछ ।’

अहिले दिलीपले छोरीको उपचारको लागि कोशी अस्पतालदेखि एक सय मिटर दक्षिणमा रहेको गोल्डेन अस्पतालमा राखेर उपचार गर्दै छन् । छोरीलाई अहिले एनआइसियूमा राखेर उपचार सुरु गरिएको छ ।

‘अहिले गोल्डेनमा हस्पिटलमा राखेर छोरीको उपचार सुरु गरेको छु,’ उनले भने, ‘उपचारमा संलग्न चिकित्सकले पनि छोरीको स्वास्थ्य अवस्था क्रमिक रूपमा सुधार भइरहेको बताउनुभएको छ ।’

मृत घोषणा गर्ने चिकित्सकमाथि कुटपिट

उपचारमा लापरबाही गरी जिउँदो नवजात शिशुलाई मृत घोषणा गरेको आरोप लगाउँदै कोशी अस्पतालको आकस्मिक कक्षको डा. आकाश यादवलाई कुटपिट गरिएको छ ।

नवजात शिशुको आफन्तहरूले डा. यादवलाई कुटपिट गरेका हुन् । जिउँदै बच्चालाई मृत घोषणा गरेको भन्दै आक्रोशित भएका आफन्तहरूले यादवलाई कुटपिट गरेका थिए । कुटपिटबाट डाक्टर यादवको टाउकोमा चोटपटक लागेको छ ।

चिकित्सकमाथि आक्रमण गर्ने तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले मनोज मुखिया, मन्नु मुखिया र अर्को एक जना नाम नखुलेको व्यक्तिलाई नियन्त्रणमा लिएको दिलिप मुखियाले बताए । कोशी अस्पतालबाट नियन्त्रणमा लिएर प्रहरीले उनीहरूलाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखेको बताइएको छ ।

अहिले नवजात शिशुको आफन्त र हस्पिटल प्रशासनबिच छलफल चलिरहेको छ । कोशी अस्पतालका मेसु डा. लक्ष्मीनारयण यादवले घटना विषयमा बुझने काम भइरहेको बताए ।

‘नवजात शिशुलाई हस्पिटल ल्याउँदा मुटुको धड्न थिएन । सास पनि चलेको थिएन उपचारमा संलग्न चिकित्सकले भनेका छन् । त्यस विषयमा बुझने काम भइरहेको छ,’ उनले भने, ‘यदि उपचारमा लापरबाही भएको पाइएपछि हस्पिटलले एक्सन लिनेछ ।’


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ