२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १संक्रामक रोग तथा सघन उपचार केन्द्रमा १८ भेन्टिलेटरसहित २१ शैय्याको आईसीयु प्रयोगविहीन

संक्रामक रोग तथा सघन उपचार केन्द्रमा १८ भेन्टिलेटरसहित २१ शैय्याको आईसीयु प्रयोगविहीन

४७ वटा एचडियुसमेत रहेको १६० शैय्याको अस्पताल राज्यको वेवास्तामा


विराटनगर—कोभिड–१९ महामारीका बेला उपचारका लागि ल्याइएका भेन्टिलेटरसहितको आईसीयु र एचडियु विराटनगरस्थित संक्रामक रोग तथा सघन उपचार केन्द्रमा प्रयोगविहीन बनेका छन् । महामारी सुरु भएपछि देशभरका अस्पतालमा पठाइएकामध्ये सघन उपचार केन्द्रको १८ भेन्टिलेटरसहित २१ शैय्याको आईसीयु र ४७ वटा एचडियु प्रयोगविहीन बनेको हो ।

कोभिड–१९ संक्रमण उच्च रहेका बेला ‘क्रिटिकल केयर’का लागि प्रदेश १ सरकार माहतह रहेको यो अस्पतालमा भेन्टिलेटरसहितको आईसीयु संचालनमा ल्याइएको थियो । कोभिडका बिरामी घट्दै गएपछि यसको उचित व्यवस्थापन र प्रयोग नगर्दा भेन्टिलेटरसहितको आईसीयु र एचडियु प्रयोगविहीन बनेको हो ।

कोभिड–१९ महामारीको बेला विराटनगर–१० नेशनल ट्रेडिङको जग्गामा निर्माण गरिएको यो अस्पतालको सुरुमा कोशी कोभिड–१९ उपचार केन्द्र नामकरण गरिएको थियो । कोभिड घटदैं गएपछि मन्त्रिपरिषदको बैठकले संक्रामक रोग तथा सघन उपचार केन्द्रको रुपमा विकास गर्ने योजना बनाएर अगाडि लैजाने योजना बनायो । त्यसअनुसार नाम परिवर्तन भयो । तर, स्थायी अस्पतालका रुपमा विकास गरेर स्वास्थ्य सेवामा यो संस्थालाई अगाडि बढाउन सकेन् ।

नयाँ स्वरुपमा सञ्चालनमा ल्याउने भनिएको अस्पतालमा सामान्य उपचारबाहेक अन्य सेवा भने सञ्चालन हुन सकेको छैन । कोभिड–१९ महामारीको बेला निजी अस्पतालहरुले बिरामी लिन नमानेको अवस्थामा प्रदेश सरकारले करिब एक करोड रुपैयाँ खर्चेर कोभिड अस्पताल निर्माण गरेको थियो ।

२१ चैत ०७६ देखि सञ्चालनमा आएको अस्पतालमा ५ बैशाख ०७७ देखि कोभिड संक्रमित बिरामीको उपचार गरिएको थियो । कोभिड–१९ को समयमा प्रभावकारी रहेको अस्पताललाई नागरिक समाजसमेतको सहकार्यमा विस्तार गरेर १६० शैय्याको बनाइएको थियो । अस्पतालमा अहिले १८ भेन्टिलेटरसहित २१ शैय्याको आईसीयु र ४७ वटा एचडियु बेड तयारी अवस्थामा रहेको छ ।

स्वीस सरकारको ४ करोड रुपैयाँ सहयोगमा सहरी विकास तथा भवन निर्माण इकाईले अस्पतालमा थप संरचना निर्माण गरेको थियो । तर, अस्पतालको भौतिक पूर्वाधारसहित एचडियु र आईसीयुसहित उपकरणहरू अहिले प्रयोगमा छैनन् ।

संक्रामक रोग तथा सघन उपचार केन्द्र पूर्ण रुपमा सञ्चालन नहुँदा त्यहाँ रहेका सामानहरू बिग्रने स्थितिमा छन् । प्रदेश सरकारले आर्थिक वर्ष ०७७/०७८ को बजेटमा कोभिड–१९ उपचार केन्द्रलाई प्रादेशिक सरुवा अस्पतालको रूपमा स्तरोन्नती गर्ने घोषणा गर्दै भौतिक पूर्वाधार विकास र स्वास्थ्य उपकरण खरिद गर्न ५० करोड रुपैयाँ विनियोजन गरेको थियो । तर, त्यसअनुसार अस्पतालले नत संरचना बनाउन सकेको छ न त जनशक्ति नै पाउन सकेको छ । करारमा रहेका कर्मचारीह भर चलिरहेको अस्पतालमा बेलामौका आफूहरूले सरसफाइ गर्ने, रेखदेख गर्ने गरेको एक कर्मचारीले बताए ।

३ असोज ०७९ मा बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले कोशी कोभिड अस्पतालको नाम ‘संक्रामक रोग तथा सघन उपचार केन्द्र’ राख्ने निर्णय गर्दै अस्पतालमा ओपीडी सेवा सुरू गर्ने बताएको थियो । तर, अहिले सामान्य सेवा मात्र सुचारु भएका छन् । मेडिकल अधिकृतको नेतृत्वमा ओपीडी सेवा सुचारु रहेको छ । मेडिकल अधिकृतको १० जनाको दरबन्दी भएपनि ६ जना मात्रै सेवारत छन् । ६ मध्ये पनि ४ जना प्रदेश १ स्वास्थ्य मन्त्रालयअन्तर्गतको जिल्ला अस्पतालमा कार्यरत रहेका छन् भने यहाँ अहिले दुई मात्र मेडिकल अधिकृत कार्यरत रहेका छन् ।

स्टाफ नर्स १८ जनाको दरबन्दी भएपनि १३ जना छन् । १३ जनामा पनि ४ जना कोशी अस्पतालमा र यहाँ ९ जना कार्यरत छन् । उनीहरुले ओपीडी सेवा दिदैं आएका छन् । यहाँ दैनिक २० देखि २५ जना विरामी ओपीडीमा आउने गरेका छन् । अस्पतालमा ५९ जनाको अस्थायी दरबन्दी रहेको छ ।

प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयअन्तर्गत अस्पताल विकास तथा चिकित्सा सेवा महाशाखाका वरिष्ठ जनस्वास्थ्य प्रशासक सागर प्रसाईंले संक्रामक अस्पतालको रूपमा रूपान्तरण गर्ने निर्णय कार्यान्वयन गर्न विज्ञहरूको समिति गठन भएको बताए । सरकारले नीतिअनुसार अस्पताल सञ्चालन गरिने दावी उनको छ ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ