२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारमेडिकल काउन्सिलद्वारा दुई जना डाक्टर निलम्ब, पाँच जनालाई अन्तिम चेतावनी

मेडिकल काउन्सिलद्वारा दुई जना डाक्टर निलम्ब, पाँच जनालाई अन्तिम चेतावनी


काठमाडौं—नेपाल मेडिकल काउन्सिलले चिकित्सक आचारसंहिता पालनामा कडाइ गर्न थालेको छ । २६ फागुनमा बसेको काउन्सिलको पूर्ण बैठकले आचारसंहिता विपरित काम गरेको भन्दैं दुई जना चिकित्सकलाई निलम्ब गरेको छ भने पाँच जना चिकित्सकलाई अन्तिम चेतावनी दिएको छ ।

काउन्सिलले नेपाल मेडिसिटी अस्पतालका वरिष्ठ ग्यास्ट्रो सर्जन डा. सुनिलकुमार शर्मा र सोही विभागका रजिष्ट्रार डा. राजिव मिश्रलाई एक साता निलम्बन गर्ने निर्णय गरेको छ । डा. शर्मा र डा. मिश्रले २५ जेठ २०७९ मा मृत्यु भएका पोखराका योगेन्द्रबहादुर बस्नेतको उपचार लापरवाही गरेको निष्कर्ष निकाल्दैं दुवैलाई एक साता निलम्बन गर्ने निर्णय गरेको हो । उनीहरु विरुद्ध योगेन्द्रको परिवारले काउन्सिलमा उजुरी गरेको थियो ।

नेपाल मेडिकल कलेज जोरपाटीका शल्यचिकित्सक डा. रामेश्वरप्रसाद पोखरेल, डा. जस्मिना बज्राचार्य र डा. जेमेस सिंह महर्जनलाई सर्जिकल चेकलिष्ट अक्षरस पालना गर्न काउन्सिलले निर्देशन दिएको छ । उनीहरुले एपेन्डिसाइटिस भएका बिरामीको शल्यक्रिया गर्दा प्रयोग गरिएको ‘पेन रोज’ बिरामीकै शरीरमा छाडेपछि बिरामीमा पटक—पटक संक्रमण भएपछि पुनः शल्यक्रिया गर्नुपरेको थियो । त्यसपछि बिरामी पक्ष डाक्टरले शल्यक्रियामा लापरवाही गरेको भन्दैं काउन्सिलमा उजुरी हालेका थिए । उक्त उजुरीमाथि छानविन गर्दा डा. पोखरेल, डा. बज्राचार्य र डा. महर्जनको कमजोरी भेटिएपछि उनीहरुलाई काउन्सिलले अन्तिम चेतावनी दिएको हो ।

यस्तै, काठमाडौं मेडिकल कलेजका चिकित्सक डा. अमित थापालाई गुड क्लिनिक प्रायक्टिस गाइडलाइन पालना गर्न निर्देशन दिने निर्णय काउन्सिलले गरेको छ । उनका विरुद्धमा काठमाडौं मेडिकल कलेजमा उपचारका लागि आएका ४८ वर्षीय शैलेन्द्रराज विद्याधरको उपचार लापरवाही गरेको भनी उजुरी परेको थियो ।

महाराजगन्जस्थित अन्तर्राष्ट्रिय बालमैत्री अस्पतालका संचालकसमेत रहेका डा. शान्तचन्द्र शाक्यलाई पनि काउन्सिलले व्यवसायिक आचरण पालना गर्न अन्तिम चेतावनी दिएको छ । उनलाई चिकित्सकीय आचारसंहिता तथा प्रेस्क्रीप्सन तालिम लिन र त्यसको प्रमाण पेश गर्न निर्देशन दिएको छ । डा. शाक्य विरुद्ध बालबालिकालाई जुनसुकै रोगमा पनि एकै प्रकार औषधि चलाउने गरेको उजुरी काउन्सिलमा परेको थियो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ