२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १मनमोहनमा योग तथा चिकित्सा शिक्षा पढाउने तयारी 

मनमोहनमा योग तथा चिकित्सा शिक्षा पढाउने तयारी 


विराटनगर – मोरङको बुढीगंगा गाउँपालिका ४ मा रहेको  मनमोहन प्राविधिक विश्वविद्यालयले प्राकृतिक योग तथा चिकित्सा शिक्षाको पढाई सुरु गर्ने भएको छ ।

कोशी प्रदेश सरकारले स्थापना गरेको देशकै पहिलो प्राविधिक विश्वविद्यालय मनमोहनले देशमै पहिलो पटक योग तथा प्राकृतिक शिक्षाको पढाई सुरु गराउने तयारी थालेको हो ।

विश्वभरि प्राकृतिक स्वास्थ्यको बढ्दो मागलाई ख्याल गर्दै दक्ष जनशक्ति उत्पादन गरेर रोजगारमा आत्मनिर्भर बनाउन देशमै पहिलो पटक  स्नातक र त्यसपछि मास्टर्स तहमा  योग तथा प्राकृतिक चिकित्साको पढाई सुरु गराउन लागेको मनमोहनका उपकुलपति डा। सुभाष श्री पोखरेलले बताए ।

नेपालमै प्राकृतिक स्वास्थ्य शिक्षाको पढाई सुरु गराउन लागि नेपाल र भारतका विज्ञहरूबाट  धमाधम  पाठ्यक्रम निर्माण भइरहेको उपकुलपति डा सुभाष श्रीले जानकारी दिए । उनका अनुसार  पाठ्यक्रम निर्माणपछि तुरुन्तै अनुमतिप्राप्त गरेर प्राकृतिक स्वास्थ्यबारे पहिले स्नातक र त्यसपछि क्रमशः मास्टर्स तहको कक्षा सञ्चालन गर्ने तयारी भैसकेको छ । ‘प्राकृतिक चिकित्सामा विश्वभर विश्वास बढ्दो रहेको तर सोही अनुसार दक्ष जनशक्तिको चरम अभाव भएकोले देशमै पहिलोपल्ट उच्च शिक्षाको पढाई मनमोहनले सुरु गर्न लागेको हो’, उपकुलपति पोखरेलले भने ।

मनमोहन विश्वविद्यालयका कुलपति तथा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले  मनमोहनले निर्माण गर्न लागेको प्राकृतिक स्वास्थ्य शिक्षा नीति अत्यन्तै समयसापेक्ष रहेकोले आफूले पनि चाँडो पाठ्यक्रम निर्माण गरेर कक्षा सञ्चालन गराउन निर्देशन दिएको बताए ।
कोशी प्रदेशका पूर्व सामाजिक विकास मन्त्री जीवन घिमिरेले आफूहरूले प्रदेशका सबै विद्यालयमा योग शिक्षा लागू गर्न खोजे पनि दक्ष जनशक्त्तिको अभावले गर्दा संभव नभएको बताए । उनका अनुसार उच्च शिक्षा पढेका प्राकृतिक चिकित्साका दक्ष जनशक्ति उत्पादन गर्न सकेमा नेपालमा मात्र नभएर विश्व बजारमा पनि खपत गर्न सकिने दाबी गरे ।

प्राकृतिक स्वास्थ्य विज्ञ डा जनक बस्नेतले दक्ष जनशक्ति नहुँदा नेपालमा खुलेका प्राकृतिक अस्पतालहरूले दक्ष जनशक्तिको चरम अभाव झेल्नु परिरहेको बताए । उनका अनुसार हाल नेपालमा खुलेका नेचुरोप्याथी अस्पतालहरूले भारतबाट चिकित्सक र अन्य जनशक्तिहरू ल्याउन बाध्य  भइरहनु परेको छ ।

अर्कोतिर प्राकृतिक स्वास्थ्य शिक्षा पढ्न चाहनेहरूले भारत जान बाध्य भइरहनुपरेको छ । काठमाण्डौमा प्राकृतिक अस्पताल समेत सञ्चालन गरिरहेका डा बस्नेतका अनुसार  भारतमा ४० भन्दा बढी शिक्षालयमा प्राकृतिक स्वास्थ्यबारे उच्च शिक्षा तहको पढाई भैरहेपनि नेपालमा विश्वविद्यालयमा तहमा अझैसम्म पठनपाठन सुरु हुन सकेको छैन । उनले प्राकृतिक स्वास्थ्य शिक्षाका लागिउत्पादन भएका जनशक्त्तिलाई बजार अभाव नभएको र माग पनि उच्च भएकोले रोजगारको चिन्ता नभएको दाबी गरे । उनले योग तथा प्राकृतिक शिक्षाबारे पाठ्यक्रम निर्माण गर्न लागेकोमा मनमोहनलाई धन्यवाद पनि दिए । उनका अनुसार प्राकृतिक स्वास्थ्य चिकित्साले मानिसहरूलाई बढ्दो मानसिक समस्याबाट जोगाउन र आत्महत्या गर्नुपर्ने बाध्यताबाट जोगाउन पनि सहयोग पुग्ने बताए ।

‘अबको युग नेचुरल युग हो यसैले चाँडै पाठ्यक्रम निर्माण गरेर पढाई सुरु गर्न सके मनमोहन देशकै पहिलो प्राकृतिक चिकित्साको पठनपाठन गराउने पहिलो विश्वविद्यालय हुनेछ,’ उनले भने ।

प्राकृतिक चिकित्सा भित्र योग र उपचार मात्र नभएर विभिन्न ९ वटा दर्शनहरू पर्दछन् । प्राकृतिक चिकित्सा औषधिरहित उपचार गर्ने विकल्प रहित शिक्षा हो । प्राकृतिक स्वास्थ्य शिक्षाका लागि स्नातक तहमा पाँच बर्षे पाठ्यक्रम आवश्यक पर्दछ ।

मोरङको बुढीगंगा गाउँपालिका ४ हात्तीमुढामा केन्द्रीय कार्यालय रहेको मनमोहन प्राविधिक विश्वविद्यालय कोशी प्रदेश सरकारले स्थापना गरेको हो । यो विश्वविद्यालयमा हाल इन्जिनियरिङतर्फ स्नातक तहको शैक्षिक सत्र सुरु भैसकेको छ । यसै गरी पारामेडिकलतर्फ विभिन्न विषयमा स्नातक र स्नातकोत्तरमा पठनपाठन गराउनका लागि पाठ्यक्रम निर्माण भैसकेको छ । साथै  आगामी सत्र देखी फार्मेसीतर्फ भर्ना आवेदन खुलाउने तयारी भैसकेको छ ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ