२०८१ असार ३, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारडा. भगवानको अस्पताललाई केन्द्र र प्रदेश सरकारबाट थप १० करोड अनुदान

डा. भगवानको अस्पताललाई केन्द्र र प्रदेश सरकारबाट थप १० करोड अनुदान


काठमाडौं—डा. भगवान कोइरालाको नेतृत्वमा काठमाडौंको बुढानिलकण्ठमा बन्दैं गरेको काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थका लागि नेपाल सरकार र बागमती प्रदेश सरकारले थप १० करोड रुपैयाँ अनुदान दिएका छन् । संघीय सरकारले स्वास्थ्य मन्त्रालयअन्तर्गतको बाल स्वास्थ्य कार्यक्रमका लागि छुट्याएको ५ करोड रुपैयाँ अनुदान अर्थ मन्त्रालयले सिधै उक्त अस्पतालका नाममा रातो किताबमा चढाएको छ ।

अर्थ मन्त्रालयले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थको नाममा पुँजीगत अनुदान शीर्षकमा सो रकम छुट्याएको छ । बजेट भाषणमा बाल स्वास्थ्यका लागि पुजीगत अनुदान भनेर छुट्याइएको सो रकम स्वास्थ्य मन्त्रालयले कार्यक्रम नै बनाउन नपाएर अर्थ सिधैं हाइज्याक गरेर डा. कोइराला नेतृत्वको अस्पताललाई दिएको हो ।

‘बजेटमा बाल स्वास्थ्य विकासका लागि पुँजीगत अनुदान भनेर यो छुट्याइएको थियो,’ स्वास्थ्यका एक अधिकारी भन्छन्, ‘अहिले बजेट शीर्षक छुट्याएर आउँदा त सिधैं डा.साबको अस्पतालको नाममा तोकिएर आएछ । मन्त्रालयका सबैं जना छक्क परेका छन् ।’

त्यसैगरी, बागमती प्रदेश सरकारले पनि काठमाडौंको बुढानिलकण्ठमा निर्माणाधीन रहेको डा. कोइराला नेतृत्वको अस्पतालका लागि ५ करोड रुपैयाँ अनुदान दिने निर्णय गरेको छ । बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय स्रोतकाअनुसार सो अस्पतालले रकम अस्पतालका निकासा गर्न कागजात पेश गरिसकेको छ । पेश गरेका कागजातका आधारमा सिधैं अस्पतालका नाममा वित्तिय हस्तान्तरण गर्ने तयारी अन्तिम चरणमा पुगेको मन्त्रालय स्रोतको दावी छ ।

काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थका लागि अघिल्लो आर्थिक वर्षमा संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट २ करोड २९ लाख रुपैयाँ अनुदान लिइसकेको छ । त्यसैगरी, काठमाडौं महानगरपालिकाले चार वर्षभित्र उपलब्ध गराउने गरी ४ करोड रुपैयाँ अनुदान दिने सम्झौता गरेको छ ।

काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थका लागि नेपाल सरकारले बुढानिलकण्ठमा ४२ रोपनी सरकारी जग्गासमेत उपलब्ध गराइसकेको छ । डा कोइरालाले बालबालिकाको मुटु उपचारका लागि भनेर काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ अस्पताल काठमाडौंसहित देशका सात वटै प्रदेशमा खोल्ने योजना अगाडि बढाइरहेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ